नेपालमा अझै रुढीवादी र सामन्ती चिन्तन हाबी छ : डा. गणेश साह
काठमाडौँ । आज (शुक्रबार) ९औं राष्ट्रिय विज्ञान दिवस । विश्वमा जस्तै नेपालमा पनि नोभेम्बर १० तारिकमा विश्व अन्तर्राष्ट्रिय विज्ञान दिवस मनाइने गरेकोमा विसं २०६९ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले हरेक असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसका रुपमा सुरू गरेको हो । शान्तिको भावसँगै विकास र आविष्कारलाई प्रोत्साहन दिन विज्ञान दिवस मनाउने गरिएको हो ।
दिवस मनाउने औपचारिकता पूरा गरेपनि नेपालमा विज्ञान सधैं ओझेलमा परेको, वैज्ञानिक सोच र चिन्तनको प्रवर्द्धन हुन नसकेको विषय उठ्ने गरेको छ । नेपाल मात्र नभएर विकासमा पछि रहेका देशहरुमा वैज्ञानिक सोचको विकास हुन नसकेको कुरा हुने गरेको छ ।
दिवस मनाउने तर प्राथमिकतामा नराख्ने
सरकारले हरेक वर्ष विज्ञान दिवस त मनाउँछ । तर, विज्ञानको क्षेत्रलाई प्राथमिकतामा भने राख्दैन । विज्ञान प्रविधि नीति ०७६ मा जारी गरिएको छ । तर राज्यले जुन सकारात्मकता देखाउनुपथ्र्यो त्यो पटक्कै देखाएको छैन ।
हामी संघीय संरचनामा छाँै । यो संरचनामा संघीय सरकार प्रदेश सरकारले विज्ञान तथा प्रविधिको विकास गर्न देशैभरी राम्रो प्रणाली बनाउन सकेको छैन । शिक्षामा, उद्यमशीलतामा, लगानीमा जस्तै विविध क्षेत्रको समष्टीगत रूपमा नीतिमा लिइयो । रणनीति र कार्यक्रमहरु पनि निर्माण भए तर कार्ययोजनाहरु पारित भएका छैनन् । कार्ययोजना पारित भए पनि त्यसको लागि पर्याप्त विधिहरू छैनन् । आवश्यक पर्ने संरचनाहरुको अभाव छ । सरकार अझै पनि त्यसतर्फ अग्रसरता शून्य छ । विज्ञान दिवसलाई सम्बोधन चाहिँ प्रधानमन्त्रीले नै गर्ने गरेका छन् । अरू दलगत पार्टीका नेताले पनि यो क्षेत्रलाई बढावा दिनुपर्ने भन्दै भाषण चाहिँ गर्ने गरेका छन्, तर काम चाहिँ हुँदैन ।
समाजमा विज्ञान तथा संस्कृतिको रूपमा विकास हुन सकेको छैन । विज्ञानले ल्याउने चेतनास्तरमा नेपाल धेरैपछि छ । विश्व अहिले विज्ञान र प्रविधिको क्षेत्रमा चौथौ औद्योगिक क्रान्तिीमा प्रवेश गरेको छ । हिजो रोबर्टिक्सको कुरा उठ्थ्यो । अब अहिले ‘आर्टिफिसियल इन्टलिजेन्स’ को कुरा उठ्न थालिसकेको समयमा समग्र रुपमा हेर्दा विश्वले चौथो चरणमा फड्को मार्दा पनि हामीले दोस्रो चरण पनि पार गर्न सकेका छैनौँ ।
विज्ञान र प्रविधि क्षेत्रको क्रान्तिको गतिशीलतालाई नेपालको राजनीतिक नेतृत्व, सरकारले पछ्याउनु त परको कुरा त्यसका लागि तयारसमेत भएको छैन ।
वैज्ञानिक खोज र अनुसन्धानको अवस्था केही आशलाग्दो
गएका दशकहरुलाई नियाल्दा नेपालमा वैज्ञानिक खोज र अनुसन्धानको अवस्था केही आशालाग्दो रहेको पाइन्छ । प्रविधितर्फ केही आशालाग्दा पक्षहरु देखिएका छन् । यस्तो महामारीको समयमा पनि नेपालीले साना–साना आविष्कारहरु गरिरहेका छन् ।
महावीर पुनको आविष्कार केन्द्रले पनि राम्रै काम गरेको छ । केही सकारात्मक पक्ष देखिएका छन् । तर ती पक्षहरु हाम्रो आवश्यकताअनुसार पर्याप्त भने छैनन् । नेपालमा विज्ञान क्षेत्रमा कानूनी चुनौती पनि धेरै छन् । यो क्षेत्रमा लगानी गर्दा राज्यले ठूलो कानूनी चुनौती खडा गरिदिएको छ । विज्ञान र अनुसन्धानलाई व्यावसायिक दृष्टिकोणले हेरेको पाइन्छ ।
यो क्षेत्रमा कुनै नयाँ योजना ल्याउन मोटो रकम कर तिर्नुपर्छ । दर्ता प्रकृया असाध्यै झन्झटिलो छ । कानूनी र प्रशासनिक अड्चन धेरै छन् । पेटेन्ट राईट, इन्टलएक्चुअल प्रोपर्टी राइट्सका कुराहरु छन् । त्यो सबैलाई समेट्ने एजेण्डा नै छैन । त्यसैले विज्ञान र प्रविधिको क्षेत्रमा मान्छे लाग्नको लागि सहजीकरण र सहज कानुनी बाटोहरु हुनुपथ्र्यो त्यो छैन । त्यसैले यस्ता समस्या र प्रशासनिक झमेलाहरुलाई सहजीकरण गर्नुपर्ने अवस्था छ । अनुसन्धानको क्षेत्रमा काम गर्दा राम्रो वातावरण सिर्जना अति आवश्यक हुन्छ ।
लगानीको अभावको समस्या त प्रमुख नै भइहाल्यो । अर्को मुख्य कुरा भनेको यो क्षेत्रमा काम गर्ने मान्छेहरुलाई उत्पे्ररणाको ठूलो अभाव छ । अरु विभिन्न दिवसमा हाम्रो देशमा राष्ट्रपति पुरस्कारको व्यवस्था छ । तर, यो दिवसमा भने त्यस्तो सम्मान गर्ने र पुरस्कृत गर्ने व्यवस्था छैन । अझै पनि वैज्ञानिकहरुको समुदायलाई प्रोत्साहन गर्ने काम भएको देखिँदैन । नेपालमा ५०औं वर्षदेखि विज्ञान विषय पढाइरहेकाहरूलाई पनि कुनै पुरस्कारको व्यवस्थै छैन ।
रुढीवादी र सामन्ती चिन्तन हाबी
हाम्रो यो सामन्तवादी र रुढीवादी समाज हो । यस्तो समाजमा वैज्ञानिक चिन्तन विकास नै हुन पाउँदैन । सामान्य विज्ञानका शिक्षाहरु छन् जुन निम्न माध्यमिक तहदेखि नै पढाउँदै आएको हुन्छ । त्यही तहदेखि नै विज्ञानलाई ठूलो भय र डरको विषयको रुपमा हेर्ने चलन छ ।
विज्ञान भन्नेबित्तिकै गाह्रो सोच्ने चलन छ । यस्तो चिन्तनबाट मुक्त हुन आवश्यक छ । विज्ञान पनि अरु विषय जस्तै रमाउँदै अध्ययन गर्न सकिने विषय हो भन्ने बुभ्mनुपर्छ । विज्ञानलाई हलुका रूपमा लिएर पढ्ने, सिक्ने र सिकाउने गर्नु अति आवश्यक छ । विज्ञानको अध्यापनलाई सहजीकरण गर्दै लैजानुपर्छ । वैज्ञानिक चिन्तनले कुनै पनि घटना घट्छ भने त्यसको कारण खोज्ने काम गर्छ ।
जस्तै भूकम्प आयो भने भगवान्को श्रापले हो भन्ने जुन रुढीवादी चिन्तन छ त्यसलाई चिर्दै भूकम्प आउनुको कारण खोज्ने काम विज्ञानले गर्छ । कुनै पनि घटनाको कारण र असर पत्ता लगाउनु विज्ञान हो । विज्ञान सधैं प्रश्न सोध्नुसँग सम्बन्धित रहन्छ । जिवाणु र किटाणु कसरी फैलिन्छ यसले कसरी हाम्रो प्रतिरक्षा प्रणालीलाई असर गर्छ भन्ने कुरा विज्ञानले खोजी गर्छ । तर नेपाल जस्तो देशमा रुढीवादी चिन्तनले ग्रसित मानसिकता छ । त्यसैले वैज्ञानिक चिन्तनको बारेमा बुझाउँन विज्ञानसम्बन्धी प्रारम्भिक ज्ञान दिन आवश्यक छ । विज्ञान भनेको विश्वव्यापी ज्ञान हो । यसका पद्धतिलाई बुझ्नुपर्छ ।
विज्ञानलाई बुझ्न नसके विश्वको गति र प्रगतिलाई बुझ्न सकिँदैन । जसका कारण विश्व धेरै अगाडि पुगिसक्दा हामी पछि नै छुट्छौँ । त्यसकारण पनि विज्ञान हेलाको होइन प्राथमिकताको विषय हुन जरुरी छ ।
(पूर्व विज्ञानमन्त्रीसमेत रहेका डा. साहसँग मकालुखबरकर्मी मनिषा पौडेलले गरेको कुराकानीमा आधारित।)