प्रदेश २ : अर्थबाट किन हटाइए यादव ?

जनकपुरधाम । प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । जिम्मेवारी हेरफेर हुने मन्त्रीहरूमा अर्थमन्त्री विजयकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् ।

जिम्मेवारी हेरफेर भएका यादव यसअघि अर्थमन्त्री थिए भने साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए । दुवै मन्त्रालय परिवर्तन गरी एकअर्कासँग साटासाट गर्न लगाइएको छ ।

जिम्मेवारी हेरफेरको कारण नखुलाइए पनि मुख्यमन्त्रीको क्षेत्रधिकारभित्र पर्ने भएकाले हेरफेर गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

साहको ‘बढुवा’, यादवको ‘घटुवा’ !
जिम्मेवारी परिवर्तनको कारण नखुलाइए पनि यसले निवर्तमान अर्थमन्त्री विजय यादवको ‘घटुवा’ र भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्र साहको ‘बढुवा’को रुपमा लिइएको छ ।

एउटै पार्टीका रहेका मुख्यमन्त्री राउत र निवर्तमान अर्थमन्त्री यादवबीच शुरुदेखि नै मतभेद रहँदै आएको छ । जसपा प्रदेश २ का अध्यक्षसमेत रहेका यादव सुरुदेखि नै पार्टी संसदीय दलका नेता र मुख्यमन्त्री बन्ने चाहना राख्दै आएका छन् ।

प्रदेश सरकारको बजेट प्रस्तुत भएपछि मुख्यमन्त्री राउत र अर्थमन्त्री यादवबीच मनमुटाव शुरु भएको थियो । मुख्यमन्त्री स्वच्छता अभियानको बजेट भौतिक पूर्वाधारमा र मुख्यमन्त्री ‘बेटी पढाऊ‚ बेटी बचाऊ’ अभियानको साइकल वितरण कार्यक्रमको बजेट सामाजिक विकास मन्त्रालयमा अर्थमन्त्री यादवले बिनाछलफल सारेको भन्दै मुख्यमन्त्री राउत पछिल्लो समय अर्थमन्त्री यादवसँग असन्तुष्ट थिए । उक्त विवादको विषय पार्टी अध्यक्ष उपेन्द्र यादवससम्म समेत पुगेको थियो ।

यसअघि पनि बजेट परिचालनको विषयमा मुख्यमन्त्री राउत र यादवबीचको विवाद पटक-पटक बाहिरिने गरेको थियो ।

स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई कुनै पनि हालतमा छाड्ने अवस्थामा नरहेको र हक्की स्वभावका यादवले मुख्यमन्त्रीलाई पनि टेर्न छाडेपछि केही दिनअघि उपेन्द्र यादवले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्न मुख्यमन्त्री राउतलाई निर्देशन दिएका थिए ।

यादव अर्थमन्त्री रहे आफूले राजीनामा दिने अडानमा मुख्यमन्त्री राउत पुगेपछि उपेन्द्र यादव समस्यामा परेका थिए ।

राउतले मुख्यमन्त्रीबाट राजीनामा दिएमा मुस्लिम मत भड्किने डरले यादवले राउतलाई सहज हुनेगरी साहलाई अर्थमन्त्रीमा ल्याउन निर्देशन दिएका हुन् । साहलाई अर्थमन्त्रीमा ल्याएपछि जातीय समीकरणसमेत मिल्ने र राजेन्द्र महतोलाई समेत काउन्टर दिन जसपालाई मद्दत मिल्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *