महन्थ ठाकुर भन्छन्ः

‘संविधान त्रुटिपूर्ण हुँदा राजनीतिक अस्थिरता बढ्यो’

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेको बताएका छन् । सोमबार (आज) जनकपुरमा आयोजित जितिया पर्वको महत्त्व विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

संविधान त्रुटिपूर्ण हुँदा राजनीतिक अस्थिरता बढेको अध्यक्ष ठाकुरको भनाइ थियो । ‘यहाँ संविधानमै त्रुटि छ,’ अध्यक्ष ठाकुरले भने, ‘यसकै कारण राजनीतिक अस्थिरता बढ्यो ।’

देशमा राजनीतिक अस्थिरता रहे पनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएकोसमेत अध्यक्ष ठाकुरले जानकारी दिए ।

अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताए । ‘नयाँ संविधानले अन्तरिम संविधानले दिएको अधिकारसमेत खोस्यो, त्यसैले यसको संशोधन हुनैपर्छ भन्नेमा मेरो पार्टी छ,’ अध्यक्ष ठाकुरले भनेका छन् ।

लोसपालगायतका मधेशकेन्द्रित दलहरूले संविधान संशोधनको आवाज उठाउँदै आएका छन् । नयाँ संविधानले मधेशका अधिकाहरूलाई कटौती गरेको उनीहरूको भनाइ रहँदै आएको छ । यसपछि उनीहरूले संविधानलाई दिवस असोज ३ लाई कालो दिनका रूपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *