नयाँ समूहलाई एमालेमै राख्ने प्रयास, स्थायी कमिटी बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनपछि बनेको तीन उपाध्यक्षसहितको नयाँ समूहलाई एमालेमै राख्ने प्रयासस्वरूप उनीहरुको माग सम्बोधन गर्न १० बुँदे सहमतिको प्रस्तावना कार्यान्वयनको ‘टाइमलाइन्’ सहित मोडालिटी बन्ने भएको छ । यसका लागि स्थायी कमिटी बैठक चाँडै बस्ने नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘उहाँहरुको मागको सम्बोधन गर्न स्थायी कमिटी बैठक बस्ने भएको हो,’ नेम्वाङ्गले भने, ‘आज वा भोलिभित्र बैठक बस्छ ।’

१० बुँदे सहमतिको प्रस्तावना अक्षरसः पालना हुनुपर्ने र एमाले एकता हुनैपर्ने मनस्थितिका साथ निर्णायक वार्ता गर्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका नेताहरुसहित बैठक बस्न लागेको हो ।

बैठकले नेपाललाई दल दर्ताको प्रक्रिया रोक्न आह्वान गर्नेछ । ‘बैठकले सायद उहाँलाई दल दर्ताको प्रक्रिया रोक्न आह्वान गर्छ,’ ज्ञवालीले भने, ‘त्यसपछि पनि उहाँ रोकिनुहुन्छ भन्ने त लाग्दैन । तै पनि त्यो बैठकले गर्नेछ ।’

‘माधव कमरेड फर्किनुहुन्न’

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली अब माधवकुमार नेपाल भने पार्टीमा नफर्किने बताउँछन् । ‘उहाँ (नेपाल) चाहिँ अब फर्किनुहुन्न भन्ने नै लाग्छ,’ बैठकपछि ज्ञवालीले भने, ‘उहाँ एक हिसाबले हिँडिसक्नुभएको छ । उहाँ फर्किनुहुन्छ भन्ने छैन । फर्किनुभयो भने त राम्रै नै हुन्थ्यो ।’

नेपाल नफर्किएपनि अन्य नेताहरु आउने सम्भावना उच्च रहेको ज्ञवालीको विश्लेषण छ । ‘उहाँबाहेकका साथीहरु भने यतै रहन सक्नुहुन्छ,’ ज्ञवालीले भने, ‘आज यहाँ आउनुभएका कमरेडहरुले पनि समझदार कुरा गर्नुभएको छ । उहाँहरुले सम्भव भएसम्म पार्टी मिलाउने कुरा नै गर्नुभएको छ । नभए पनि उहाँहरु एमालेमै रहनेगरी कुरा अगाडि बढ्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *