पहिले दसैं छाउँथ्यो अहिले दसैं आउँछ मात्र

मौसममा र क्यालेन्डरमा आएको महिनौँपछिको परिवर्तनले शरदलाई निम्तो दिँदै दसैं आएको सन्देश त पहिले पनि उसैगरी दिन्थ्यो‚ जस्तो अहिले दिन्छ । दसैं पनि दसैं नै छ‚ तर खै किन हो अनुभूति पनि निकै भिन्न लाग्छन् । मौसम वा याम फेरिनु वा पात्रोको पाना पल्टिनु त उही नै हो‚ तर त्यसको आत्मानुभूति र त्यसमा आफ्नोपनको खुसीको मापन शायद समय‚ उमेर‚ परिस्थिति र परिबन्दहरूले पनि फरक पार्दो हो ।

दसैंको त्यो मज्जा बालापनमा जति शायदै कसैले लिन्छ होला । पिङको चचहुइय्य होस् वा नयाँ लुगाको मगमग बास्ना‚ अनि मिठा मिठा परिकारका बान्की । न स्कुल‚ न अभिभावकको गाली र गुनासो नै । निस्फिक्री र मनमौजी पाराले खेल्न‚ कुद्न‚ उफ्रन र रमाउन पाउने त्यो समय अब त केवल सम्झनामा मात्र छ । अहिले त यस्तो लाग्छ- अबका दसैँ क्यालेन्डरले बताएको अनि शरदले घरमै ल्याइपुर्‍याएको एक औपचारिकता मात्रै हो ।

घर-घर‚ गल्ली-गल्लीमा साथी सङ्गीसँग दसैंका विशेष कुराकानी‚ अनि कसका लुगा राम्रा र कसका घरमा पकाएको खानेकुरा मीठोमात्र होइन‚ कसको दक्षिणा धेरै भन्ने सम्मका स्वस्थ प्रतिस्पर्धाहरू हुन्थे । जुन अहिले सम्झँदा पनि मन त्यसै त्यसै पुलकित भएर आउँछ ।

पारिलो घामले सेकेको हरिय‌ै मैदानले दसैं आयो भनी दिएको पूर्व सूचनाले प्रफुल्लित बनाएको मन, हर्ष र खुसीका घाँसे मैदानमै लडीबुडी खेल्थ्यो । अनि दसैँ आयो भनी अत्यधिक खुसीले मन पुलकित हुन्थ्यो । खुल्ला आकाशमा राति लागेको टहटह जुन र टिल्पिलाएका तारासरि टलटल टल्किने शिरदेखि पाउसम्मको नयाँ पहिरनले दसैंजति प्रिय कुनै कुरा लाग्दैन थियो ।

घर-घर‚ गल्ली-गल्लीमा साथी सङ्गीसँग दसैंका विशेष कुराकानी‚ अनि कसका लुगा राम्रा र कसका घरमा पकाएको खानेकुरा मीठोमात्र होइन‚ कसको दक्षिणा धेरै भन्ने सम्मका स्वस्थ प्रतिस्पर्धाहरू हुन्थे । जुन अहिले सम्झँदा पनि मन त्यसै त्यसै पुलकित भएर आउँछ ।

रातो माटो र कमेरोले थप्ने घरको सुन्दरता अलि ठुलो भएपछि रातो माटो र कमेरो लिन साथीहरूसँग जाँदाको रमाइलो‚ अनि घर सिँगार्न लगाइने जानेसम्मको सीपको कुराले खुसीको लालीमा छर्दथ्यो । झार उखेलेर चिरिच्याँट्ट पारिएका सडक र आँगनको विशेष सरसफाइ अनि ती अनुभूति बाँड्दाका क्षणहरू साँच्चै नै प्रिय लाग्छन्‚ अहिले पनि । ती क्षणहरू सम्झँदा मात्र पनि खुसीले मनभरि वसन्त छाइदिन्छ ।

यसरी ल्याएका माटो र कमेरोले घर लिपपोत गर्दा चम्किलो देखिएको आँगनले दसैँ भित्रिसक्यो भन्ने संज्ञा दिँदा हर्षित भएका मन अचेल कालो बादलले आकाशमा बनाएका डिलसरि धमिलो भएको जस्तो लाग्छ । उहिले बेफुर्सदिलो मान्छेलाई फुर्सदिलो बनाउने समय यही दसैँ नै हुन्थ्यो । तर अचेल फुर्सद बढी भएजस्तो‚ अनि दसैँलाई नजिकबाट नियाल्ने समय नै नभए जस्तो लाग्छ । घरपरिवारको भेटघाट‚ गफगाफ अनि अनुभव साटासाट अहिले सामाजिक सञ्जालको पासोमा परेको जस्तो लाग्छ ।

समयानुकूल कुराहरू बिस्तारै परिवर्तन हुँदै जानु अनिवार्य नै होला पनि‚ तर किन किन ती पलहरू नै प्रिय लाग्छ । शायद मलाईमात्र होइन‚ धेरैलाई यस्तै हुँदो हो । किन किन अहिलेको समय निर्जन जस्तो निर्जीवजस्तो लाग्छ । हरेक कुराको महत्त्व पनि कम भएजस्तै लाग्छ ।

समयानुकूल कुराहरू बिस्तारै परिवर्तन हुँदै जानु अनिवार्य नै होला पनि‚ तर किन किन ती पलहरू नै प्रिय लाग्छ । शायद मलाईमात्र होइन‚ धेरैलाई यस्तै हुँदो हो । किन किन अहिलेको समय निर्जन जस्तो निर्जीवजस्तो लाग्छ । हरेक कुराको महत्त्व पनि कम भएजस्तै लाग्छ । सबै कुरालाई परिवर्तन गर्न मिलिरहँदा अहिलेको युग पथलाई पहिलेकै बालापनमा स्थानान्तरण गर्न सकिने भए हुन्थ्यो भन्ने जस्तो पनि लाग्छ ।

नयाँ पहिरन पहिरिएर लिङ्गे पिङ नजिकै उभिँदा मात्रै पनि दसैँ नजिकै उभिए जस्तै लाग्ने ती दिनले दसैं छायो वा छाएन, आयो वा आएन पत्तो दिन छाडे अहिले । अनुहारमा दसैं भन्ने शब्दले मात्रै पनि रौनक छाउँदैन रहेछ त्यहाँ समय परिस्थिति र परिभूषणको जरुरत पर्दोरहेछ । आवश्यकताको सम्भार गर्नमा तल्लीन जुझारु ती आमा बाले अति सीमित स्रोत साधनका बिच कति दुःखका साथ यो सब कुराको बन्दोबस्त गर्थे होलान् भन्ने सम्झँदा मात्र पनि उहाँहरूप्रति शिर निहुर्‍याएर अभिभावदन गर्न मन लाग्छ । प्रिय अभिभावकले चाड र रिवाजसँग सम्मिलित हुन सक्षम भई आफूलाई सधैँ दसैंले रङ्गाउन अब्बल हुनुभएकोमा गर्व महसुस हुन्छ ।

उही समयकाल‚ तर मितिमात्रै फरक हुँदा पनि दसैंले वर्षौँअघिदेखि फरक फरक रौनक र रमिता सिर्जना गर्‍यो । आजभोलि लाग्छ‚ दसैंमा पनि बाल्यकालमै पाएका आशीर्वादहरू पूरा गर्न भ्याईनभ्याई छ । थप आशीर्वादहरू कहिले पूरा गर्ने भन्ने ध्याउन्नमा दौडेको दौड्यै छ जिन्दगीजस्तो अनुभूति पनि हुन्छ घरीघरी त । बालापनले दसैंमनाइसक्यो भएभरका आशीर्वादलाई माथमा टपक्क टाँसेर हरदम लक्ष्य र उद्देश्यको खातिर पलपलमा दौडाइरहेछ अझै पनि । ओझेलमा परेका सपनालाई छहारी दिने प्रेरणाको समुद्घाटन गर्ने अग्रिम निर्देशन त्यहीँ दसैंले दिएथ्यो ।

त्यसैले पनि लाग्छ सबै कुराहरू पहिले नै भइसके र गइसके । अबका दिनमा उहिले शिरोपर गरेका आशीर्वादले स्थायित्व कायम गरी कर्ममा बेजोड आहुति पैदा गरोस् । त्यतिखेरको समयमा दसैं आयो भन्दै चङ्गा उडाउँदै त्यसको पछि पछि दौडिन हुरुक्क हुने बालापनले साँच्चै नै हरेक वर्षको दसैँ यस्तै हुने होला भन्ने कल्पना गराउँथ्यो तर समयको अन्तरालमा कुनै पनि कुरा स्थिर नहुने हुँदा कुनै पनि कुरा उस्तै र उत्रै नहुने रहेछ । त्यसैले पनि लाग्छ‚ उहिले दसैँ आउँथ्यो र दसैँ छाउँथ्यो‚ तर अहिलेको दसैँ आउँछमात्रै तर छाउँदैन ।

त्यतिखेरको समयमा दसैँ आयो भन्दै चङ्गा उडाउँदै त्यसको पछि पछि दौडिन हुरुक्क हुने बालापनले साँच्चै नै हरेक वर्षको दसैँ यस्तै हुने होला भन्ने कल्पना गराउँथ्यो तर समयको अन्तरालमा कुनै पनि कुरा स्थिर नहुने हुँदा कुनै पनि कुरा उस्तै र उत्रै नहुने रहेछ ।

हरेक क्षण रोदन र हाँसोलाई दृढ सङ्कल्प बनाइराख्ने एक माध्यम‚ अनि ललाट रङ्गिन गर्ने एउटा मौका‚ जहाँ केशरी, सिन्दूर, पुष्पाञ्जली र आशीर्वादको सम्मिश्रणसहित धार्मिक सहिष्णुताको एक आस्थालाई झुल्काइरहने एक भरोसा खडा गर्ने अवसर हो यो समय । घरले रूप फेर्‍यो‚ रङ्ग फेरेन, आँगनको चौडाइ हिजोभन्दा अलिक खुम्चियो‚ जहाँ फेरो कमी भयो । त्यसैले अझै सम्झनाको दसैँ बालापनको चङ्गा उडाई‚ अनि आशीर्वाद शिरोपर गर्ने अवसर नै हो । जीवनकै अहिलेसम्मको खास र ऐतिहासिक दसैँ । घर आँगनका कुना काप्चामा उज्यालो देख्दा लाग्थ्यो‚ दसैँले जमरा र रातो टीका भित्र्याइसक्यो ।

लिङ्गे पिङ नजिकै उभिँदा, हिजोकै निधारमाथि थप नयाँ सिन्दूर र केशरीले रङ्गाउँदा, हिजोको आशीर्वादसँगै जमरा कपालभरी सिउरिँदा साँच्चै नै दसैँ छाएकोमा मन आनन्दले दङ्ग पर्थ्यो । फूलपातीका दिन आँगनभरि मान्छे जम्मा हुँदा, दशमीको दिन सबैजना घरमा जम्मा हुँदा लाग्थ्यो‚ दसैँले सदासर्वदा उही रूप लिनेछ । तर समयको अन्तरालमा उमेर बढ्दै गर्दा जिम्मेवारी थप हुँदा दसैँले पनि हर्षको रूपमा ह्रास पैदा गर्ने यी दिन पनि जीवनकालको पर्याय बनाइदिने रहेछ । त्यसैले लाग्छ‚ अचेलका दसैँ छाउँदैन मात्रै‚ पटक पटक आउँछ । अनि उही अनुभूतिलाई दोहोर्‍याइदिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *