नेपाल र श्रीलंका ६ वर्ष पछि खेल्दै, सधैँ कडा टक्कर

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (सोमबार) राती श्रीलंकासँग खेल्दै छ । खेल माल्दिभ्सको मालेमा नेपाली समय अनुसार राती ९ः१५ बजे शुरू हुनेछ । प्रतियोगितामा घरेलु टोलीमाथि १-० को जित निकाल्दै आफूलाई बलियो देखाएको नेपालका लागि श्रीलंकासँगको खेल पनि निकै महत्त्वपूर्ण छ ।

किनभने आजको खेल जिते नेपालको फाइनल यात्रा सहज हुनेछ । नेपाल साफ च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनल भन्दा अघि पुग्न सकेको छैन ।नेपाल र श्रीलंकाले पछिल्लो पटक सन् २०१६  को जनवरीमा बंगबन्धु गोल्डकपमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल १-० ले विजयी भएको थियो ।

उक्त खेलमा विमल घर्तिमगरले गोल गरेका थिए । त्यसअघि भएको साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १-० ले पराजित भएको थियो । समग्रमा नेपालले श्रीलंकासँग १७ पटक प्रतिस्पर्धा गरेकोमा नेपाल ३ खेलमा विजयी हुँदा ६ खेल हारेको छ ।

८ खेल भने बराबरीमा सकिएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकासँगको खेल निकै महत्त्वपूर्ण भएको भन्दै नेपाल जितका लागि सचेत भएर खेल्ने र जित निकाल्ने बताएका छन् ।

श्रीलंका खेलाडीले गम्भीर ट्याकल गर्न सक्ने भएकाले उनीहरूले रातो कार्ड पाउन सक्ने हुँदा त्यसलाई पनि नेपालले रणनीतिका रूपमा लिने उनको भनाइ छ ।यस्तै नेपालका कप्तान किरण चेम्जोङले श्रीलंकासँगको खेलका लागि तयार रहेको बताएका छन्।

प्रतियोगितामा श्रीलंका भने आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । त्यसैले आज श्रीलंकालाई पनि जित जरुरी छ । श्रीलंकाका प्रशिक्षक आमिर एलगिचले आफ्नो टिमको लक्ष्य प्रतियोगितामा पुनरागमन गर्ने रहेको बताए । उनले श्रीलङ्काका सामु दक्षिण एसियाली फुटबलमा हामी पनि छौँ भनेर देखाउने चुनौती रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *