बिग्रिएकाहरू बाहिरिए, सप्रिएकाहरू यहीँ छन् : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिग्रिएकाहरू बाहिरिएको बताएका छन् । शुक्रबार ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको पहिलो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । ‘यो पार्टी काम लाग्दैन भनेर केहीले नयाँ पार्टी दर्ता गरेका छन्,’ ओलीले भने, ‘यसलाई सक्नपर्छ र नयाँ बनाउन पर्छ भनिएको छ । कतिपय कारणले अलमलमा परेका भ्रममा परेका तानेर लगिएकालाई फर्काउन हामी पनि प्रयास गर्छौँ । तपाईंहरू स्पष्ट हुनुस् । बिग्रिएकाहरू गएका हुन्, सप्रिएकाहरू यहीँ छन् ।’

पार्टीबाट बाहिरिएका नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूतर्फ लक्षित गर्दै ओलीले सप्रिएकाहरू पार्टीमै रहेको बताएका हुन् ।

ओलीले आफ्नो सरकारका पालामा ओम्नी प्रकरणलाई उछालेर बदनाम गर्न खोजिएको आरोपसमेत लगाए । ‘त्यस्तो महामारीमा स्वास्थ्य सामग्री ल्याइयो । अनि भन्छन् ओम्नी ओम्नी,’ ओलीले भने, ‘मैले पटक पटक अख्तियारलाई छानबिन गर्नुस् भनेको हो । तर जनतासामु हामीलाई बदनामी गर्न खोजियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *