शुद्र शम्बुक

इतिहासको ऐना अगाडि उभिएर
पहिल्याउन खोज्दा आफ्नै अनुहार
उभिएको देख्छु
एक शिरविहिन आकृति
र देख्छु
तरवारमा टल्किएको
तिम्रो अनुहार
हो ! राम‚
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछुत ।

मानव वंशवृक्षमा
एउटा अनुहार तिमी
मानव वंशवृक्षकै
एउटा अनुहार म पनि
हेर त‚
उस्तै लाम्चो नाक
उस्तै उस्तै आँखा
आँखामा उस्तै सपना
अनि उस्तै उस्तै बुनोट
आखिर किन
वेद पढ्न हुँदैन शुद्रले
आखिर किन
वेद सुन्न हुँदैन शुद्रले
आखिर किन
जीवन हुँदैन शुद्रको
हो ! राम‚
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछुत ।

गुरु द्रोणाचार्यको कमण्डलुको पिँधबाट
तप तप तप्किरहेको
एकलव्यको आलो रगतले
आखिर कहिलेसम्म
गाइरहन सक्छ
गुरुभक्तिको गीत
आखिर कहिलेसम्म
औँला रेटिरहन्छन् एकलव्यहरू
र प्रथम घोषित भइरहन्छन्
अर्जुनहरू
हो ! राम‚
म उही शुद्र शम्बुक
नियाली रहेछु
मेरा पुर्खाका मलीन अनुहारहरू

वेदमा बयान गरिएझैँ
झुट नै सही
मानौँ
तिम्रा पुर्खाहरू
काँधबाटै जन्मिएछन् रे
मेरा पुर्खाहरू
पाउबाटै जन्मिएछन् रे
तर अफसोच
तिम्री आमा र मेरी आमाको
उस्तै अङ्गबाट जन्मिएका हामी
आखिर किन
तिमी जस्तै म अछुत
र मजस्तै तिमी छुत
हो ! राम‚
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछुत ।

  • बिनाबीको कविता संग्रह ‘यादहरूको संग्रहालय’ आज विमोचन हुँदैछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *