प्रदेश २ : एमाले संसदीय दलका नेतासहित ११ सांसदले रोजे एकीकृत समाजवादी

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहित ११ सांसदले माधव नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् ।

बिहीबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका ११ सांसदहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दै उक्त पार्टी रोजेका हुन् ।

१० सांसद निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भएर र सांसद दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै वारेसनामामार्फत् सनाखत गरेका हुन् । सांसद उप्रेती क्यान्सर पीडित भएको र हाल भारतको नयाँदिल्लीमा उपचाररत रहेकाले दूतावासमार्फत पत्र पठाएर वारेसनामामार्फत् सनाखत गरेका हुन् ।

सांसद शत्रुधन महतोले भने, ‘झलनाथ खनाल कमरेडले जसरी भारतको नयाँ दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि सनाखत भएको छ ।’

प्रदेश २ मा एमालेका २१ सांसद थिए । माधव पक्षका १३ सांसद रहेको प्रदेश २ मा बिहीबार ११ सांसदले मात्रै सनाखत गराए । सुन्दरबहादुर विश्वकर्मा र सिता गुरुङले भने सनाखत गराएनन् । उनी दुवैजना काठमाडौँमा छन् ।

सनाखत गराएका सांसद शत्रुधन महतोले भने, ‘मौसम खराबीका कारण काठमाडौँबाट जहाज नउड्दा माननीय विश्वकर्मा र गुरुङ आउन सक्नुभएको छैन । सकभर आजै आएर सनाखत गर्नुहुन्छ, नभए भोलि हुन्छ ।’

बिहीबार सनाखत गराउने सांसदहरू:
१) शत्रुधन महतो
२) अशोक यादव
३) प्रमोद यादव
४) मदनसेन श्रीवास्तव
५) नागेन्द्र यादव
६) गोविन्द न्यौपाने
७) रविन्द्र बैठा
८) मञ्जु यादव
९) हसिना खातुन
१०) बेची लुङ्गेली
११) दिल्ली उप्रेती

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *