(कविता) बा !
भन्नुहुन्थ्यो, ‘समय बलवान् छ बाबू !’
त्यस समय बाल मस्तिष्क नै भएर हो‚ या दार्शनिक कुरामा चासो नलाग्ने भएर हो,
म ती कुरा खासै बुझ्दिनथेँ ।
बा ! आज म बुझ्ने भएँ तर‚ बुझाउने हजुर रहनुभएन ।
हजुरले भनेझैँ समय साँच्चिकै बलवान् रहेछ बा !
म सानो छँदा‚ मलाई सुताएर लिटो खुवाउने हजुरका हात थिए,
आज हजुरलाई तुलसी मठ छेउ सुताएर पानी यी हातले खुवाइरहेछन् ।
हामीलाई सुखको विस्तारामा सुताउन संघर्ष गर्दागर्दै
आज आफैँ चिताको बिस्तारामा लड्नु भो ।
बा ! जीवनको बोझ यति कठिन थियो र ?
कहिल्यै नउठ्ने गरी यसरी सुत्नुभो ?
आज खोलाछेउ, हजुरलाई जलाइरहँदा
चिताछेउ उभिएका हजुरका परिवारका सपना
हजुरसँगै जलिरहेछन् बा !
आमासँग सातफेरा लिइरहँदा,
सात जुनीसम्म साथ दिन्छु भनी खाएका ती कसमहरू
सँगै जलिरहेछन् बा !
जिम्मेवारीको बोझ यतिसम्म भारी थियो त बा ?
अनि आत्था पनि भन्न नसकेरै खरानी हुनुभो ।
आज मसँगै ममात्रै हैन,
हजुरले समाएर हिँड्न सिकाएका,
यी हातहरू समेत टुहुरा भएका छन् ।
म सम्झन्छु, दसैँमा टीका लगाएपछि खुट्टा ढोग्न म झर्को मान्थेँ,
आज लाचार छु, भनिदिनुस् न बा !
यो शिर कहाँ लगेर झुकाउँदा हजुरले मेरो शिरमाथी हात राखेर आशीर्वाद दिनुहुन्छ ?
मिल्छ भने नि बा !
त्यो भित्ताको तस्बिरमा सीमित रहेर होइन, मेरो पुकार सुनेर प्रकट भइदिनू र
मलाई अन्तिम पटक फेरि तपाईँको बुई चढेर सारा संसार घुम्न मन छ ।
बाकै रूपमा एक पटक एक टक प्रकट भइदिनू ।
बा ! मिल्छ भने !
धेरैधेरै धन्यवाद मकालु खबर परिवार प्रती ❤️🙏
भावविह्वल बनाउने खालको उत्तरदायी सन्ततिचेतना ।
Loved it.