चुम्चेतको चुमलिङमा हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याइयो

काठमाडौं ।

गत भदौ दुई गतेबाट लोप्ता र सर्दी भिरमा गएको पहिरो अहिलेसम्म नरोकिँदा खाद्यान्न अभाव भएको गोरखाको चुमनुबरी गाउँपालिका वडा नम्बर ६ चुम्चेतको चुमलिङमा आज सेनाको हेलिकप्टरबाट खाद्यान्न पुर्‍याइएको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार मङ्गलवार सेनाको हेलिकोप्टरले दुई पटक गरी तीन हजार चार सय २० किलोग्राम खाद्यान्न पुर्‍याएको छ ।

‘आज सेनाको हेलिकोप्टरले दुई पटक गरी तीन हजार चार सय २० किलोग्राम चामल चुमनुबरी गाउँपालिका वडा नम्बर ६ चुम्चेतको चुमलिङमा पुर्‍याएको छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

गत शुक्रवार गृहमन्त्री बालकृष्ण खाँण चुम्चेतमा पुगेको बेलामा स्थानीयले आफूहरूलाई खाद्यान्न समस्या भएको बताएका थिए । स्थानीयको तर्फबाट गृहमन्त्री खाँणलाई ज्ञापन पत्र पनि बुझाइएको थियो । त्यसपछि मन्त्री खाँणले सँगै गएका मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई खाद्यान्नको व्यवस्थाको पहल गर्न निर्देशन दिएका थिए ।

खाद्यान्न ओसार्दै सेनाका जवान

प्रवक्ता पोखरेलको पहलमा गोरखा सदरमुकामबाट मङ्गलवार सोही मात्रामा खाद्यान्न त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । स्थानीयले गृहमन्त्रीसँग सड्क खुलाउन, टेलिफोनको टावर बनिसकेकाले सञ्चालनमा ल्याउन पनि माग गरेका थिए ।

यी माग पूरा गर्न पहल भइरहेको मन्त्रालयका प्रवक्ता पोखरेलले बताए। लोप्ता र सर्दी भिरमा अहिलेसम्म सुख्खा पहिरो खसिरहेकाले स्थानीय पैदल पनि आवत जावत गर्न सक्ने अवस्था नरहेको आचार्यले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *