ललिता निवास प्रकरणमा आफूमाथि अन्याय भएको गच्छदारको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफूलाई अन्याय भएको दाबी गरेका छन् । काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरी गच्छदारले ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गर्दै यसबारे सत्यतथ्य कुरा बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरे ।

उनले तत्कालीन सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणीमात्र अघि बढाएको भन्दै उनले मन्त्रिपरिषद्‌बाट सर्वसम्मत निर्णय भएको विषयमा आफूलाई मात्र दोषी भनेर मुद्दा चलाउनु गलत भएको दाबी गरे ।

‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त फाईल अघि बढेको हो र आफूले टिप्पणीमात्र पेश गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, गच्छदारले दाबी गरे, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्‍याउने उद्देश्य मेरो नभएकाले सरकारको गुरुयोजना पेश गर्नु भ्रष्टाचार हुनै सक्दैन ।’

आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको उनको जिकीर थियो । सबैलाई मुद्दा नचलाइएको र राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको पनि गच्छदारले दाबी गरे ।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै ‘फरार’  रहेका गच्छदार वर्तमान सरकार बनेलगत्तै विशेष अदालतमा उपस्थित भएका थिए । विशेष अदालतले उनलाई धरौटीमा रिहा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *