एमालेका ९ नेताकाे विज्ञप्ति

‘हामी एकताकाे उपाय खाेज्दैछाैँ, १० बुँदे सहमति कार्यान्वयन हाेस्’

काठमाडौं । नेकपा एमालेका ९ जना नेताले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । माधवकुमार नेपालको साथ छोडेका एमालेका ती नेताले संयुक्त विज्ञप्तिमार्फत पार्टीको विवाद समाधानका लागि बनाइएको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन नुहँदा पार्टी फुटेको बताएका हुन् ।

विज्ञप्ति जारी गर्नेहरूमा यसअघि नेपाललाई साथ दिएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । ‘कार्यदलले सिफारिस गरेको सहमति एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरूले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ ।

अहिले आफूहरू विभाजित पार्टी एकताका लागि प्रयास गरिरहेको बताएका उनीहरूले माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर १० बुँदे सहमति कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् । ‘अध्यादेश पछि विभाजित पार्टीको एकताका लागि हामी सम्भव सबै उपायको खोजी र अवलम्बनमा क्रियाशील छौँ । पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही लगायत सबै प्रकारका कारबाही रद्द गर्न हामी हार्दिक आग्रह गर्दछौँ ।’

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *