लगातार चौथो हारसँगै बाहिरियो विराटनगर

काठमाडौँ । विराटनगर वारियर्स चौथो एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शनिवार (आज) लगातार चौथो हार भोगेसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो । आजको खेलमा विराटनगर पोखरा राइनोजसँग ७ विकेटले पराजित भयो ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएपनि जोगाउन सकेन । विराटनगरका ओपनर आसिफ शेखले ३३ बलमा सर्वाधिक ४४ रन बनाए, त्यस्तै सन्दीप रजालीले २८ र कप्तान करण केसीले २४ रन बनाए । पोखराका विक्रम सोबले २ विकेट लिए भने विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक-एक विकेट लिए ।

१ सय ७३ रनको लक्ष्य पोखराले १७ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पोखराका लागि असेला गुणरत्ने २४ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाए । त्यस्तै ओपनर रिचार्ड लेभीले ४७ रन बनाए भने साहन आर्चाचिगेले ४३ रन बनाए ।

जितसँगै पोखराको प्ले अफ संभावना बलियो बनाएको छ ।

विराटनगर यसअघि चितवन टाइगर्ससँग २ विकेट,  भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेट र ललितपुरसँग ३७ रनले पराजित भएको थियो । पोखराले पहिलो खेल भैहरवासँग वर्षाको कारण अंक बाँडेको थियो भने दोस्रो खेलमा ललितपुरलाई ९ विकेटले पराजित गरेको थियो त्यस्तै तेस्रो खेलमा चितवनसँग ९ विकेटले पराजित भएको उसले चौंथो खेलमा विराटनगरलाई हराउँदै प्लेअफको आशा कायम राख्यो । उसको लिगमा ५ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *