राष्ट्रिय जनमोर्चाद्वारा समानान्तर कमिटी गठन गर्ने ५ नेता निष्काशन

धनगढी । राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने पाँच जना नेतालाई निष्काशित गरेको छ ।

धनगढीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जनमोर्चाले अवैधानिक भेला राख्ने र समानान्तर कमिटी गठन गर्ने नेताहरूलाई अनिश्चित कालका लागि साधारण सदस्यसमेत नरहने गरेर सबै पदबाट हटाइएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा अवैध भेला बोलाएको तथा फुटपरस्त गतिविधि गरेको भन्दै पार्टीका केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरू लक्षीराम आचार्य, केशवनाथ योगी, गोविन्द विकलाई साधारण सदस्यबाट समेत निष्काशन गरिएको पार्टीका प्रदेश अध्यक्ष नन्दराज भट्टले बताए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूरपश्चिममा समानान्तर समिति गठन गर्दै त्यसको नेतृत्व गर्नेलाई कारबाही गरिएको बताए ।

सो अवसरमा बोल्दै भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक संसद विघटन गरेको र गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको जनमोर्चा त्यसविरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएको समेत बताए । उनले यही कुरा सह्य नभएर पार्टीभित्रका फुटपरस्त नेताहरूले समानान्तर कमिटी गठन गर्ने हर्कत गरेको आरोप लगाए ।

यसअघि सुदूरपश्चिममा जनमोर्चाका प्रदेश कमिटी उपाध्यक्ष रहेका लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *