सुदूरपश्चिममा प्रदेश सांसद सनाखतका लागि निर्वाचन कार्यालयमा
धनगढी । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने नेकपाका एमालेको सांसद धनगढीस्थित निर्वाचन कार्यालयमा पुगेका छन् ।
निर्वाचन आयोगले सनाखतका लागि भदौ २२ गतेसम्मको समय दिएपनि सुदूरपश्चिममा भने नयाँ दल रोजेका एमाले सांसदहरूले आजै सनाखत गर्न लागेका हुन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीसहित भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, पूर्वप्रमुख सचेतक तारालामा तामाङ, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउँदले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
यो पनि : सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदले आजै सनाखत गर्दै
यस्तै एमाले प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गर्ने संकेत गरेका छन् ।
विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन् ।
विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन् ।
सुदूरपश्चिममा नेकपा एमालका सभामुखबाहेक २४ जना सांसद छन् । जसमा विगतमा १७ जना सांसद माधव पक्ष र सात जना सांसद ओली पक्षमा खुलेका थिए । अब पार्टी विभाजनपछि त्यो अंकगणित फेरबदल हुने भएको छ ।