‘अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्नु सरकारको दायित्व हो’

काठमाडौं । परराष्ट्रविद्द्वय राजन भट्टराई र निश्चलनाथ पाण्डेले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षा गर्नु नेपाल सरकारको तायित्व भएको बताएका छन् ।  नेपाली नागरिक कसरी अफगानिस्तान पुगे ? भन्ने सवाललाई अहिले नकोट्याइकन उनीहरुको सुरक्षामा जुट्नुपर्ने परराष्ट्रविद्द्वय भट्टराई–पाण्डेको भनाइ छ । ‘कोही तेश्रो देशको बाटो हुँदै अफगानिस्तान पुग्नुभएको छ,’ परराष्ट्रविद् भट्टराईले भने, ‘कोही सरकारले जानु हुँदैन भन्दाभन्दै पनि लुकीछिपी त्यहाँ पुग्नुभएको छ । तर, अहिले उहाँहरु कसरी त्यहाँ पुग्नुभयो भनेर विवाद गर्नेबेला होइन, अहिले सुरक्षामा जुट्नुपर्छ ।’

अफगानिस्तानमा नेपाली नागरिकहरु खासगरी विदेशी राजदूतावासको सुरक्षामा खट्ने गरेको परराष्ट्रविद् पाण्डे बताउँछन् । सरकारसँग अफगानिस्तानमा रहेका नेपाली नागरिकको तथ्यांक नै नभएको उल्लेख गर्दै परराष्ट्रविद् पाण्डेले भने, ‘कसैले २० हजार भन्छन्, कसैले २५ हजार भन्छन् । कति छन् सरकारसँग यसको तथ्यांक नै छैन । जत्ति भएपनि अहिले भनेको सुरक्षा दिने कुरा नै प्रधान हो ।’

अफगानिस्तानका ३४ प्रान्तमध्ये तालिबान समूहले २८ प्रान्तमा कब्जा जमाइसकेको छ भने राजधानी काबुलमा समेत लडाकू छिरिसकेका छन् । तालिबान समूहको दबादबा भएपछि त्यहाँको सुरक्षा स्थिति खल्बलिएको छ । यसपछि त्यहाँका राष्ट्रपति असरफ घानीले नेटोसहितका अमेरिकी प्रतिनिधिसँग छलफल थालेका छन् ।

यसैबीच अफगानिस्तानी आन्तरिक मामिलामन्त्री अब्दुल सतार मिर्जाकवालले शक्ति हस्तान्तरण शान्तिपूर्वक हुने बताएका छन् भने कुनै अप्रिय घटना नघट्ने भन्दै जनतालाई सकारात्मक आश्वासन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *