सवारी दुर्घटनामा तीन जनाको मृत्यु
विराटनगर । सुनसरी र धनकुटामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सुनसरीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका १६ लायन्स चोकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला गाउँपालिका २ का २० वर्षीय बिबिसन बिक रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले विपरीत दिसाबाट जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका भट्टराई र बिकको उपचारको लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएका छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यस्तै धनकुटामा बसबाट खसेर एक जनाको मृत्यु भएको छ। मध्य पहाडी राजमार्ग अन्तरगत पाख्रिवास नगरपालिका ४ मा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ वर्षीय धन बहादुर पाठक रहेको प्रहरीले जनाएको छ।
भोजपुरबाट धरानतर्फ आउँदै गरेको गुडिरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भीर घाइते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।