कोरोनाको अति पीडाबाट उम्कँदै गर्दा…

अनुभव आदानप्रदान अरुका लागि पनि उपयोगी हुन सक्छ भनेर यो अनुभूति लेख्दैछु । साथीहरूको अनुभव सुनेर त्यसलाई अनुशरण गर्दा मैले  पनि धेरै सहज महसुस गरेको थिएँ ।

श्रावण २१ गते बिहीबारको दिन । कार्यालयको कामको निकै नै प्रेसर थियो । दिनभरको काम गराइले कार्यालय समयको अन्तिम क्षणसम्ममा थकानसँगै टाउको दुख्ने अनि आँखा रात रात भइसकेका थिए । हल्का सुख्खा खोकी पनि लागिरहेको थियो । राति ज्वरो आएमा शुक्रबार कार्यालय आउन नसक्ने जानकारी गराएर घर फर्किएँ ।

रातभर टाउको दुख्यो, ज्वरो पनि आयो तर‚ शुक्रबार बिहान ज्वरोचाहिँ ओर्लियो तर टाउको दुख्न भने छाडेन । शुक्रबार दिनभर घरमै आराम गरेर बसियो । राति फेरि ज्वरो आयो तर‚ बिहान उठ्दा ज्वरो थिएन । टाउको दुख्ने पनि अलिक कम भएको थियो । आइतबारदेखि फेरि अफिस जाने सोच्दै दिनभर आराम गरेर बसियो । शनिबार भएकाले नुवाउने अनि सरसफाइ गर्ने कार्यमा व्यस्त भइयो । तर‚ साँझदेखि फेरि टाउको दुखाइ बढ्यो, सुख्खा खोकीले च्याप्न थाल्यो र‚ राति ज्वरो आयो । कार्यालयबाट पनि पीसीआर नगरी कार्यालय नआउन सुझाव आयो ।

आइतबार त्रिवि शिक्षण अस्पताल गएर पीसीआर परीक्षणका लागि स्वाब दिएर कोठा फर्किएँ ।

दिउँसो तीन बजेतिर रिपोर्ट पोजिटिभ आयो । कार्यालयमा रिपोर्ट पोजिटिभ आएको जानकारी गराएर घरमा एउटा कोठालाई आइसोलेट गरियो र एकान्तबास शुरु भयो ।

यसअघि नै कोरोनालाई पराजित गरिसकेका साथीहरूको सल्लाह लिएर केहि औषधि सोमबारबाट खान शुरु गरेँ । ज्वरो आउने, घट्ने क्रम रोकिएको थिएन । टाउको दुख्नु, सुख्खा खोकी लाग्नु, ज्वरो आउँदै घट्दै, फेरि आउँदै गर्नु नै मुख्य लक्षण थिए । मैले वैशाख र जेठमा कोरोनाविरुद्ध दुवै डोज खोप लगाइसकेको थिएँ । त्यसैले सामान्य रुपमा कोरोना परास्त हुने पूर्ण आत्मविश्वास थियो तर‚ विडम्बना त्यस्तो भएन, अत्यन्त पीडादायी अवस्था पार गरेर फर्कनु परेको छ ।

अत्यन्त पीडादायी क्षण
मलाई करिब एक हप्ताको समय अत्यन्तै पीडादायी रह्यो । धुलोको एलर्जीका कारण मलाई सामान्य सुख्खा खोकी पहिलेदेखि नै थियो । यहि कमजोर पक्षलाई कोरोनाले पनि समात्यो र सुख्खा खोकीका कारण बोल्न र सुत्न नसकिने अवस्था आयो । बोल्यो कि खोकी लागिहाल्ने, खोक्न थालेपछि हुरुक्कै हुनुपर्ने अवस्था आयो ।

सिधा उभिने र सिधा बस्ने बाहेकका कुनै पनि पोजिसनमा खोकीले छाडेन । पाँच रात नसुती सिधा बसेर बिताउनुपर्‍यो । दिउँसो उभिएर झ्यालबाट बाहिर हेर्दै दिन कटाउनुपर्‍यो । ढल्किएमा, सुतेमा, कोल्टे सुत्दा, घोप्टो सुत्दा, माथि फर्किएर सुत्दा कसै गरे पनि एकोहोरो खोकी नरोकिएपछि उभिएर वा सिधा बसेर दिन रात काट्नुपर्‍यो ।

घाँटीमा कसले आएर अँठ्याइरहेछ जस्तो पीडा हुन्थ्यो । खोक्दा खोक्दै शरीर पसिनाले भिज्थ्यो । खोकीका कारण शरीरका हरेक भाग छुनै नहुने गरी दुख्न थाले । सबैभन्दा बढी पीडा घाँटीमा र छातीमा भयो । समग्रमा आफूलाई सबैभन्दा पीडा महसुस पनि यतिबेला नै भएको थियो ।

 बुबा-आमा पनि संक्रमित
रिपोर्ट पोजिटिभ आएको पाँचौं दिनमा मेरो साथमा रहनुहुने बुबा र आमालाई सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो ।

उहाँहरूलाई पनि एउटा कोठमा आइसोलेट गरियो । आमालाई ज्वरो आउने घट्ने भइरहने बाहेक अरु लक्षण देखिएको छैन भने बुबालाई सामान्य खोकीबाहेक कुनै अरु लक्षण देखिएको छैन । सामान्य अवस्थामा आइसोलेसनमा हुनुहुन्छ । अब घरमा बाँकी श्रीमती र नाबालक छोराछोरीलाई सकेसम्म टाढा बस्नेगरी आवश्यक प्रबन्ध मिलाइयो ।

श्रीमती एक जना मात्रलाई कोरोनाको लक्षण नदेखिएकाले परिवारमा सम्पूर्ण भान्साको व्यवस्थापनमा एकल जिम्मेवारी थपियो । आफू, छोरोछोरीलाई खुवाउनेदेखि लिएर बिरामीहरूलाई समय समयमा खान दिनेलगायतको जिम्मेवारी एक जनाले गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।

आफन्त र साथीसङ्गीको हौसला
परिवारको साथ, सहयोग, हौसला, प्रेरणा त छँदैछ । सामाजिक सञ्जालमा एकान्तबास बसेको फेसबुक स्टाटस राखेपछि धेरै नै आफन्त र साथीभाइहरूले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सुझाव, सल्लाह र हौसला दिनुभयो । सात सयभन्दा बढी कमेन्ट स्टाटसमा आए भने मेसेन्जरमा धेरैभन्दा धेरै सुझाव सल्लाह प्राप्त भए । साथीहरूको अनुभव र हौसलाबाट छिटो निको हुन निकै मद्दत मिलेको छ । प्रत्यक्ष/अप्रत्यक्ष रुपमा साथीहरूकै सहयोगले उपचारको क्रममा पनि सहजता महसुस भएको थियो । साथीभाइका सल्लाहले पनि मनोवैज्ञानिक रुपमा ठुलो हौसलाको काम पनि गरे ।

डाक्टरको सल्लाह र उपचार विधि
डाक्टरको सल्लाह लिएर करिब १० दिनका लागि नियमित औषधि सेवन शुरु गरियो । ज्वरो बढ्नासाथ सिटामोल खाने, खोकी बढ्नासाथ तातोपानी खाने, बाफ लिने, सुख्खा खोकीको औषधि खाने दैनिकी बन्यो । एक हप्तासम्म बिहान हुने बित्तिकै तातो पानी खाने, वाफ लिने कार्यले केहि हलुको बनाउँथ्यो । त्यसपछि दिनभर झोल खानेकुराहरू खाने अनि खाटमा बस्ने या उभिने दुई विकल्प हुन्थे । सुत्ने सम्भावना थिएन । खाने बेलामा खाने, त्यसपछि बस्ने गर्दै दिन-रात बिताइयो ।

यो अवधिमा ज्वरो बढ्न नदिन नियमित रुपमा सिटामोल खानुका साथै धेरै भिटामिन औषधिहरू सेवन गरियो । भिटामिन सी, डी, ईलगायत औषधि सेवन गरियो । अत्यधिक सुख्खा खोकीले सुत्न नहुने अवस्था र छाती छियाछिया पारेको महसुस भएपछि छातीमा असर गरेको हुनसक्ने आशंकाले शुक्रबार फलोअप चेकअपका लागि पुनः त्रिवि शिक्षण अस्पताल कोभिड वार्ड इमरजेन्सीमा गइयो । छातीको एक्सरे र रगत परीक्षण गरेर फर्किएपछि डाक्टरले केहि औषधि थप गरिदिनुभयो । एक्सरे र रगतको रिपोर्ट नर्मल आएपछि बल्ल निको हुने आशा बढेर गयो । नियमित सम्पर्कमा रहनुहुने डाक्टरलाई सबै रिपोर्टहरू ह्वाट्सएपमा पठाएर सल्लाह लिने गरेको छु । अहिले दिउँसो ढल्किएर युट्यबमा विभिन्न सन्देशमुलक भिडियोहरू हेर्न सक्ने भएको छु ।

रोग लाग्नै नदिने प्रयास गरौँ
अहिले पनि पूर्ण सञ्चो भइसकेको अवस्था छैन । तर सुख्खा खोकी कम हुँदै जाँदा राति सुत्न भएको छ । निद्राको कारण थकित शरीर अलिक फुर्तिलो भएको छ । यति लेख्न पनि उठेर र अडिएर सकेको छु । खाना खान रुचि बढेको छ । अक्सिजनको लेभल बढेको छ । अरुलाई देखिएका जस्ता केहि लक्षणहरु मलाई भने देखिएनन् । जस्तो जिब्रोमा स्वाद हराउने, नाकमा गन्ध हराउने जीउ दुख्नेजस्ता लक्षणहरु भने अहिलेसम्म देखिएका छैनन् ।

मलाई कोरोनाको मुख्य असर नै सुख्खा खोकी र श्वासप्रश्वास प्रक्रियामा नै भयो । कमजोर अवस्थाका बावजुद पनि आइसोलेसनबाटै यो अनुभव लेख्दैछु । सबैलाई कोरोना महामारीबाट बचौँ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अधिक अवलम्बन गरौँ भन्न चाहन्छु । हेर्दा सामान्य लाग्ने लक्षण देखिए पनि कोरोनाभित्र असर गम्भीर हुने रहेछ । विशेषगरी श्वास प्रश्वासमा समस्या सिर्जना गर्ने हुँदा मानवीय जीवनलाई जोखिमयुक्त बनाउने रोग रहेछ भन्ने मैले बुझेँ । आज मेरो शरीरमा कोरोनाको लक्षण देखिएको १२ दिन र रिपोर्ट पोजिटिभ आएको नौ दिन भएको छ । अब एक हप्ताभित्र म ठिक हुन्छु भन्ने आत्मविश्वास मलाई बढेर आएको छ ।

कोरोनाले जीवनशैली नै बदलिदिएको छ । फर्किएर गर्नुपर्ने थुप्रै काम र जिम्मेवारीहरू छन् तर‚ त्योभन्दा पहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक हुनु छ । हामीले बुझ्नैपर्ने कुरा यहि नै रहेछ: स्वास्थ्य नै जीवन हो, स्वास्थ्य नै धन हो । त्यसैले सबैले आफ्नो स्वास्थ्यको ख्याल गरौँ ।

(होम आइसोलेसन, मच्छेगाउँ, कीर्तिपुरबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *