एमालेको विधान महाधिवेशन आजदेखि

काठमाडाैँ । नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरू गर्ने भएको छ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेले सबैभन्दा ठूलो अधिवेशन सुरू गर्ने भएको हाे ।

अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने छ । महाधिवेशनले ‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशा तय गर्नुका साथै पार्टीको विधान र सांगठनिक संरचनाबारे निर्णय गर्नेछ ।

को-को छन् प्रतिनिधि ?

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिले प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको जनाएको छ ।

समितिका संयोजक रामबहादुर थापा ‘बादल’का अनुसार विधान महाधिवेशनमा विभिन्न कमिटीबाट प्रतिनिधित्व रहेको छ । जसमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु, प्रदेश कमिटीका सबै सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधिहरु सहभागी हुनेछन् ।

त्यसैगरी पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदहरु, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुखहरु, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरु रहेका छन् ।

जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधिहरु, भारतलगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्यहरु पनि प्रतिनिधि छन् ।

महाधिवेशनमा अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । प्रस्तावमाथि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *