प्रदेश १ : ‘मुख्यमन्त्रीमा आचार्यको नियुक्ति असंवैधानिक’

विराटनगर । प्रदेश १ मा विपक्षी गठबन्धनमा सहभागी नेताहरूले मुख्यमन्त्रीमा भीम आचार्यको नियुक्ति असंवैधानिक भएको बताएका छन् । विराटनगरमा बैठक बस्दै विपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न भनेको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका नेता ईन्द्र आङ्बो, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई, जनता समाजवादी पार्टीका जयराम यादव तथा संघीय लोकतान्त्रिक मञ्चकी विष्णुमाया तुम्बाहाम्फेसहितको बैठकले सरकार गठन र नियुक्तिलाई असंवैधानिक भएको निष्कर्ष निकालेको हो ।

गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपूर्ण निर्णय नगर्न माग गरेको छ । नेकपा एमालेको विभाजनपछि निर्वाचन आयोगमा दल दर्ता र पार्टी छाने पनि पहिलो पटक प्रदेश १ मा गठबन्धनको बैठक बसेको हो ।

एमाले विभाजन भइसकेको अवस्थामा निर्वाचन आयोगले सांसदलाई दल रोज्न समय दिइसकेको अवस्थामा बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको भनेको हो । गत भदौ १० गते शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने ११ गते दुई जना मन्त्री नियुक्त गरेका थिए ।

गठबन्धन दलका नेताहरूले समाजवादी दलका सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई पनि ज्ञापनपत्र बुझाउने जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *