फलामे छडको मूल्य किलोमा ४ रुपैयाँ सस्तो हुने
काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले स्पञ्ज आइरनमा भन्सार छुट र स्थानीय फलामे उत्पादनमा अन्तशुल्क छुट दिने नेपाल सरकारले गरी नीतिगत व्यवस्थाको स्वागत गरेका छन् । संघले विज्ञप्ती जारी गरेर प्रतिस्थापन बजेटमार्फत सरकारले गरेको उक्त व्यवस्थाको स्वागत गरेको हो ।
उक्त कर छुटको व्यवस्थाले नेपालमा उत्पादन हुने फलामे छड तथा फलामे उत्पादनको मूल्य प्रतिकिलो ४ रुपैयाँले सस्तो पर्न जाने संघका अध्यक्ष शाहिल अग्रवालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ स्पञ्ज आइरन र विलेटको मूल्य १२ प्रतिशतसम्म वृद्धि हुँदा पनि सरकारले दिएको छुटका कारण नेपालमा उत्पादन हुने विलेटबाट बन्ने फलामे छडको मूल्य घटाउन सकिने भएको संघले जनाएको छ ।
संघले आफू अन्तर्गतका उद्योगहरुलाई नेपालमा उत्पादन गरिने बिलेटबाट बन्ने फलामे छडको मूल्यमा प्रतिकिलो ४ रुपैयाँले घटाएर बिक्री गर्न समेत उद्योगीहरुलाई आह्वान गरेको छ ।