बागमती प्रदेश प्रमुखमा ‘नेपाल कोटा’बाट शर्मा सिफारिस

काठमाडौं । बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरिएको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सिफारिस गरेको एक मन्त्रीले मकालुखबरलाई जानकारी दिए । शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिवसमेत हुन् । शर्माले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गरेका थिए । त्यस्तै, वामदेव गौतम र मदन भण्डारीको सचिवालयसमेत काम गरेका थिए ।

बागमती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । अहिले प्रदेश प्रमुखमा विष्णु प्रसाईं रहेका छन् ।  प्रसाईंलाई सरकारले फिर्ता बोलाएर शर्मालाई पठाउने निर्णय गरेको हो । यसअघि बुधबार (हिजो) मात्रै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ताको निवेदन दर्ता गराउनुअघि ओलीको कट्टर आलोचककी रुपमा चिनिएकी शाक्य अन्ततः ओलीकै कोटाबाट मुख्यमन्त्री बनिन् । यसपछि नेपाल कोटाबाट प्रदेश प्रमुखमा शर्मा आउने भएका हुन् ।

सरकारले यसअघि लुम्बिनी, गण्डकी र प्रदेश नं. २ मा पनि प्रदेश प्रमुखको हेरफेर गरेको थियो । राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले औपचारिक रुपमा प्रदेश प्रमुखको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *