त्रासका बीच मनाइयो गाईजात्रा (तस्बिरहरू)

काठमाडौँ । कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरू मास्क लगाएर सहभागी भएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना जोखिमका बीच राजधानीवासी भौतिक दूरी कायम गर्दै गाईजात्रा निकालेर शहरबजार घुमाउँदै हिँडेको देखिन्छ । भिड एकत्रित हुन नदिन प्रहरी पनि बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परिवारबाट पनि तीनदेखि चार जनासम्म सदस्यमात्र शहरमा निस्केको देखिन्छ ।

नेवार समुदायको बाक्लो बस्ती रहेको असन, इन्द्रचोक, क्षेत्रपाटीजस्ता क्षेत्रमा जात्रा लिएर हिँड्नेको सङ्ख्या बाक्लो छ । सङ्ख्या बाक्लो भए पनि समूहमा धेरैमा १० देखि १५ जनासम्म मात्र सहभागी भएका छन् । गतवर्ष कोरोनाकै कारण आफन्त गुमाएका राजेन्द्र श्रेष्ठ सबैको स्वास्थ्य सुरक्षाका लागि गाईजात्रामा सचेतता अपनाइएको बताउछन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ । राजधानीका तीन जिल्लामा पनि फरकफरक तरिकाले यो जात्रा मनाइन्छ । नेवार समुदायको बाक्लो बस्ती भएका बजार क्षेत्रमा विशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईलाई वैदिक सनातन धर्मावलम्बीले गौमाताका रुपमा पूजा गर्ने परम्परा छ ।

वैदिक विधिअनुसार गरिने प्रत्येक कर्मको आरम्भमा गोदान गर्ने प्रचलन पनि यसै कारण शुरु भएको वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउँछन् ।

गाईजात्राको ऐतिहासिक तथ्य

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराऊन्’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दुरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।

विकृतिविरुद्ध प्रहार गर्न उपयोग गरिँदै गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कू पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन् । हास्य व्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । पछिल्ला वर्षमा हास्य कलाकारले गाईजात्रा कार्यक्रमको विशेष आयोजना गर्ने गरेकामा गत वर्षदेखि कोरोनाका कारण प्रभावित भएको छ ।

भौतिक रुपमा ठूला हलमा गरिने गाईजात्रा प्रभावित भएपनि हास्य कलाकारले युट्युब च्यानलका माध्यमबाट यसलाई निरन्तरता दिएका छन् । हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ कोरोनाले विगत वर्षमा जस्तो स्टेजमै गएर गाईजात्राको प्रस्तुति गर्न सकिने अवस्था नरहेको बताउँछन् । कोरोनाकै कारण धेरै कलाकारका पनि आफन्तजन गुमाएकाले पनि यो पर्व खल्लो भएको उनले सुनाए ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । नेवार समुदायको उपस्थिति भएका शहरमा गाईजात्रा मनाइए पनि तरिका भने फरक पर्ने गरेको छ ।

पहिलोपटक नेवार समुदायका कर्मचारीलाई बिदा
भाद्र कृष्ण अष्टमीसम्म विभिन्न नाममा यो पर्व देशका विभिन्न भागमा मनाउने गरिन्छ । सरकारले यसवर्ष पहिलो पटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ। गाईजात्राका अवसरमा विगत लामो समयदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *