एनआरएन चुनावमा समन्वय गर्न कांग्रेसद्वारा आठ नेतालाई जिम्मेवारी 

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशाैँ महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार विभिन्न पाँच वटा क्षेत्रमा ती नेताहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेश स्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई नेताहरुको नामावलीसहितको सूचीसहित पत्राचार गरेका छन् । जनसम्पर्क समितिहरुलाई पठाइएको पत्र अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई कांग्रेसको जनसम्पर्क समिति विभाग प्रमुख पनि हुन् ।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदै छ । महाधिवेशन अगावै सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचन हुने छ । कांग्रेसले यसअघि नै संघको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ ।

पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ । आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्यको टिमबाट डा. केशव पौडेल महासचिव पदमा उम्मेदवार रहने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *