कांग्रेसलाई एक कार्यकर्ताको चिठ्ठी- हाम्रो पार्टी अरूभन्दा राम्रो बनाउने कसरी ?
मुलुकको जेठो पार्टी अहिले ‘वृद्धहरूको पार्टी’ बन्न पुगेको छ । बिपी कोइरालासहित त्यो बेलाका केही युगपुरुषले निर्माण गरेको कांग्रेस र यसका कार्यकर्ता आजको दिनसम्ममा आइपुग्दा कहाँ छौँ, मैले भनिरहनुपर्दैन । म यो पत्र पार्टी प्रवक्तामार्फत पार्टी नेतृत्वसम्मको ध्यानाकर्षण गराउन लेख्दै छु ।
आदरणीय पार्टी प्रवक्ताज्यू,
हामी कांग्रेसीहरू हरेक दिन बिपी कोइरालालाई सम्झिरहेका हुन्छौँ । हाम्रो प्रत्येक मन्तव्यमा बिपीको नाम आउँछ । किनभने त्यो बेलाका बिपी युगपुरुष थिए । दुर्भाग्यवश ! उहाँले आफूले पाएको जनमतको सदुपयोग गर्न पाउनुभएन । थप केही दशक देश बिपीको मार्गचित्रमा हिँड्न पाएको भए आज हामी यो अवस्थामा हुने थिएनौँ होला । संसारमा खुसी जनताको कति औँ नम्बरमा नेपाली पर्थे होला ? नेपाल विकासको माथिल्लो तहमा हुन्थ्यो होला । आज हाम्रो देशमा यति धेरै पार्टी पनि हुने थिएनन् होला । न जनयुद्ध न त धनयुद्ध नै हुन्थ्यो होला ।
नेपाली कांग्रेसलाई वृद्धहरूको पार्टीबाट युवाहरूको पार्टी कसरी बनाउने ? बा-आमाको सम्मान र युवाको आशा अनि बालबालिकाको भविष्यको पार्टी कसरी बनाउन सकिन्छ भन्नेबारे सोच्न जरुरी छ ।
तर अब पछाडि फर्केर पुर्पुरोमा हात राखेर पछुताउनुको अर्थ छैन । हामीले आगामी दिनमा नेपाली कांग्रेसलाई कहिले समृद्ध बनाएर देशलाई समृद्ध बनाउने भन्ने योजना बनाउन जरुरी छ । न कि‚ को सभापति वा महामन्त्री बन्ने भन्ने कुरा मात्र । अहिलेको नयाँ पुस्ताले बिपी कोइरालालाई धेरैले नचिन्ने अवस्था बन्दै छ । राजनीतिमा आएको तिक्तता, अविश्वास, नेतृत्वको आपसी झै-झगडा, खिचातानी, सत्ताको दुरुपयोग, लाञ्छना, अपशब्द, गालीगलौज, नातावादलगायतले गर्दा राजनीतिप्रति जनताको चासो घट्दो छ । बिपी साहित्यकार पनि थिए । उनका कृतिहरू अहिले पनि उत्तिकै लोकप्रिय र सही लाग्छन् । हामीले बिपीको भजन धेरै गायौँ । तर उनको बाटोमा हिँडेनौँ । उनले देखेको सपना पूरा गर्न हाम्रा पाइलाहरू तय गरेनौँ । जसले गर्दा बिपी हाम्रा लागि फगत एक पोस्टर बन्न पुगे ।
अब हामीले कहिलेसम्म बिपीका भजन गाएर नयाँ पीढीलाई आकर्षित गर्ने सपना देख्ने ? बिपीको भौतिक शरीर हामीसँग नभए पनि उहाँका विचारहरू नेपाली कांग्रेसजनका लागि अजम्बरी छन् । तर तिनको कार्यान्वयन नगर्दा ती फगत अक्षरमात्र बनेर कतै रहनेछन् । त्यसैले अब आउने दिनमा हाम्रो पार्टीको घोषणापत्र युवा लक्षित हुनुपर्दछ । नेपाली कांग्रेसलाई वृद्धहरूको पार्टीबाट युवाहरूको पार्टी कसरी बनाउने ? बा-आमाको सम्मान र युवाको आशा अनि बालबालिकाको भविष्यको पार्टी कसरी बनाउन सकिन्छ भन्नेबारे सोच्न जरुरी छ ।
आदरणीय प्रवक्ताज्यू !
हामी आगामी निर्वाचनलाई ध्यानमा राखेर हाम्रो नीति तथा कार्यक्रममा बालबालिका भत्ताको घोषणा गरौँ । हाम्रो सरकार भएको बेला यो घोषणा तुरुन्तै लागू गरौँ । नेपालको कानूनमा १८ वर्षभन्दा मुनिकालाई बालबालिका भनिन्छ । बच्चा जन्मेपछि जुन अस्पतालले प्रमाण पत्र दिन्छ‚ त्यसलाई नै आधार मानेर आठ अङ्कको डिजिटल नम्बरबाट निजको विवरण राखेर त्यसको माध्यमबाट उसलाई पछि नागरिकता दिनेदेखि सबै प्रकारका परिचय पत्र बनाउन मिल्ने गरी बैङ्क खाता खोल्ने प्रावधान बनाऔँ । जस्तो २०७७।११।१२ गते जन्मिने बच्चाका लागि ‘१२११२०७७……’ बाट सुरु गरेर कम्प्युटर प्रणालीमार्फत सुरक्षित राखौँ । १८ वर्षभन्दा मुनिका बालबालिकालाई देशको अर्थतन्त्रलाई मध्यनजर गरेर महिनाको सकिन्छ एक हजार‚ सकिँदैन ५०० रुपैयाँको व्यवस्था गरौँ ।
हामीले शिक्षा र स्वास्थ्यलाई मात्र केन्द्रमा काम गर्ने हो भने कांग्रेसलाई कसैले हल्लाउन सक्दैन । शिक्षा र स्वास्थ्य देशैभरि सर्वसुलभ, सबै नागरिकको पहुँचमा भएमा यहाँ भ्रष्टाचार आफैँ न्यून हुन्छ ।
आदरणीय प्रवक्ताज्यू ! भाषणमा हामी अरूलाई गाली गरेर समय खेर नफालौँ । हामीले गरेका काम र योजनाहरू आगामी दिनहरूमा कामको सूची बनाएर आम जनताका माझ प्रस्ट पारौँ । आफ्नो निर्वाचन अवधिभित्र गर्न सक्ने काम मात्र भाषणमा केन्द्रित गरौँ । ठूला सपना, असम्भव योजना तथा नीतिमा जनतालाई भ्रममा नपारौँ । यसको उदाहरण दिन म यहाँ जरुरी ठान्दिनँ‚ किनभने यो सबैले बुझेका छन् । हामीले शिक्षा र स्वास्थ्यलाई मात्र केन्द्रमा काम गर्ने हो भने कांग्रेसलाई कसैले हल्लाउन सक्दैन । शिक्षा र स्वास्थ्य देशैभरि सर्वसुलभ, सबै नागरिकको पहुँचमा भएमा यहाँ भ्रष्टाचार आफैँ न्यून हुन्छ । आफ्ना बालबालिकालाई उचित शिक्षा दिन र रोग लागेमा उपचार गर्न नपाई अकालमा मर्नुपर्छ भन्ने नेपाली समाजमा व्याप्त मनस्थितिलाई परास्त गर्न देशैभरि एउटै पाठ्यक्रम लागू गरेर शिक्षा प्रदान गर्नु र उचित उपकरणसहितको स्वास्थ्यकर्मी खटाएर अस्पतालको निरन्तर विकास गर्नु हाम्रो प्राथमिकता हुनुपर्दछ ।
मङ्सिर मा हाम्रो पार्टीको केन्द्रीय अधिवेशन हुँदै छ । महाअधिवेशन समयमा नभएर पार्टी नेतृत्वले त बदनामी कमायो‚ कमायो हामी तल्ला तहमा बसेर अध्ययन गरेर बस्ने कार्यकर्ताले पनि चिया पसलमा होस्‚ या चौबाटोमा होस् पार्टीको रक्षा गर्ने आधार पनि गुमायौँ । त्यसैले केन्द्रको राजनीतिले तल्लो तहमा तरङ्ग फैलाउन पनि हामीले सक्ने वातावरण बनाउनेबारे सोचियोस् । कुनै अर्को दलको मान्छेसँग हाम्रो पार्टी राम्रो भन्न सक्ने अवस्था बनाइयोस् ।
पार्टीमा योगदान गरेका मान्छेहरूलाई पार्टीले पनि चिन्न सक्नुपर्दछ । इच्छुक, लगनशील, पारदर्शी विचार भएका मानिसलाई सङ्गठनमा राखौँ । वडादेखि केन्द्रसम्म कार्यसमितिलाई प्रभावकारी र रहरलाग्दो बनाऊँ । शुभेच्छुक संस्था, भ्रातृसंगठन, जनसम्पर्क समितिलगायत सबैलाई तोकिएको अवधिभित्र अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरौँ । समयमा अधिवेशन गर्न नसक्ने समितिलाई स्वतः खारेज हुने व्यवस्था गरौँ ।
पार्टीको स्तर र उन्नतिको लागि काङ्ग्रेसबाट निर्वाचित हुने सबै पदाधिकारीबाट निजले पाउने पारिश्रमिकबाट १० प्रतिशत स्वतः रकम पार्टीको खातामा आउने व्यवस्था गरौँ । सबै क्रियाशील सदस्यदेखि लिएर निर्वाचित पदाधिकारीबाट सानो रकम पार्टीलाई लेबीको रूपमा व्यवस्था गरौँ । पार्टीप्रति आस्था राख्ने सबै व्यापारी, ठेकेदार, विदेशस्थित जनसम्पर्क समितिबाट रकम उठाउने व्यवस्था गरौँ । यसो गरेर पार्टीलाई आर्थिक रूपमा दृढ बनाएर देशैभरि उचित कर्मचारीको नियुक्ति गरेर पार्टीका काम कारबाही आगामी दिनहरूमा गर्ने कामको सूची, नीति नियम बनाएर पारदर्शी बनाऔँ । हाम्रो पार्टीमा लागेर अमूल्य समय व्यतीत गरेका वृद्धवृद्धाहरूका लागि कांग्रेस पार्टीको तर्फबाट वृद्ध भत्ताको व्यवस्था गरौँ‚ जसले गर्दा उहाँहरूलाई पनि सुखी बनाउन सकिन्छ । उहाँहरूले मर्ने बेलामा पनि आफ्ना सन्तान र पीढीहरूलाई पार्टीको बारेमा मार्गदर्शन, अर्ति उपदेश दिनुहुनेछ । यो कुरा भन्दा अचम्म लाग्नेजस्तो देखिन्छ‚ तर गरेर देखाए अरू पार्टीको लागि मार्ग निर्देशन पनि हुन सक्दछ र हाम्रा लागि गौरवको विषय हुन सक्छ ।
पार्टीमा योगदान गरेका मान्छेहरूलाई पार्टीले पनि चिन्न सक्नुपर्दछ । इच्छुक, लगनशील, पारदर्शी विचार भएका मानिसलाई सङ्गठनमा राखौँ । वडादेखि केन्द्रसम्म कार्यसमितिलाई प्रभावकारी र रहरलाग्दो बनाऊँ ।
हाम्रो पार्टी प्रजातान्त्रिक विचार धारामा मान्यता राख्ने भएकाले हामीप्रति आस्था राख्ने, हाम्रो मूल्य मान्यतालाई आत्मसात् गर्ने सम्पूर्ण कांग्रेसजनहरूलाई न्याय दिनु हाम्रो उत्तरदायित्व हुन्छ । न्याय दिन सकिएन भने पार्टीमा दरार आउनु स्वाभाविक मानिन्छ । उदाहरणका रूपमा २०४८ सालमा कांग्रेसले बहुमतसहितको सरकार निर्माण गर्यो । उचित र राम्रो काम गर्न नसकेकाले पार्टी पराजित भयो । पहिले कम्युनिस्टहरू थिएनन् । हामीले हाम्रै कारण देश र जनताबाट पाएको अभिमतलाई उचित तरिकाले चलाउन नसकेर आज हामी यो गतिमा छौँ । यो कुरा कांग्रेसीले बुझ्न जरुरी छ । पार्टीमा आउने जो कोहीलाई पार्टी प्रवेश नगराऔँ । निश्चित मापदण्ड बनाएर पार्टीमा प्रवेश गरौँ । जसले गर्दा पार्टीको जग बलियो हुन्छ । जबसम्म हाम्रोलाई होइन, राम्रोलाई पार्टीको साथ दिइँदैन, तबसम्म समृद्ध कांग्रेस, सबै अट्ने कांग्रेस नारामा मात्र सीमित हुन्छ । हरेक नारालाई व्यवहारमा परिणत गरौँ‚ नत्र हामी जति चिच्याए पनि केही हुनेवाला छैन । पार्टीमा अतुलनीय योगदान गरेका पूराना नेतागणहरुलाई पार्टीमा अन्याय परेका सबैलाई उचित तरिकाले नियालेर निजहरूका सन्तानलाई हाम्रो पहुँच भएको मुलुकमा वा राजदूतावासमार्फत पढ्ने व्यवस्था गरौँ । हामी सरकारमा हुँदा गर्नुपर्ने धेरै कामहरू छन् । चुनाव आउँदै छ, अब मीठा भाषणले होइन‚ कर्मले मात्र हाम्रो जीत सुनिश्चित छ ।
काम गर्न सक्ने भिजन भएका मान्छेलाई सरकारमा लगेर देश विकास गरौँ । सरकारमा हुँदा हामीले गरेका कामहरू सम्बन्धित जिल्ला कार्य समितिबाट सम्बन्धित ठाउँका बासिन्दासम्म पुर्याउने काम पार्टी पङ्क्तिमा रहेका सबै साथीहरूलाई जिम्मा दिऊँ‚ यसलाई अनिवार्य कार्य सूचीमा राखौँ । हरेक चिया पसलमा हुने कुरा, उठ्ने प्रश्नहरूबारे ध्यान दिऊँ तिनको सम्बोधन गरौँ । सम्बन्धित निकायसम्म पुर्याऔँ । सकेसम्म नागरिकका समस्या समाधान गर्ने टोलीका रूपमा गाउँ गाउँमा कांग्रेसका भातृसंगठनलाई परिचालन गराऊँ । यसबाट पार्टीलाई नै फाइदा हुन्छ । घोषणापत्र बनाउँदा सबै क्षेत्रका विज्ञहरूलाई बोलाएर उहाँहरूको राय, सुझाव, सल्लाहलाई लिएर सम्भावित योजनालाई मात्र समेटेर घोषणापत्र जारी गरौँ ।
समग्रमा प्रवक्ता ज्यूमार्फत आम कांग्रेसीलगायत नेतृत्व पङ्क्तिलाई सजग गराउन तपाईँ हामी सबैको सहयोग चाहिन्छ । आगामी महाधिवेशनमा सबल नेतृत्व छानौँ । तपाईँजस्ता युवाहरूको हस्तक्षेपकारी उम्मेदवारीको सराहना गर्छु र जीतको शुभकामना पनि दिन चाहन्छु ।
धन्यवाद, जय नेपाल ।