सक्षम व्यक्तिलाई नयाँ राजदूत बनाइन्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले राजदूत देशको प्रतिनिधि भएकाले विज्ञतालाई प्राथमिकता दिने बताएका छन् ।

शपथ ग्रहरण लगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहालीपछि मन्त्री खड्काले धेरै देशमा राजदूत पद खाली रहेको तर राजदूत देशको प्रतिनिधि भएकाले धेरै कुरा विचार गरेर मात्र नियुक्त गरिने बताए ।

राजदूतले सम्बन्धित देशको भाषादेखि संस्कृतिसम्म र राजनीतिदेखि कुटनीतिसम्म बुझेको हुनुपर्ने भन्दै मन्त्री खड्काले डिनर कुटनीतिसम्ममा पनि राजदूतले ध्यान दिनुपर्ने भएकाले विज्ञता महत्वपूर्ण हुने बताए । तर कतिपय अवस्थामा राजनीतिक कुरा पनि महत्वपूर्ण हुने भएकाले राजदूतले महत्वपूर्ण भेटघाटको समय पनि मिलाउन सक्नुपर्ने भएकाले त्यस्तो बेलामा राजनीतिक पक्ष पनि महत्वपूर्ण हुने उनले बताए ।

मन्त्री खड्काले परराष्ट्र नीति कुनै एक दलको मात्र नहुने बताएका छन् । परराष्ट्र नीति कुनै एकदलको मात्र नभएर सिङ्गो देशको हुने भएकाले आफू सबै दलसँगको परामर्शमा अघि बढ्ने बताए ।

अहिले विश्वमा विभिन्न गठबन्धनहरू बनिरहेको र तिनीहरूमा नेपालको संलग्नताबारे सुझबुझपूर्ण निर्णय गरिने उनको भनाइ छ । देशको हित, राष्ट्रिय स्वाभिमान मित्रराष्ट्रहरूसँगको सम्बन्धलगायत विषयमा कुनै सम्झौता नगरिने उनको भनाइ छ ।

आफ्नो अमेरिका भ्रमणमा एमसीसी प्राथमिकतामा नरहेको र संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुमात्र अहिलेको प्राथमिकतामा रहेको मन्त्री खड्काले बताए । महासभामा दक्षिण एसियाका साथै अरु देशका परराष्ट्र मन्त्रीहरूसँग पनि छलफल हुने र साईडलाईन बैठकहरूमा पनि आपसी हितका विषयमा कुरा गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *