दल रोज्न पाउने समय भदौ २२ सम्म मात्रै

आयोगले १ हप्ता घटाइदियो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्न प्रदेश सभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएको छ ।

आयोगले प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलहरुलाई परिपत्र गर्दै भदौ २२ गतेभित्र एमाले र जसपा छाड्न चाहने निर्वाचित प्रतिनिधिहरु आफैं उपस्थित भई सनाखत गराउन निर्देशन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा टेकेर माधवकुमार नेपाल र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै दल दर्ता गरेर प्रमाणपत्र पाइसकेपछि आयोगले एमाले र जसपा छाड्न चाहने नेताहरुलाई १५ दिनको दल रोज्न पाउने समय दिएको हो ।

सरकारले दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत मात्रै सदस्य भए पुग्नेगरी अध्यादेश जारी गरेपछि भदौ २ गते एमालेको नेपाल समूह र जसपाको ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनीहरुलाई आयोगले बुधबार (भदौ ९ गते) सनाखत गराएर मान्यता दिइसकेको छ ।

अध्यादेशमा ‘नयाँ दल गठन भएको २१ दिनभित्र’ प्रदेश र स्थानीय तहमा निर्वाचित प्रतिनिधिले रोज्न पाउने व्यवस्था गरेपनि आयोगले निवेदन दिएकै दिनदेखि गनेर भदौ २२ को समय सीमा निर्धारण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *