न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणका लागि (आइपिओ) निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन तथा विक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

निष्कासन गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा सर्वसाधारणले असोज १५ गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि नै भदौ १ गतेदेखि संस्थापक सेयरधनीहरू तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि बिक्री खुल्ला गरेको थियो । लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीहरुले यही भदौ १५ गतेसम्म आवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *