७० वर्षे उमेर हदमा भीम रावल पक्षको असन्तुष्टि

काठमाडौँ । पार्टीले ७० वर्षे उमेर हद यथावत् राखेपछि नेकपा एमाले उपाध्यक्ष डा. भीम रावल पक्षले असन्तुष्टि जनाएको छ । रावल नजिक मानिएका नेता तथा सांसद झपट रावलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।

विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने विषयले प्रवेश पाए पनि ७० वर्षे उमेर हद कायमै राखिने प्रस्ताव गरिएको हो । केही केन्द्रीय सदस्यले ७० वर्षे उमेर हद हटाउन माग गरेका थिए तर, उनीहरूको मागलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकृत गरेका छन् ।

यही विषयमा नेता रावलले सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञान अब्बल हुने तर्क गरेका हुन् । ‘सक्रिय, समयको बोध भएको अनुभवी व्यक्तिले झन् प्रभावकारी नेतृत्व प्रदान गर्न सक्छ,’ उनले भनेका छन्, ‘सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञान अब्बल हुन्छ । उमेर बढी हुनु भनेको बुढो हुनु मात्रै होइन, अनुभवी हुनु पनि हो, अनुभवीले दबाब र प्रभावमा होइन ठोस आवश्यकता लाई ख्याल गरेर निर्णय लिन सक्छ ।’

उमेरलाई कमजोरी मान्नु वैज्ञानिक कुरा नभएको भन्दै उनले क्रियाशीलतामा मापन गर्नु पर्नेमा जोड्दिए । ‘पदाधिकारीलाई जुन पदमा भए पनि दुई कार्यकाल भन्दा बढी जिम्मेवारी नदिने हो भने उमेरको कुरा प्रमुख हुँदैन । प्रतिस्पर्धालाई जीवन्त बनाउने हो भने भोटो फटाएका आधारमा नेतृत्वमा जाने चलन पनि हट्छ,’ उनले भने, ‘नेतृत्व भनेको सक्रियताको प्रभावकारी ऊर्जा हो । ऊर्जावान्हरू स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छन् । प्रतिस्पर्धाले नेतृत्व खारिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *