नेपालबाट भारततर्फ गाँजा तस्करी गर्नेे नयाँ शैली
काठमाडाैँ । लागूऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हुँदै भारततर्फ भारतीय सवारी साधनमार्फत नै जाने गरेको सार्वजनिक भएको छ ।
पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङ्करमा ग्यासको बुलेटभित्र लुकाई राखिएको अवस्थामा गाँजा फेला पारेपछि गाँजा तस्करीको नयाँ शैली सार्वजनिक भएको हो ।
पर्सा प्रहरीले बिहीबार दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका-२५ स्थित भन्सार कार्यालय वीरगञ्ज(आई सिपी) गेटनजिक ग्यासको बुलेटको ट्याङ्करमा लुकाइएको अवस्थामा १२० किलो गाँजा फेला परेको छ ।
गाँजासहितको ग्यास बुलेट नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।
ट्याङ्करका चालक र सहचालक फरार छन् । गाँजा नेपालबाट भारततर्फ लैजाने उद्देश्यले ट्रकमा लुकाइएको हुनसक्ने र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।