माधव समूहको सनाखत सूचीमा रहेका सांसद एमालेको बैठकमा !
जनकपुरधाम । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्ने भनिएका दुईजना सांसदहरू नेकपा एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका छन् ।
वीरगञ्जमा जारी एमालेको प्रदेश कमिटी बैठकमा माधव समूहका सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ्ग सहभागी भएका हुन् ।
सांसदहरू विश्वकर्मा र गुरुङ नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्ने सूचीमा रहेका थिए । विश्वकर्मा प्रदेशसभामा एमालेका प्रमुख सचेतक हुन् ।
विश्वकर्मा र गुरुङ काठमाडौँमा रहेको र खराब मौसमका कारण प्लेन उड्न नसक्दा सनाखतका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरमा आउन नसकेको बताइएको थियो । तर उनीहरू वीरगन्जमा एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा भने सहभागी भएका हुन् ।
सांसद विश्वकर्मा र गुरुङ पार्टीको विवाद शुरु भएदेखि कुन पक्षमा लाग्नेबारे खुलेका थिएनन् ।
एमाले प्रदेश २ का ईन्चार्ज सत्यनारायण मण्डलले सांसदद्वय आफूहरूको सम्पर्कमा रहेको र सँगै प्रदेश कमिटी बैठकमा सहभागी भएको पुष्टि गरे । उनले मकालुखबरसँग भने, ‘उहाँहरू हामीसँगै मूल पार्टीमै हुनुहन्छ, काठमाडौँमा रहेको कुरा निराधार छ । हामी सँगै प्रदेश कमिटी बैठकमा सहभागी भएका छौँ ।’
यसअघि बिहीबार एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका सांसद शत्रुधन महतोले सांसद विश्वकर्मा र गुरुङ काठमाडौँमा रहेको र मौसममा सुधार आउनेबित्तिकै जनकपुर आएर सनाखत गर्ने दाबी गरेका थिए ।
यो पनि : प्रदेश २ : एमाले संसदीय दलका नेतासहित ११ सांसदले रोजे एकीकृत समाजवादी
यस विषयमा कुरा गर्न खोज्दा सांसदद्वय विश्वकर्मा र गुरुङसँग सम्पर्क हुन सकेन ।