देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको हो ।

पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यस्तै पार्टीबाट क-कसलाई मन्त्री बनाउने भन्नेबारे पनि छलफल हुने बुझिएको छ ।

कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा आवश्यक निर्णय हुने छ । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *