कांग्रेस वडा अधिवेशन आजबाट

वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूह अनिवार्य गर्ने

काठमाडौं । कांग्रेसले आजबाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रिया थाल्दैछ । सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन २३ गतेभित्र सक्ने तयारी छ ।

तर सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएकाले चरणबद्ध वडा अधिवेशनमा जुटेको हो । सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा अधिवेशन विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् । ‘आजबाट सुरु गरेर २३ गतेसम्ममा वडा अधिवेशन सक्ने र २७ गतेबाट सुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ,’ उनले भने, ‘सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा धमाधम अधिवेशन हुन्छ ।’

कांग्रेसले आज करिब ४० जिल्लामा वडा अधिवेशन गर्दैछ । सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ । सबैभन्दा बढी मत पाउने उम्मेदवार निर्वाचित हुनेछन् । कांग्रेसले हालसम्म ६३ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ ।

वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूह अनिवार्य
कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । हालको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा सो वडामा सो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।

यसअघि प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कांग्रेस कार्यसमितिको बैठकमा प्राप्त सुझावसमेतलाई ध्यानमा राखी सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा आजको निर्णय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *