ईपीएलबाट बाहिरियो काठमाडौँ, फाइनल प्रवेशका लागि पोखरा र भैरहवा खेल्ने

काठमाडौँ । भैरहवा ग्लाडिएटर्स चौथो एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबारको एलिमिनेटरमा काठमाडौँ किंग्स-११ लाई १६ रनले हराएसँगै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो । भैरहवाले अब फाइनल प्रवेशका लागि भोलि पोखरा राइनोजसँग खेल्नेछ । हारसँगै काठमाडौँ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

१ सय ८९ रनको लक्ष्य पाएको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सक्यो । काठमाडौँका लागि असान प्रियन्जनले ६८ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । यस्तै‚ जनक प्रकाशले २८ र अमित श्रेष्ठले १९ रन बनाए । भैरहवाका धम्मिकाप्रसाद, कुशल मल्ल र आरिफ सेखले दुई दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रन बनाएको खेलमा प्रदिप ऐरीले ३९, उपुल थारंगाले ३५ र कुशल मल्लले ३२ रन बनाएका थिए ।

काठमाडौँका असान प्रियन्जन र कप्तान सन्दीप लामिछानेले दुई दुई विकेट लिए ।

भैरहवा र पोखराको दोस्रो क्वालिफायर बिहीबार हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ । फाइनल पुग्ने टिमले उपाधिका लागि चितवन टाइगर्ससँग खेल्नेछ । आजै भएको खेलमा पोखरालाई हराउँदै चितवन फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *