देश बचाउन कांग्रेस रोजेको हुँ- कन्हैया कुमार

भारतका चर्चित युवा नेताहरू कन्हैया र जिग्नेश कांग्रेस प्रवेश

एजेन्सी । भारतीय राजनीतिका चर्चित युवा नेता कन्हैया कुमार र जिग्नेश मेवानी भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन् । जिग्नेश गुजरातका विधानसभा सदस्य हुन् । कन्हैया भने चुनाबमा पराजित भएका थिए । उनी कम्युनिष्ट पार्टी अफ इन्डिया सीपीआईमा आवद्ध थिए ।

केहीदिन देखिको चर्चाकाबीच मंगलबार दिल्लीमा आयोजित कार्यक्रममा उनीहरूलाई कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले पार्टी प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा कंग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कंग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेललगायत सहभागी थिए।

कांग्रेसको सदस्यता लिंदै कन्हैयाले आफू देश बचाउनका लागि कांग्रेसमा आवद्ध भएको र महात्मा गान्धी तथा भगत सिंहको सपनालाई कांग्रेसले मात्र बचाउन सक्ने जिकिर पनि गरे ।

कार्यक्रममा कांग्रेसका महासचिव भेनुगोपालले भने ‘कन्हैया कुमार यो देशमा अभिव्यक्ति स्वतन्त्रताको लागि लड्ने प्रतीक हुन्। उनी विद्यार्थी नेता भएर कट्टरपन्थीवादविरूद्ध लडेका छन्, उनीजस्तो गतिशील व्यक्तित्व कंग्रेसमा जोडिँदा कार्यकर्ताहरू जोशिनेछन्।’

कन्हैया जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष र चर्चित नेता समेत हुन् ।

जिग्नेश सन् २०१७ मा भएको विधानसभा चुनावमा स्वतन्त्र उम्मेद्वारी दिँदै गुजरातको भादगामबाट जितेका थिए। त्यो क्षेत्रमा भारतीय कांग्रेसले कुनै उम्मेदवार उठाएको थिएन ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *