जो मासिक २५० रुपैयाँ कमाउँछन्
बारा (सिम्रौनगढ) । २०६२ सालमा नेपाल सरकारले नियुक्ति गरेको एकजना कर्मचरीको तलब २०७८ सालसम्म आउँदा कति होला ? २२ हजारदेखि माथि अर्थात्, ३० हजार, ३५ हजार वा ४० हजार भन्ने तपाईँले अड्कल गर्नुहोला । तर तपाईँले गरेको अड्कल वा अनुमान सहि सावित हुँदैन ।
सरकारी नियुक्ति लिएर पनि वर्षौँदेखि मासिक २५० रुपैयाँमा काम गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न पनि सक्छ । सरकारी नियुक्ति पाएका तर तलब नै नलिनेहरू पनि पाइएको छ । मठ मन्दिर तथा पुरातात्त्विक स्थलमा काम गर्दै आएका पुजादेखि मालीसम्मले मासिक तलबको नामा २५० रुपैयाँसम्म पाउँछन् । त्यस्तैमध्येका एक हुन् बाराको सिम्रौनगढ पुरातात्विक तथा धार्मिक स्थलका पुजारी अनिरुद्र मिश्र । उनको मासिक तलब २५० रुपैयाँ हो ।
मिश्रका अनुसार श्रीरामचन्द्र थान रानीवास मन्दिरको संरक्षणका लागि भन्दै २०६२ सालदेखि पुजारीको काम गरेका हुन् । यो मन्दिरमा अहिले पनि काम गर्ने विभिन्न १५ जना कर्मचारीको रुपमा गुठी संस्थानले नियुक्ति दिएर काममा लगाएको छ । काममा लगाएका मध्ये पुजारीले मासिक २५० रुपैयाँ तलब पाउँदै आएका छन् । ‘मैले काम गर्न थालेको २०६२ सालदेखि हो,’ पुजारी मिश्रले भने, ‘सरकारले दिने तलब भनेको २५० रुपैयाँमात्र हो, पूजा खर्च १७ सय ४० रुपैयाँ दिन्छ ।’ तर उनले मन्दिरमा चढाइएको भेटी भने गुठी संस्थानलाई बुझाउनुपर्दैन । मिश्रले मन्दिरमा २०६२ सालदेखि पुजारीको रुपमा काम गरेको बताएको भए पनि गुठी संस्थानले २०७० सालदेखिको नियुक्ति पाएका छन् ।
२०७० साल साउन २७ गते यो मन्दिरको पुजारीमा संस्थानले नियुक्ति गरेको उनलाई दिइएको पत्रमा उल्लेख छ । उनले मन्दिरमा पुजारीको रुपमा सेवा गरेबापत उनलाई गुठी संस्थानले १ बिगाहा जग्गा दिएको छ । यो मन्दिरमा भित्र बस्ने अहिले ११ जना छन्, बाहिर ४ जना छन् ।
आवश्यक परेको बेला बाजा बजाउनका लागि बोलाउने गरिएको पुजारी मिश्र बताउँछन् ।
तलब कम‚ सबैलाई जग्गा
यो मन्दिरमा मात्र काम गर्नेको तलब कसैको ५० रुपैयाँ छ भने धेरै तलब हुनेको २५० छ । पुजारी मिश्रका अनुसार मन्दिरका पुजारीको तलब २५० र १ बिगाहा जग्गा दिइएको छ । मन्दिरका परखटिया नगेन्द्र गिरीको तलब मासिक २ सय र उनलाई १० कठ्ठा जग्गा दिइएको छ ।
मन्दिरका कुठारी सुरजप्रसाद कुसवाहा हुन्‚ उनको तलब दुई सय हो भने उनलाई १५ कठ्ठा जग्गा दिइएको छ । भान्से रघुनाथ दुबेको पनि तलब २ सय रुपैयाँ नै हो‚ उनलाई ८ कठ्ठा जग्गा दिइएको छ । मन्दिरका जलभरिया अछेलाल प्रसादको मासिक तलब ५० रुपैयाँ हो‚ उनलाई १० कठ्ठा जग्गा दिइएको पुजारी मिश्रले बताए ।
मन्दिरका माली रामरतीदेवी र टहलु हरेराम पटेको तलब ५० रुपैयाँ हो । उनीहरूलाई १० कठ्ठा जग्गा दिइएको छ । दौरा काट्ने र झाडुदारको लतब मासिक २ सय रुपैयाँ हो । दौरा काट्ने मंगल महतोलाई १ बिगाहा र झाडुदार रामजुद्या पासवानलाई ७ कठ्ठा जग्गा दिइएको छ भने चौकीदार श्रीनन्द पासवानले तलब नै पाउँदैनन् । उनलाई ५ कठ्ठा जग्गा दिइएको पुजारी मिश्रले बताए ।
‘बाजा बजाउनेहरू सिताराम राम, राजधारी राम, जिवयालाल राम र बुनी रामले पनि तलब बाहेकको १०/१० कठ्ठा जग्गा पाएका छन्,’ पुजारी मिश्रले मकालुखबरसँग भने, ‘बाजा बजाउनेहरू काम पर्दा मात्र आउँछन् ।’
उनीहरूले पहिलादेखि नै यसैगरी काम गर्दै आएको र यो परम्परा अहिलेसम्म पनि कायमै रहेको उनले बताए । मिश्र मन्दिरको पुजारी हुनुभन्दा पहिला यो मन्दिरमा श्री श्री १०८ श्री स्वामी नारायणदास जी बैरागी पुजारीको रुपमा रहेका थिए । उनको निधनसँगै मन्दिरमा मिश्र आएका हुन् ।
२०४७ को माघ–फागुन र २०४८ माघ–फागुनमा इटालीका पुरातत्व विषेशज्ञ टेलीले सिम्रौनगढको उत्खनन् गरेको बताइन्छ । सिम्रौनगढमा चार कालखण्डको मानव बस्तीको भग्नावशेष भेटिएको अन्वेषणकर्ताहरूले बताएका छन् । टोलीले यस क्षेत्रको इतिहास गुप्ताकाल‚ अर्थात् १८०० वर्ष अगाडिसम्म गएको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यही क्षेत्रमध्येको एउटा मन्दिर सयौँ वर्ष पुरानो रानीवास मन्दिर पनि यहाँको सांस्कृतिक धरोहर हो ।