एमाले ओलीको मात्रै होइन, आफैँले बनाएको घर भत्काएर अन्त जान सकिनँ : श्रीमाया [अन्तर्वार्ता]

२४ वर्षअघि २०५४ सालमा एमाले विभाजन भएर दुई पार्टी बन्दा देशभरि छुट्टाछुट्टै कमिटी बने । एकले अर्कालाई सिध्याउने राजनीति हुन थाल्यो । त्यसको नराम्रो नतिजा चुनावको पराजयले दियो पनि । देशभर छुट्टाछुट्टै पार्टी बन्दा मुस्ताङमात्रै एउटा जिल्ला उदाहरण बन्यो, जहाँ एमाले विभाजन नै भएन । त्यसको प्रमुख श्रेय जान्छ, हालकी केन्द्रीय सदस्य तथा अग्रज नेतृ श्रीमाया थकालीलाई । उनी तत्कालीन समयमा एमालेकी जिल्ला सचिव थिइन् ।

पछि पार्टी एकीकृत भयो । एमालेले खासखास समयमा विजय पनि हासिल गर्‍यो । थकाली सुरुदेखि नै माधवकुमार नेपाल समूहमा लागिन् ।

उनकै विचारबाट निर्देशित भएर राजनीति निरन्तर गरिरहिन् । एमालेभित्र पुनः अन्तरद्वन्द्व भयो । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अन्तरसंघर्ष नै चल्यो ।

नेपाल पक्षले समानान्तर कमिटी गठन गर्नेदेखि आफ्नै पार्टीको सरकार ढालेर विपक्षीलाई सत्ता हस्तान्तरणसम्म सहयोग गर्‍यो । हुँदाहुँदै अहिले पार्टी औपचारिक रुपमा विभाजन भइसकेको छ । ९५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै नेपालको नेतृत्वमा नयाँ पार्टी बनेको छ । यद्यपि पार्टीको आन्तरिक कागजी प्रक्रिया बाँकी नै छ । सरकार ढाल्ने बेलासम्म नेपालकै समूहमा लागेकी थकाली विभाजनमा भने नेपाल समूहबाट बाहिरिइन् । गण्डकीमा श्रीमायाको प्रभाव निकै राम्रो छ । उनै थकालीसँग मकालुखबरका गण्डकी प्रदेश प्रतिनिधि प्रकाश ढकालले गरेको कुराकानीः

तपाईं धेरै वर्ष माधव नेपाल समूहमा रहेर राजनीति गर्नुभयो तर‚ उहाँलाई आवश्यक परेको अन्तिम र निर्णायक घडीमा किन समूह छोड्नुभयो ?

त्यस्तो होइन, हामी हिजो पनि माधव समूहकै हो । अहिले पनि त्यहि विचार बोकेर हिडेका छौँ । तर हामी पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा छौँ । केपी कमरेडको अहमता र दम्भले नै पार्टी यो अवस्थामा आइपुगेको छ । दुई तिहाई बहुमतको सरकार बनाएर नेपाली जनताले जुन विश्वास गरेका थिए‚ त्यो केपीकै कारण पूरा हुन सकेन । पार्टीको आन्तरिक किचलोलाई व्यवस्थापन गर्न सकेको भए जनताले त कम्युनिस्ट पार्टीलाई खुब विश्वास गरेकै थिए । तर अभागीलाई खानेबेलामा रीस उठ्छ भनेजस्तो भयो ।

यो पार्टीलाई बल्लबल्ल हामीले ७२ वर्षसम्मको दौरानमा दुई तिहाई नजिक पुर्‍यायौँ । केही गर्छ भने यही पार्टीले गर्छ भन्ने विश्वास थियो । अब त्यसको मात केपीलाई लाग्यो, भन्नुपर्छ । हामी हिजैदेखि माधव नेपालको विचारसँग नजिक हुँदै आठौँ महाधिवेशनदेखि उनकै पक्षमा लाग्यौँ । पार्टीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्छ भनेर लड्यौँ । प्यानलमै रह्यौँ । अहिले पनि माधव समूहको विचारबाट अलग भएको होइन ।

नयाँ पार्टीमा तपाईं देखिनुभएन । किन फरक मत राख्नुभयो त ?

एमाले, हामीले बनाएको घर हो । केपीले मात्रै बनाएको होइन नि । हामी सबैको रगत पसिना त्यसमा छ । देशभरिका नेता कार्यकर्ताले बनाएका हुन् । अनि एउटा व्यक्तिको कारणले, एउटा व्यक्तिको अकर्मण्यताका कारणले आफ्नो घरै छाडेर नयाँ घर बनाउन जाने भन्ने कुरा सम्भव छैन । हिजो पार्टी विभाजनको तीतोपना पनि चाखिसकेका छौँ । विभाजन नभएको भए शायद माओवादीको जनयुद्ध उब्जिने पनि थिएन ।

त्यतिबेलाको सरकारले माओवादीको कुरा पनि सुनेको भए द्वन्द्व व्यहोर्नुपर्ने थिएन । हामीले व्यहोरिसकेका छौँ नि ! फुटको राजनीतिले कसैलाई फाइदा गर्दैन‚ कम्युनिष्ट शक्तिलाई कमजोरमात्रै पार्छ । त्यो मान्यताले घरभित्रै संघर्ष गर्नुपर्छ भन्ने पक्षमा लागेँ ।

बीचमा केपी ओलीको षड्यन्त्र त व्यहोरिहालेका छौँ । उहाँलाई जुनबेला अप्ठ्यारो पर्छ‚ त्यहि बेला वार्ताको कुरा गर्ने र पार लगाएपछि ठूलो कुरा सुरु गर्ने । अनेक किसिमका तिकडममा फस्यौँ । यसले दीर्घकालीन फाइदा कसैलाई गर्दैन । क्षणिक लाभ त होला नि ! खै र एउटा व्यक्तिको कारण घर भत्किन दिनुहुँदैन । आज केपी ओली नेतृत्वमा छन्, सधैँ उनी नेतृत्वमा त हुँदैनन् नि ! महाधिवेसनसम्म जाने कुरा न हो । केपी समूहले सबैलाई मिलाएर लगेको भए सजिलो थियो ।

तपाईँ ओलीतिर पनि खुल्नुभएको छैन । तपाईंको भुमिका पार्टीमा के हुन्छ त ?
पार्टी मिलाउन कार्यदलसमेत बन्यो, माधव पक्षबाट पनि उहाँहरू जानुभयो । बीचमा सल्लाहबाटै एउटा निष्कर्ष निस्कियो । १० बुँदे सहमतिमा टेकेर अक्षरंश पालना गर्न केपी ओलीलाई दबाब दिनुपर्थ्यो । उनले पालना गरेनन् भने भोलिका दिनमा पनि हामीसमेत निस्किनुपर्छ । यदि इमान्दारिताका साथ लागू गर्छन् भने बाहिर गएका साथीहरू पनि भित्रिन सक्छन् । पार्टी एकताका लागि पुलको काम गर्न उता लागिनँ ।

पार्टी मिल्ने स्थिति नै भएन भने पनि ओली समूहमै रहिरहनुहुन्छ?
त्यो भोलिको व्यवहारमा देखिने कुरा हो । एमाले सही विचार र नीतिबाट चल्यो भने किन जानुपर्‍यो ? हिजोजस्तै निरंकुशता देखाए भने को बसिरहन्छ र ? अहिले त हेर्नुपर्‍यो ।

तपाईँलाई ओली सुध्रिन्छन् भन्ने कत्तिको विश्वास छ ?
ओलीप्रति अहिलेसम्मको व्यवहारले विश्वास हुन सकेको छैन । त्योभित्र ओलीमात्रै छैनन् । दोस्रो र तेस्रो तहका नेताहरू पनि छन् । उनीहरूले कसरी रोल खेल्न सक्छन् र हस्तक्षेप गर्न सक्छन् कि सक्दैनन् त्यसमै भर पर्छ । हामी त भोगेर आएका छौँ नि । गण्डकीमा गएको निर्वाचनमा एकजनाले मात्रै टिकट पाउनुभयो । आठौँ महाधिवेशनदेखि केन्द्रीय सदस्य भएर आएँ । वैकल्पिक पोलिटब्यूरो सदस्य पनि बनेँ । धवलागिरी इन्चार्ज हुँदा मैले बनाएका उपाध्यक्ष र सचिवहरू अहिले हामीभन्दा सिनियर छन् । जिम्मेवारी दिने सवालमा पनि मुस्ताङमा पनि ओली समूहको केन्द्रीय नेता अर्को कोही थियो भने श्रीमाया थकालीलाई जिल्लाको जिम्मेवारी दिँदैनथे ।

कोही नपाएर मलाई दिएका हुन् । यतिसम्म तल झरेर जुन गुटगत राजनीति अघि बढाउनुभयो त्यो क्षम्य गर्न लायक छँदै छैन । पार्टी भनेर बस्ने अवस्था छैन । दुर्गम र शैक्षिक चेतना नभएको ठाउँमा यो पार्टीलाई जन्माएर हुर्कायौँ । त्यसको मायाले मात्रै विभाजनमा साथ दिन नसकेको हो ।

दोश्रो र तेश्रो पुस्तासँग तपाईँको आशा छ, त्यहाँ सम्भावनाचाहिँ छ र ?
उहाँहरू बाहिर एउटा र ओलीको छेउमा अर्को बोल्ने भएकै कारण यस्तो परिस्थिति बनेको हो । भोलिको दिनमा हेरौँ । जनताको लागि राजनीति गर्ने हो भने त्योबाट मुक्त हुनैपर्छ । होइन भने पार्टीको भविष्य सकिन्छ नि । धेरै नकारात्मक मात्रै नसोचौँ ।

हिमाली क्षेत्रमा कम्युनिस्ट पार्टीको संगठन नै थिएन । हिजोको विभाजनमा पनि मुस्ताङमा पार्टी फुटेन, अब के हुन्छ ?
पहिले पनि पार्टी विभाजन भएको थिएन । देशभरिमै म एउटा महिला सचिव हुँ । त्यो बेलामा पनि पार्टी फुट्न दिनुहुँदैन भनेर दिएनौँ । अहिले पनि त्यो सम्भावना देखेको छैन । केहि साथीहरू मेरै आश गरेर बस्नुभएको छ । यस्तो जिल्लामा राजनीति गर्न साम, दाम दण्ड भेद अनेक प्रपञ्च चाहिन्छ । अनेक क्रियाकलापले प्रभाव पार्छ । खास-खास समयमा हामीले चुनाव जितेका छौँ, अरु समय कांग्रेसले जितेको छ । थोरै नेता छौँ, जनसंख्या नै थोरै छ । यस्तो ठाउँमा पार्टी विभाजन भयो भने त अरुले नै जित्छन् नि । पार्टी एक ढिक्का हुनुको विकल्प छैन ।

पार्टी विभाजन ठिक थिएन भन्ने हो भने समानान्तर कमिटी गठन गर्न तपाईँ किन लाग्नुभयो ?

म पनि त्यतिबेला लागेँ । गल्ती भएछ भन्ने लाग्यो । थुप्रै जिल्लाका कार्यकर्ताले जिम्मेवारी पाउनुभएको थिएन । उहाँहरूलाई उत्साह छ ।

समानान्तर कमिटी बनाएर पार्टीभित्रै संघर्ष गर्नुपर्छ भनेर लागेपछि उत्साहको रुपमा हेरियो । स्वतःस्फुर्त ढंगले उहाँहरू लाग्नुभएको थियो ।

क्षमता भएका तर अवसर नपाएकाहरू त्यतातिर लाग्नुभयो । मुस्ताङमा चाहिँ मैले फुटाउन मानिनँ । मान्छेमात्रै उभ्याएर भएन, त्यसले लिने नीति, त्यसको गति कहाँसम्म जाने हो ? मैले माधव कमरेडसँग प्रश्न गरिरहेँ । ११ जिल्लामध्ये गण्डकीका मनाङ र मुस्ताङको परिवेश अरुभन्दा फरक छ । नबनाएको भए त हुन्थ्यो । ३७ जना केन्द्रीय सदस्यहरूबीचमै छौँ । कि माधव नेपालसहितको एकता गर्नुपर्थ्यो, कि एकता नै सम्भव थिएन भने समूहमा आजसम्म भएका सबैजना एकठाउँमा बसेर निस्किनुपर्थ्यो । त्यसले धक्का दिन्थ्यो । आज निकै खल्लो लागिरहेको छ ।

पार्टी विभाजन गर्ने निर्णय गर्दा माधव नेपालले तपाईंहरूसँग छलफल गरेनन् ?
अहँ गर्दै गरेनन् । म अलि बिरामी पनि थिएँ । पछिल्लो समय यतिधेरै छलफल हुन पाएन । जेठ अन्तिम साता भर्चुअल बैठक थियो । त्यसपछि कुरा भएको छैन । सांसदहरूमात्रै बसेर भएन भन्यौँ, संसद पुनःस्थापनाको एउटा एजेन्डा हो, सांसदको अर्को कुरा छ । कार्यदलका साथीहरूको एउटा छ, माधव कमरेडको एउटा छ, बाहिर बस्नेको अर्को छ । यी सबै समूहलाई एक ठाउँमा राखेर छलफल गर्नुपर्ने हो । एकअर्कामा अविश्वास भयो भने हाम्रै शक्ति स्खलित हुँदै गयो । नेता कमरेडहरूलाई राम्रो भएन पनि भनेको थिएँ । व्यक्तिको चाहनाले मात्रै नहुने रहेछ ।

एमालेभित्रै रहेर उत्साहका साथ अब काम गर्न सक्नुहुन्छ त ? कति सक्रिय हुनुहुन्छ ?
हामी राजनीतिक प्राणी भइसक्यौँ । आजको दिनसम्म पनि सक्रिय रुपमै राजनीति गरिरह्यौँ । अब यत्तिकै त कसरी बस्न सकिन्छ र ? तर हामी पर्ख र हेरकै अवस्थामा छौँ । पार्टीले कस्तो व्यवहार गर्छ ? कसरी जिम्मेवारी दिन्छ ? हामीले काम गर्ने वातावरण बन्छ कि बन्दैन ? हामीले हाम्रो घर भनेर माया गरेर बस्ने, घरले हामीलाई माया गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ । क्षमता र योग्यताअनुसार जिम्मेवारी दिन्छ कि दिँदैन, हरेर निर्णय लिन्छु । त्यसपछि मात्रै पार्टी जीवनलाई अघि बढाउँछु ।

म त ३८ सालदेखि नै ९ कक्षा पढ्दादेखि अहिलेसम्म आबद्ध छु । समय त धेरै गइसक्यो । उर्वरा समय यहि पार्टीमा सकियो । त्यतिबेला हामीले बुझेको कम्युनिस्ट पार्टी र अहिलेको अवस्था हेर्दा कहालिलाग्दो छ । न परिवारले राजनीति गरेको, न समाजले सहयोग गरेको । तलबाट धकेल्ने मान्छे पनि थिएन, माथिबाट तान्ने मान्छे पनि थिएन । त्यस्तो अवस्थाबाट राजनीति गरेको हो । त्यो विचारमा अडिग छु । अहिलेको तिकडमको राजनीति, डनवादको राजनीतिले फोहोरी नै रहेछ भन्ने महसुस भएको छ ।

त्यसो भए अब पार्टी विभाजनतिर लाग्नु भएन होईन त ?
हजुर, विभाजनमा नलाग्ने भनेर नै त्यता लागिनँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *