सत्ता गठबन्धनकै विद्यार्थीले पुत्ला जलाउँदा गाह्रो भयो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी प्रकरणमा सत्तारुढ गठबन्धन दलका विद्यार्थीले नै आफ्नो पुत्ला जलाएकोमा आपत्ति जनाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले घटनाको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाए पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला जलाएको भन्दै आपत्ति जनाएका हुन् ।

‘१५ साउनमा जयसिंह धामी तुइन तर्दा भएको प्रकरणमा हामीले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अध्ययनपछि राम्रै प्रतिवेदन बनाउनुभएको छ । त्यो प्रतिवेदन गृहबाट परराष्ट्र हुँदै कुटनीतिक नोटमार्फत भारतसम्म पुगिसकेको छ । मलाई लाग्छ प्रतिवेदनमा जे उल्लेख हुनुपर्ने हो‚ त्यो सबै विषयवस्तु उल्लेख भएको छ,’ गृहमन्त्री खाणले भने, ‘तर सत्तारुढ दलकै विद्यार्थीहरूले सम्पर्क र समन्वयबिना पुत्ला जलाउँदा अलि गाह्रो भयो । यस्ता विषयमा मसँग सम्पर्क र समन्वय गर्दा उपयुक्त हुन्थ्यो के भएको हो जानकारी मैले दिइहाल्थे ।’

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले गृहमन्त्रालय पुगेर गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझएको थियो । ज्ञापनपत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *