पार्टी‚ देश र जनताका लागि मुख्यमन्त्री त्यागेँ : शेरधन

काठमाडौँ । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टी‚ देश र जनताका लागि आफूले मुख्यमन्त्रीको पद त्याग गरेको बताएका छन् । आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्नका लागि गरिएको पत्रकार सम्मेलनका क्रममा पार्टी‚ देश र जनताका लागि मुख्यमन्त्री छाडेको भन्दै उनले अब विभाजन र टुटफुटबाट बाहिर निस्किएर सबैलाई समेटेर जाने बताए ।

त्यस्तै उनले अन्य दलको व्यवधानका कारण प्रदेशको नाम टुङ्गो लगाउन नसकिएको बताए । आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्ने क्रममा उनले आफ्नो कार्यकालमा धेरै राम्रा कामहरू गरेको भन्दै प्रदेशको नामाकरण गर्ने काममा अन्य दलको व्यवधानले गर्दा नसकिएको स्वीकारेका हुन् ।

३ वर्ष ६ महिना ७ दिन मुख्यमन्त्री बनेका राईले आफ्नाे नेतृत्वकाे सरकारले प्रदेशको स्थिरताका निम्ति, एमालेको विग्रहले असर नगराेस् भन्ने हेतूले आफूले मुख्यमन्त्री पद छाडेको बताए ।

यस प्रदेशमा सिङ्गो एमाले पंक्तिलाई एक बनाउनलाई महत्त्वपूर्ण भूमिका खेल्ने विस्वाससमेत व्यक्त गरे । सरकारले आधा कार्यकाल पूरा गरेकाले सरकारका ३ वर्षे कामको बारेमा गाेजी पुस्तिकामार्फत् सार्वजनिक गरिएको उनले जानकारी दिए ।

पहिलाे वर्ष बस्ने ठाउकाे खाेजी, दाेस्राे वर्ष केही कानून र संरचनागत प्रगति, प्रादेशिक आकांक्षा राखिएको भन्दै अन्तिम वर्षमा तीव्र गतिमा गर्नुपर्ने काम पनि काेभिड संक्रमणले गर्दा गर्न नसकिएको उनले बताए ।

यस्तै राईले सन्तुलित विकासकाे अवधारणा अगाडि सारिएको र ६२ वटा बहुवर्षीय आयाेजनासमेत सम्पन्न भएकाे दाबी गरेका छन् ।

‘प्रदेशकाे राजधानी बनाएकाे तर‚ अन्य दलले गर्दा नाम ल्याउन सकिएन‚’ उनले भने‚ ‘नाम ल्याउन नसकेकोमा अफसाेस छ । प्रदेश मुख्यमन्त्रीले गर्दा नाम नआएकाे होइन । मुख्यमन्त्रीले निर्णय गरेर हुने थियाे भने निर्णय गरेर पहिलाे वर्ष नै ल्याउने थिएँ ।’

उनले हाेचाे केचना र अग्लाे सगरमाथा जाेड्ने सडककाे खाका आफ्नै सरकारको पालामा तयार भएको भन्दै जतिसुकै बेला शिर ठाडाे पारेर बाेल्न‚ हिँड्न सक्ने अवस्थामा भएको बताएका छन् । केहि कमि कमजोरी भए हाेलान्‚ तर त्यस्ता गल्ती कमी-कमजोरी सुधार गरेर गएकाे र कुनै नराम्रा काम हुन नदिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *