छुनुमुनु तिम्ल्याहा
विराटनगर । झापाको मेचीनगर नगरपालिकाकी निर्मला विष्ट रिजालले एकै पटक तीन सन्तान जन्माइन् । उनको कोखबाट २०७७ असोज ५ गते २ छोरा र १ छोरी जन्मिइन् ।
मेचीनगर नगरपालिका- ९ धुलावारीकी २५ वर्षीया निर्मलाको मनमोहन अस्पताल बिर्तामोडमा शल्यक्रियापछि जन्मिएका हुन्- साइमनजंग रिजाल, साइना रिजाल र सियोनजंग रिजाल । जन्मँदा साइना २ किलो १ सय ग्राम, साइमनजंग किलो र सियोनजंग रिजाल १ किलो ६ सय ग्रामका थिए । शल्यक्रियामा मनमोहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतम नेतृत्वको टिम संलग्न थियो ।
तीनजना शिशुलाई ९ महिनासम्म गर्भमा बोक्न निर्मलालाई थामिनसक्नुको सकस त थियो नै, सकुशल जन्माउन पनि चुनौती थियो । सकुशल जन्मेपछि उनीहरूलाई हुर्काउन निकै नै सकस भएको उनीहरुका बुबा सुरेन बताउँछन् ।
उनीहरुलाई हुर्काउन परिवारका सबै सदस्यका साथै एकजना सहयोगी पनि राख्नुपरेको मकालुखबरलाई बताए । ‘६ महिनासम्म दुईजना बुढाबुढी नै मिलेर गरियो, बच्चा अलिक ठुला हुँदै गएपछि एकजना सहयोगीलाई पनि राखेका छौँ ।’
तिम्ल्याहा बच्चा हुर्काउन समय नपुग्ने भएपछि बिर्तामोडमा रहेको पसल बेचेर बच्चा र सुत्केरीको स्याहारमा लागेका उनले बताए । ‘अहिले श्रीमती, दाजुभाउजु र बुबाको सहयोग भएकाले बच्चालाई हुर्काउन मद्दत मिलेको छ’ उनी भन्छन् । बच्चा अलिक ठुला भएपछि सुरेनले अहिले अर्को पसल खोलेका छन् ।
प्रायजसो जुम्ल्याहा बालबालिकामा बानी मिल्ने र दुवैले उस्तै व्यवहार गर्ने धेरैको अनुभव रहेको पाइन्छ । रुँदा दुवै रुने‚ भोक लाग्दा सँगै लाग्ने जस्ता साझा बानी हुने अनुभवीहरू बताउँछन् । तर यी तिम्लयाहामा भने त्यस्तो साझा बानी नभएको बुबा सुरेनले बताए ।
‘अनुहार मिलेपनि उनीहरूको अन्य बानी व्यहोरा भने नमिल्ने उनको भनाइ छ । उनीहरूबीचमा सुत्ने, उठ्ने, खाने, रुने, हाँस्नेजस्ता कुरा एकैसाथ नहुने उनले बताए । ‘जसलाई चोट लाग्छ या दुख्छ‚ ऊ रुन्छ । जो खुसी हुन्छ‚ ऊ हाँस्छ’, सुरेनले भने‚ ‘अनि कुनै सुत्दा कुनै उठिरहेको हुन्छ । ‘तीनै जनाले सुत्ने र उठ्ने एकै समय नभएपछि खाना खान पनि प्रायः सँगै नहुने उनी बताउँछन् । एकजना सुत्दा अर्को उठेको हुने र कहिलेकाहीँ तीनैजना एकसाथ सुत्ने र उठ्ने उनले फोनमा बताए ।
जन्म दर्तामा समस्या
धुलाबारी नगरपालिका-९ की वडा सचिव लक्ष्मी राईले तिम्ल्याहाको जन्म दर्ता बनाउन नै शुरुमा समस्या भएको बताइन् । ‘अनलाइन सफ्टवेयरमा व्यक्तिगत घटना दर्ता गर्दा एक वा जुम्ल्याहा भन्ने मात्र उल्लेख भएको थियो । उहाँहरूको तिम्ल्याहा भएकाले समस्या भएको थियो,’ राईले भनिन्, ‘हामीले पालिकामा जानकारी गराएपछि पालिकाले मन्त्रालयमा लेखेर पठाएपछि बल्ल सफ्टवेयरमा एकल, जुम्ल्याहा वा तिम्ल्याहा भनेर उल्लेख भएर आएपछि सजिलो भयो ।’