एमालेले ‘मतियार’ भनेपछि आक्रोशित सभामुखले उल्लेख गरेको नियम २१ मा के छ ?

सांसदहरुलाई कारबाहीको चेतावनी

काठमाडौँ । गत साउन ३२ गते स्थगन भएको प्रतिनिधि सभाको ९औं अधिवेशन बुधबार (आज) अपराह्न ४ बजेबाट शुरु भयो । बैठकका लागि ३२ वटा कार्ययूची तय थियो । तय भएको कार्यसूचीअनुरूप सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न थाले । कार्यसूचीको नं. १ मा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने बुँदा थियो ।

कार्यसूचीअनुरूप सभामुख सापकोटा बैठक सञ्चालनमा जुटे । पत्रको व्यहोरा पढेर सुनाएलगत्तै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बैठक रोक्नुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्यो । सांसदहरु उठेर नाराबाजी गर्न थाले । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई ५ मिनेटको समय दिँदै असन्तुष्टिबारे बोल्न ‘रुलिङ्ग’ गरे । बोल्ने क्रममा सचेतक भट्टराईले सभामुखलाई ‘मतियार’ भएको आरोप लगाए । भने— ‘एमाले विभाजनको मतियार किन बन्नुभयो ?’

यसपछि आक्रोशित बनेका सभामुख सापकोटाले आफूलाई मतियार भनेकोप्रति लक्षित गर्दै कारबाहीसम्मको चेतावनी दिए । सभामुख सापकोटाले भने, ‘प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड ‘ख’ र ‘ग’ आकर्षित गर्न चाहन्छु । अध्ययन गर्न ध्यानाकर्षण गर्छु ।’

त्यसो त नियम २१ को खण्ड ‘ख’ र ‘ग’ के भन्छ ? खण्ड ‘ख’ मा भनिएको छ— ‘सभामुखले पदअनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममाबाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने ।’ सँगै खण्ड ‘ग’ बारे अझ स्पष्टसँग बोलेको छ । ‘सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने,’ खण्ड ‘ग’ मा भनिएको छ ।

नियम २१ प्रति आकर्षित गराउँदै सभामुख सापकोटाले सांसदहरूलाई कारबाहीको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *