प्रदेशका कतिपय अधिकार संघले मुठी बाँधेर राखेको छ : पूर्णा जोशी [अन्तर्वार्ता]
धनगढी । नेपालमा ७० वर्षपछि जनताबाट निर्वाचित जनप्रतिनिधिले आफैँ संविधान बनाउने अवसर प्राप्त गरे । नेपालको संविधान जारी भएको आइतबार ६ वर्ष पूरा भएको छ । संविधानअनुसार देश संघीय संरचनामा गएको छ । संघीय, प्रदेश र स्थानीय गरेर तीन तहका सरकार निर्माण भएका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुगेको छ । तर संविधानले दिएजस्तो अधिकार गाउँ-गाउँसम्म पुगेको छ ? संविधान कार्यान्वयन के-कस्ता चुनौती देखिएका छन् ? लगायतका विषयमा मकालुखबर संवाददाता अंकुश कुँवरले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीसँग गरेको कुराकानी :
सुदूरपश्चिममा संविधान कार्यान्वयनको अवस्था कस्तो छ ?
यो संविधान अधिकार, समावेशीकरण र अधिकार विनियोजन गर्ने हिसावले विश्वकै उत्कृष्ट संविधान भन्दा पनि हुन्छ । संक्रमणकै अवस्थामा हामीले यो संविधानलाई जारी गर्यौँ र लागू गर्यौँ । संविधान जारी भइसकेपछि पहिलो संघीय संसद, प्रदेश संसद र स्थानीय तहले आ-आफ्ना कार्यक्रमहरू बनाएर संविधानमा भएका विशेष गरेर मौलिक अधिकारका कुराहरूलाई संस्थागत गर्ने कामहरू गरिरहेका छन् । संविधानका विभिन्न धाराहरू कार्यान्वयनका क्रममा गइसकेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको एक फरक शासन प्रणालीमा रहेको प्रदेश सरकार र प्रदेश सभा पनि कार्यान्वयनमा आएको छ । प्रदेश सरकार र प्रदेश सभाले संविधानले व्यवस्था गरेका अनुसूचीहरूमा रहे र प्रदेशका कानून निर्माण, अन्य संरचना निर्माण गर्ने र सरकार मातहतका संस्थाहरूलाई संस्थागत गर्ने कामहरु भइरहेका छन् । करिब ४५ वटा कानूनहरू प्रदेश सरकारले निर्माण गरिसकेको छ । पाँचवटा विधेयकहरू कानून बन्ने प्रक्रियामा छन् । नियमावली र कार्यविधि बन्ने कार्यहरू पनि भइरहेका छन् । प्रदेश सरकार गठन भएको साढे ३ वर्षको अवधिमा प्रदेश सरकार एक प्रकारले बामे सर्ने अवस्थामा छ ।
प्रदेशमा संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता के-कस्ता छन् ?
जटिलता त थुप्रै छन् । संविधानमा व्यवस्था भएभन्दा बाहिर गएर मुलुकका प्रधानमन्त्रीले संघीय संसद् विघटन गर्नुभएको छ । जसलाई संघीय संसद् विघटन गर्ने विशेष अधिकार छैन । संघीयता संस्थागत गर्ने मामिलामा अहिले पनि संघीय सरकारले प्रदेशलाई स्वीकार गर्न सकेको छैनौँ । संविधानले प्रदेशलाई दिएका कतिपय अधिकारहरू पनि संघले मुठी बाँधेर राखेको अवस्था छ । अधिकारहरू तल्लो तहसम्म पुग्न पाएका छैनन् ।
यो नयाँ संविधान भनेको जनताको अधिकार र कर्तव्यको दस्तावेज पनि हो । कतिपय अधिकार तल्लो तहसम्म नदिँदा सिंहदरबारको अधिकार गाउँ–गाउँ पुग्छ भन्न पनि सुहाउँदैन । संविधान कार्यान्वयन गर्ने कुराहरुमा शासकको नेतृत्व क्षमता, शासकीय मानसिकता र मुलुकका अन्य विषयले पनि संविधान कार्यान्वयनमा जटिलता देखिएको छ । तर पनि आशावादी हुनुपर्छ । सबै कुराहरू जटिलतामा मात्रै छैनन् । यसका सरलताहरूतर्फ पनि संविधान कार्यान्वयन गर्ने दिशा अगाडि बढिरहेको छ ।
संघ र प्रदेशका साझा अधिकारका सूचीहरू नबन्दा के-के समस्या भइरहेको छ ?
संविधानले गरेको व्यवस्थाअनुसार साझा अधिकारका सूचीमा केन्द्रले कानून नबनाएपछि प्रदेशले कानून बनाउन पाइँदैन । कतिपय त्यस्ता कानूनहरूलाई संघले प्राथमिकता नदिँदा प्रदेश मर्कामा छ । जस्तो: प्रदेश प्रहरीको व्यवस्था संघ सरकारले प्राथमिकता रोखको छैन । जसले गर्दा प्रदेशमा प्रदेश प्रहरी समायोजन गर्न सकेका छैनौँ । प्रदेश सरकारले ‘बर्दीबिनाको सिपाही’जस्तै भएको छ । संघले कानून नबनाउने र प्रदेशलाई कानून आवश्यक हुने तर बनाउन नसक्ने वा बनाएर पनि कार्यान्वयन गर्न नसक्ने स्थिति छ ।
संघले निजामती सेवा ऐन जारी नगरिदिँदा प्रदेशलाई पनि यो ऐन ल्याउन गाह्रो परिरहेको छ । यद्यपि त्यो ऐन सभामा जाने प्रक्रियामा छ । संघले ऐन नल्याउँदासम्म यहाँ पारित भए पनि कार्यान्वयन गर्न समस्या हुनेछ । यस्तै धेरै कानूनहरूलाई प्रदेशले प्राथमिकतामा नराख्दा प्रदेशमा समस्या भइरहेको छ । बाझिएको हकमा पछि संशोधन गर्छौँ भनेर कानून बनाएर अगाडि बढिरहेका छौँ । हामीलाई आवश्यकता परेपछि जबरस्ती बनाउनुपर्ने अवस्था पनि छ । पछि बाझिएपछि संशोधन गर्नुपर्ने अवस्था छ ।
संविधान नै कार्यान्वयन हुन सकेन भने संघीयता धरापमा पर्दैन ?
संविधान कार्यान्वयमा समस्या आयो भन्दैमा संघीयता अहिले नै धरापमा पर्दैन । यो कसैको लहड र कृपाले आएको व्यवस्था होइन । लामो संघर्ष र नेपाली जनताको त्याग/वलिदानबाट आएको व्यवस्था हो । तर‚ नेताहरूको मानसिकता भने कुण्ठाग्रस्त छ । संविधानले दिएको अधिकार तल किन दिने भन्ने मानसिकता छ । अधिकारलाई संस्थागत हुन नदिनु त्रुटीपूर्ण कुरा हो । नेताहरूको मानसिकतामा बदलाव आउन जरुरी छ । संविधान सहज रुपमा कार्यान्वयन भएको खण्डमा संघीयता अन्यथा भारि पर्दैन ।
प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको अवस्था छ कि छैन ?
प्रदेश सरकार गठन भएको साढे तीन वर्षको अवधिसम्म प्रदेश सरकारले धेरै काम गरेको जस्तो मलाई छ । शिक्षा, स्वास्थ्य, विकासलगायतका पूर्वाधारहरू तयार भएका छन् । अत्यन्त आशालाग्दो ढङ्गले अगाडि बढेका छौँ । भएका कुराहरूलाई घमण्डका साथ भन्न सक्नुपर्छ । निराशाजनक अवस्था छैन । काम गर्दै जाँदा केही कमीकमजोरी पनि भएका छन् । त्यसलाई हामीले सिकाइका रुपमा लिएका छौँ । आगामी डेढ वर्षको अवधिमा पनि धेरै काम गर्न सक्छौँ ।
प्रदेश सरकारले प्रदेशको नामाकरणसहित प्रदेशको राजधानी पनि तोक्यो‚ तर त्यसलाई कार्यान्वयन गर्न सकेन । खास समस्या के हो ?
प्रदेशसभाले समयमै प्रदेशको राजधानी तोक्यो । तर त्यो कार्यान्वयन हुन सकिरहेको छैन । यसमा प्रयाप्त छलफल हुन सकेको थिए । नौवटै जिल्लाको भूगोललाई हेरेर राजधानी तय हुनुपर्थ्यो । यस विषयमा विशाल हृदय लिएर छलफल भएन । तथापि हामीले नै पारित गरेका हौँ । यो राजनीतिक निर्णय थियो । यो चुरेको नजिकको क्षेत्र पनि हो । कुनै पनि सम्भाव्यता अध्ययन नगरेर निर्णय गर्यौँ । त्यहाँ भित्रका प्राविधिक कुराहरू अहिलेसम्म टुंग्याउन सकेका छैनौँ । तीन वर्ष पुग्दासम्म पनि राजधानीमा संरचना निर्माण गर्न सकेका छैनौँ । यसमा प्रदेश सरकार चुकेको अवस्था हो ।