संविधानको कार्यान्वयनमा दलहरू सन्तुष्ट, संविधानविद् भन्छन्- ‘दलको नियतमा खोट देखियो’
काठमाडौँ । नेपालमा पहिलो पटक जनजनप्रतिनिधिले बनाएको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । विसं. ०७२ असोज ३ गते संविधा सभामा नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले जारी भएको संविधान जनताको करिब ७ दशक लामो सपना थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको आशा र अपेक्षा भने पूरा हुन सकेका छैनन् । अब देशले काँचुली फेर्छ भन्ने आशा निराशामा बदलिँदो छ ।
नयाँ संविधान आएपनि हाम्रो जीवनमा तात्विक रूपमा के फरक आयो र ? भन्ने आमनागरिकको गुनासो र दुखेसो छ । जुन नाजायज हो भन्न सकिने कुनै आधार छैन । संविधानमा गरिएका व्यवस्था अक्षरशः पालना नगरिँदा थप समस्या भएको संविधानविद्हरू नै औंल्याउँछन् ।
यो कुरा सबैभन्दा धेरै राजनीतिक दलहरूले बुझ्न जरुरी छ । राजनीतिका कैयन् दाउपेचमै बिताएको यो ६ वर्षलाई उनीहरले चाहिँ कसरी लिन्छ त ? यसबारेमा हामीले कुराकानी गरेका छौँः–
संविधान सम्झौताको दस्ताबेज हो : सुवासचन्द्र नेम्वाङ्ग
संविधान सभा अध्यक्ष एवम् एमाले नेता
-यो ६ वर्षको अवधिमा संविधान कार्यान्वयनको क्रममा देश सफल भएकै मान्नुपर्छ । समग्रतामा नेपालमा जनताहरूले बनाएको संविधान जारी भएपछि धेरै परिवर्तनहरू भएका छन् । कार्यान्वयनका क्रममा धेरै संघर्षहरू पनि खेप्नुपरेको छ । जनताहरूले सहर्ष स्वीकारेको यो संविधानलाई हामीले संसारकै उत्कृष्ट भन्यौँ त्यतिबेला पनि र अहिले पनि भनिरहेकै छौँ । तर त्यसो भन्दैगर्दा संविधान सधैं सापेक्ष हुन्छ, यो निरपेक्ष हुँदैन । यो समयको सापेक्षतामा परिवर्तन हुँदै जानु जरुरी छ । हामीले यसै गरिरहेका छौँ ।
संविधानमा खोट छैन । देखाउनु पनि हुँदैन । संविधानले ज्ञान, बद्धि र विवेक कहिल्यै पनि बाँड्दैन ।
देश र जनताका लागि संविधान राम्रै कहलिँदै आएको छ । जस्तैः पछिल्लो उदाहरणको रूपमा हामीले सबै दलहरूको सहयोगमा भारतबाट फिर्ता भएको लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई लिन सक्छौँ । हामी सबै दललाई संविधानले बाँध्यो, हिँडन् सिकायो र हामी त्यहीँ बाटो हिँड्यौँ । फलस्वरुपः हामीले आफ्नो भूमि फिर्ता लियौँ । यी र यस्तै विषयहरूमा हामीले संविधानको पूर्ण पालना र कार्यान्वयन गरेका छौँ ।
स्वाभाविक रूपमा कतिपय व्यवस्थाहरूमा केही राजनीतिक दल र समुदायको विमति त्यतिबेलै रहेको हो ।
अहिले पनि त्यो शृङ्खला छँदैछ । त्यो पनि राख्न नपाइने होइन, पाइने नै हो । तर, बुझ्नपर्ने कुरा चाहिँ के हो भने संविधान भनेको सम्झौताको लिखित दस्ताबेज हो । यो संविधानमा एमालेले सम्झौता गरेको छ, माओवादीले सम्झौता गरेको छ, कांग्रेसले सम्झौता गरेको छ, अन्य दलहरूले सम्झौता गरेका छन् ।
अर्को त के भने यो संविधान सबै समुदायको बलिदानी, त्याग र योगदानपछि बनाइएको हो । यसमा सबैको अपनत्व हुन जरुरी छ । हामी सबैको भनाइ पनि यही नै हो । संविधान संशोधन हुनुपर्छ भन्ने साथीहरूका लागि पनि सोचौँ । संविधानको यो व्यवस्था चाहिँ ठिक छैन भन्नेहरूको बारेमा पनि हामीले सोचौँ भन्दै आएका छौँ । किनकि संविधान भनेको त्यस्तो दस्ताबेज हो, जुन आवश्यकताअनुसार संशोधन र परिमार्जन गर्न सकियोस ।
संविधानको कुरा उठ्दा म भारतका अम्बेडकरलाई सम्झिन्छु । उनले भनेका थिए कि— ‘संविधानमा खोट छैन । देखाउनु पनि हुँदैन । संविधानले ज्ञान, बद्धि र विवेक बाँड्दैन । खाली यसको कार्यान्वयन गर्ने कार्यान्वयनकर्ताले जान्नुपर्छ ।’ म पनि यही दोहोर्याउँछु, संविधान खाली एउटा लिखित दस्ताबेज हो । यसले हामीले कुनै ज्ञान दिँदैन, बुद्धि दिँदैन । यसको कार्यान्वयन गर्न कार्यान्वयनकर्ताले जान्नुपर्छ ।
यसबीचमा हामीले कतिपय कुराहरू जान्यौँ । राम्रै गर्यौँ । कतिपय कुराहरूको प्रयोग हिजोआज भइरहेकै छन् । समग्रमा भन्ने हो भने हामी सफल भएका छौँ यो ६ वर्षमा । संविधानले किटान गरेका कुराहरूमा चुकेका छैनौँ । जतिपनि साथीहरूले संविधानप्रति फरक धारणा व्यक्त गर्नुभएको छ, त्यसको सन्दर्भमा पनि अन्य दलहरूले सोच्नुपर्छ भन्छु म त संविधानको अध्यक्षकै हैसियतमा पनि । अर्को सत्य त के भने संविधान भनेको समयसापेक्ष रूपमा संशोधन हुँदै जानैपर्छ ।
संविधानको सर्वस्वीकार्यता बढ्दैछ : रमेश लेखक
संविधानसभा सदस्य तथा कांग्रेस नेता
-संविधान जारी भएको ६ वर्ष बित्दै गर्दा धेरै सकारात्मक विषयहरू पनि छन्, नकारात्मक विषययहरू पनि छन् । तर, सबैभन्दा ठूलो कुरा चाहिँ यो ६ वर्षमा संविधानप्रतिको सर्वस्वीकार्यता बढेको छ । हिजो संविधान मान्दिनँ भन्नेहरूले पनि संविधान स्वीकारेका छन्, चाहिने रहेछ भनेर महसुस गरेका छन् । यो चाहिँ यो ६ वर्षको उपलब्धिका रूपमा लिनुपर्छ ।
सँगै, हामीले यही संविधानको जगमा टेकेर संघीयताको संरचना गयौँ । यसले हिजोको केन्दीकृत शासन प्रणालीलाई संघीय स्वरुपमा लगेर जनता र देशलाई थप मजबुत बनाएको छ नै सँगै यसले अन्य देशहरूलाई पनि सकारात्मक सन्देश दिएको छ । यो अर्थमा कि हामी पहिलो पटक संघीयताको अभ्यास गर्दैछौँ तर, सफल भएका छौँ । भलै सबै कानूनहरूसमेत बनेका छैनन्, तर जति गरिएको छ त्यो सबै सन्तोषजनक नै छन् भन्ने लाग्छ ।
सबैभन्दा ठूलो कुरा चाहिँ यो ६ वर्षमा संविधानप्रतिको सर्वस्वीकार्यता बढेको छ ।
संविधानको कार्यान्वयन भइरहेको छ । संविधानको प्रयोग भइरहेको छ । तर, कतिपय कमीकमजोरीहरू पनि भएका छन् । जस्तै पछिल्लो उदाहरणको रूपमा लिँदा पटक–पटक भएको संसद् विघटनलगायतका विषयहरूले संविधानको भावनाविपरीत काम गरेपनि फेरि त्यसलाई सच्याउँदै अगाडि बढिएको सत्य हामीसामु छ । यसमा पनि संविधानले नै संसद् पुनःस्थापनाको मार्गमा लानु धेरै राम्रो । यसले संविधान कार्यान्वयन भएको आमअनुभूति भएकै छ । मैले केही प्रतिनिधि घटनाहरू भने जसले संविधानलाई साँच्चै नै अब्बल देखाएका छन् ।
त्यसो त संविधान कार्यान्वयनको तहमा रहेका नेतृत्वहरूको ढङ्ग नपुग्दा कतिपय संवैधानिक कमजोरीहरू पनि आइलागेका छन् । यसले संविधानमा खोट देखाएको छ । तर, त्यसो भने होइन । संविधान सधैं राम्रो छ । कति चाहिँ हो भने संविधान आफैंमा गतिशील दस्ताबेज पनि हो । यसलाई समयको गतिशीलताअनुरूप परिवर्तन गर्दै लानुपर्छ ।
एकचोटी लेखिएको विषय र व्यवस्था नै सधैंलाई हुनुपर्छ भन्ने हुँदैन । देश र जनतालाई शिरमा राखेर संविधान संशोधन गर्न सकिन्छ । यो दिशामा जान सकियो भने आजको आवश्यक्ता पूर्ति हुन्छ । यसो भएको खण्डमा संविधानको सर्वस्वीकार्यता झनै बढेर जान्छ । जुन चाहिँ सबै नागरिकले मेरो संविधान, हाम्रो संविधान भनेर आत्मबोध गरेको हो ।
संविधान आफैंमा एउटा लिखित दस्ताबेज मात्रै हो । यो चलायमान दस्ताबेजलाई राजनीतिक दलहरूले जनता र देशको अनुकूलतामा ढाल्न सक्नुपर्छ । तर, आज चाहिँ राजनीतिक दलहरूले, राजनीतिक दलका नेताहरूले आफ्नो अनुकूलतामा ढाल्न थालेका छन् । यसो हुँदा समस्या भएको हो ।
समग्रमा भन्नुपर्दा अहिलेसम्मको संविधानको कार्यान्वयन र यसका चुनौतीबारे राजनीतिक दल, समाज, प्राज्ञिक क्षेत्र, नागरिक समाज सबै नै जानकार भएका छन् । अब यो ६ वर्षभित्रमा प्राप्त गरिएको ज्ञान, अनुभव र सीपलाई उपभोग गर्दै जानुपर्छ । जुन आजको विकल्प पनि हो ।
प्रतिगामी चिन्तनले संविधानलाई चुनौती दिइरहेको छ : देव गुरुङ
संविधानसभा सदस्य तथा माओवादी नेता
-संविधान १० वर्षे ‘जनयुद्ध’ सँगै मधेश आन्दोलन, जनजाति आन्दोलनलगायतका अन्य थुप्रै आन्दोलन र मागपछिको एक भीमकाय प्राप्ति हो । यी आन्दोलनहरूको जगमा बनेको संविधान फराकिलो हुनैपर्थ्यो र हामीले बनायौँ पनि त्यस्तै । यो संविधानले सबैको प्रतिनिधित्व गरेको छ । सबै धर्म, वर्ग, समुदाय र सबै नेपाली समाजका सदस्यहरूको अपनत्व बोकेको छ । यस अर्थमा यो संविधान राम्रो संविधान हो । हामीले बनाएको संविधान त्यो कालखण्डमा पनि राम्रै थियो ।
तर, संविधान कार्यान्वयनको क्रममा केही त्रुटिहरू भइरहेका छन् । यसतर्फ हामी सचेत छौँ । यो ६ वर्षको अवधिमा सबैबाट केही न केही कमीकमजोरीहरू भएका छन् । यसलाई सच्याएर अगाडि बढ्ने अठोट आजको आवश्यकता हो । खासगरी पछिल्लो समय प्रतिगामी तत्वहरूले संविधान कार्यान्वयनमा जटिलता थपिदिएका छन् । संविधान र लोकतन्त्रको मर्मविपरीत राजनीति तथा संवैधानिक कदमहरू चालिएका छन् । यी र यस्तै प्रतिगामी र प्रतिक्रान्तिकारी कदमहरूबाट संविधानलाई चोट पुगेको छ । त्यो भएर पनि यसबेला संविधानको रक्षा गर्नु नै चुनौतीको विषय बनेको छ ।
यसकारण आज संविधानको पहिलो सर्त भनेको मुलुकको स्वाधीनता बनेको छ ।
हामीले संविधान जोगाएर त्यही संविधान हुँदै टाढाको यात्रा गर्नुछ । हामी त्यो यात्रामा निस्किसकेका छौँ । यो यात्रामा देशी तथा विदेशी तत्वहरूले विभिन्न तौरतरिका अपनाउँदै कमजोर पार्न खोजिरहेका छन् । यसमा पनि खासगरी संविधान कार्यान्वयनको ठाउँमा भएका हामीजस्ताहरूबाटै संविधान पटक–पटक जोखिममा परेको छ । यसबाट संविधानलाई जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर उही संविधानले देखाएको बाटो हिँड्दै जानु पनि छ ।
संविधान भनेको सापेक्ष होइन निरपेक्ष दस्ताबेज हो । यसलाई समयानुकूल र परिस्थितिअनुकूल परिमार्जन गर्दै, संशोधन गर्दै र कार्यान्वयन गर्दै जानुपर्छ । हामीले यही नीति अख्तियारी गरेका छौँ । तर, त्यही संविधानलाई पटक–पटक उल्लङ्घन गर्नेहरूबाट संविधान जोगाउन गाह्रो भएको महसुस पनि गरेका छौँ ।
यसकारण आज संविधानको पहिलो सर्त भनेको मुलुकको स्वाधीनता बनेको छ । कतिपय शक्तिहरूले मुलुकको स्वाधीनता, सार्वभौमिकता, धर्मनिरपेक्षतालगायतका राष्ट्रियताका विषयहरूलाई नै सिद्ध्याउनेगरी चलिरहेका छन् । यी सबै शक्तिहरूलाई छल्दै मुलुकको स्वाधीनताका निम्ति लड्नुपर्ने पाठ संविधानबाटै सिक्नुपर्छ ।
संविधानलाई जीवन्त पार्न सबैले हातेमालो गर्नुपर्छ । यो संविधान जारी गर्दैगर्दा हामीले विश्वकै राम्रो भनेका थियौँ । त्योबेलामा राम्रै पनि थियो, तर समयको सापेक्षतामा समाज चल्दै आउँदा त्यसमा कतिपय परिमार्जन तथा संशोधन हुनुपर्ने देखिएका छन् ।
अब राजनीतिक दलहरूले यहीतर्फ जोड दिँदै संविधानको जीवन्तता र यसको बृहत् कार्यान्वयनको निम्ति सोच्नुपर्ने बेला आएको छ । म यहीमार्फत यो अपिलसमेत गर्न चाहन्छु । समग्रमा भन्नुपर्दा यो ६ वर्षको हाम्रो संविधान परिपक्व भइसकेको छ, हुने क्रम पनि जारी छ । मुख्य कुरा त कार्यान्वयनकर्ताहरूको नियतबाट जोगाउनु छ । यही अभियानमा हामी लागिरहेका छौँ ।
हाम्रो माग र मुद्दा पूरा भए सँगै दिवस मनाउँछौँ : लक्ष्मणलाल कर्ण
संविधान सभा सदस्य, लोसपा नेता
-हामीले यो संविधान जारी हुँदादेखि नै असहमति जनाउँदै आएका छौँ । अहिले पनि त्यो हाम्रो असन्तुष्टि जारी छँदैछ । यो संविधानले मधेसी जनजातिहरूको अधिकार खासेको छ । अन्तरिम संविधानले दिएको हाम्रो अधिकारसमेत खोसेपछि हामी कसरी सन्तुष्टि हुने ? हो ठिक हो, देशमा संविधान चाहिन्छ । यसको कार्यान्वयन हुनु देशको लागि राम्रो हो । तर, यस्तो विभेदकारी संविधानप्रति हाम्रो सधैं खेद छ ।
हामीलाई पनि सँगै बसेर हर्षोल्लासका साथ संविधान दिवस मनाउने मन त छ नि ।
हामीले संविधानको संशोधनको विषयलाई लिएर धेरै ताकेता र प्रयासहरू गरेका छौँ । खासगरी प्रचण्डजी प्रधानमन्त्री हुँदा नै पनि हामीले ४ बुँदे संशोधन प्रस्ताव सरकारसमक्ष पेस गरेका थियौँ । पछि केपी ओलीजीको सरकार हुँदा त संशोधन समितिसमेत बन्यो । तर, पछि सरकार आफैं हटेपछि त्यो सम्भव भएन । हामीले औपचारिक तथा अनौपचारिक रूपमा सरकारमा रहेका दलहरू तथा दलका नेताहरूलाई पटक–पटक संशोधनको प्रस्ताव गरिरहेका छौँ, बहस गरिरहेका छौँ । तर, हाम्रो माग र मुद्दा सधैं उस्तै रहँदा समस्या भएको छ ।
हामीलाई पनि मन छ नि सँगै बसेर संविधान दिवस मनाउने । तर, संविधानमा भएको हामीप्रतिको त्यो हेयको दृष्टिका कारण हामीले फरकजस्तो मानिन्छौँ । यदि कुनै दिन हाम्रो माग र मुद्दा सम्बोधन भएको खण्डमा हामी पनि हर्षोल्लासका साथमा संविधान दिवस मनाउन पछि पर्ने छैनौँ ।
हामीले पटक–पटक भनेका छौँ कि यो संविधानमाथि समीक्षा गर्न आवश्यक छ भनेर । तर, त्यो हुन सकिरहेको छैन । यो संविधानमाथि समीक्षा गरेर कमीकमजोरी व्यवस्थाहरूलाई सच्याउन जरुरी छ ।
000
‘संविधानमा कहीँ खोट छैन, तर कार्यान्वयनमा झेली भइरहेको छ’
संविधानविद् पूर्णमान शाक्य नेपालको संविधानमा कहीँ पनि खोट नभएको बताउँछन् । मकालुखबरसँगको कुराकानीमा उनले भने— ‘संविधान आफैंमा कहीँ खोट छैन । लागू गर्ने राजनीतिक दलहरूको नियतमा खोट हुँदा संविधानमा नै खोट छ जस्तो भइरहेको छ ।’
कार्यान्वयन गर्ने तहमा रहेका राजनीतिक दलहरूको कारणले संविधान बदनाम भएको छ ।
विगत ६ वर्षमा संविधानप्रतिको मिश्रित अनुभव आफूसँग रहेको शाक्य सुनाउँछन् । ‘संविधान कार्यान्वयनको सन्दर्भमा हेर्दा यो बीचको ६ वर्ष केही जटिलतापूर्वक र केही सहज रूपमा पनि बितेका छन्,’ शाक्य भन्छन्, ‘हुन त आफूले कहिल्यै नहिँडेको बाटो हिँड्दाखेरि ठक्कर लाग्छ, कहीँ लडिन्छ । तर, फेरि उठेर हिँड्नुपर्छ । नेपालमा संविधान जारी भएपछि यस्तै खाले संवैधानिक यात्रा जारी छ । नेपालमा केही जटिलता देखिएपनि यसको कार्यान्वयनको प्रयास निरन्तर रूपमै भइरहेको छ । यो राम्रो हो ।’
समयसापेक्ष रूपमा हेर्दा नेपालको संविधान उत्कृष्ट भएको शाक्यको दाबी छ । ‘७२ सालमा जारी हुँदाखेरि यो संविधान आफैंमा सकारात्मक र राम्रो थियो । अहिले समयको अनुकूलता फरक फरक हुँदै आएको छ । संविधानलाई देश र जनताको अनुकूलताअनुसार संशोधन गर्दै लानुपर्छ ।’
संविधानमा कहीँ खोट नभएको शाक्यको ठोकुवा छ । भन्छन्— ‘कार्यान्वयन गर्ने तहमा रहेका राजनीतिक दलहरूले गर्दा संविधान बदनाम भएको छ । जस्तैः पछिल्लो घटनाक्रमलाई नै लिँदा पनि संविधानलाई चुनौती दिने धेरै राजनीतिक घटनाहरू घटेका छन् । प्रतिनिधि सभा दुई/दुई पटक भयो । यस्तै यस्तै संविधानको मर्मविपरीत धेरै कार्यहरू हुन थालेका छन् । जसले संविधानलाई नै चुनौती दिएको छ ।’
संविधान कार्यान्वयनकर्ताहरूको नियत ठिक नभइन्जेलसम्म संविधान यसैगरी रहिरहने बताउँछन् शाक्य । ‘कार्यान्वयनकर्ताको नियत सही नभएसम्म संविधान राम्रो हो भन्ने पुष्टि हुँदैन,’ शाक्य भन्छन्, ‘फुटबल मैदान राम्रो भएर मात्रै हुँदैन । मैदानको शोभाका लागि खेलाडी पनि राम्रो हुनुपर्छ ।’
संविधानमा दोष देखाउनुभन्दा कार्यान्वयनकर्तालाई सजग गराउनु राम्रो भएको शाक्य बताउँछन् । ‘राम्रो संविधानलाई नराम्रोगरी प्रयोगमा ल्याएपछि नराम्रै देखिन्छ, शाक्य भन्छन्, ‘सारमा यसो भन्न सकिन्छ— हाम्रो संविधान खोटरहित छ । तर कार्यान्वयनकर्ताहरूको नियतमा खोट भइदियो ।’