टी-ट्वेन्टी विश्वकप आजबाट : नियमदेखि पुरस्कारसम्म सम्पूर्ण जानकारी 

काठमाडौँ ।  पाँच वर्ष लामो प्रतिक्षापछि ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेट आज (आइतबार) बाट शुरू हुँदैछ । प्रतियोगिताको आयोजना ओमान र युएईमा हुँदै छ । तर आयोजक भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) रहेको छ।

 भारतमा हुने तय भएकोमा कोरोना महामारीका कारण प्रतियोगिता युएई र ओमानमा सारिएको हो । १६ टिमले प्रतिस्पर्धा गर्ने २० ओभरको प्रतियोगिताको फाइनल खेल १४ नोभेम्बरमा हुनेछ ।

पहिलो खेलमा पपुवा न्युगिनी र ओमान खेल्नेछन् । खेल दिउँसो ३:४५ पछि शुरू हुनेछ । आजै हुने दोस्रो खेलमा बंगलादेश र स्कटल्यान्ड खेल्नेछन् । खेल साँझ ७:४५ मा सुरु हुनेछ ।

दुई चरणमा प्रतियोगिता

प्रतियोगिताको पहिलो चरणमा क्वालिफाइङ खेल हुनेछन् । जसमा ८ टिमलाई दुई समूहमा प्रतिस्पर्धा गराइने छ । जसमा दुवै समूहका शीर्ष दुई स्थानमा रहने ४ टिमले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

क्वालिफाइङ खेल्ने आठ टिममा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुवान्युगिनी छन् । सुपर टुवेल्भ समेत भनिने मुख्य प्रतियोगितामा पनि दुई वटा समूह रहेका छन् ।

समूहहरू 

समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिज,समूह एको शीर्ष स्थानमा रहने टिम र समूह बीको दोस्रो नम्बरमा रहने टिम ।

समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बीको शीर्ष स्थानमा रहने टिम र समूह एको दोस्रो स्थानमा रहने टिम ।

सुपर १२ मा ३० खेल हुनेछन् । दुवै समूहका शीर्ष २ टिम सेमिफाइनल प्रवेश गर्नेछन् । पुरै प्रतियोगिताभरिमा ४५ वटा खेल हुनेछन् ।

अङ्क कति र कसरी

समूह चरणमा जित निकाल्ने टिमले हरेक जितको २ अङ्क प्राप्त गर्नेछन् । खेल बराबरी भएमा सुपर ओभरबाट निर्णय लिइनेछ ।

कुनै कारणले सुपर ओभर हुन नपाए र खेल रद्द भएमा भने दुवै टिमले १-१ अङ्क बाँड्नेछन् । समूह चरणमा यदि दुई टिमको समान अङ्क भएमा नेट रन रेटका आधारमा अघिल्लो चरण पुग्ने टिम तय हुनेछ ।

खेल बराबरी भएमा

यदि खेल बराबरी भएमा सुपर ओभरबाट निर्णय गरिनेछ । सुपर ओभर रिजल्ट नआउन्जेल खेलाइने छ । कुनै कारण बस खेल नभएमा समान १-१ अंक दिइने छ।

यदि सेमिफाइनलका दौरान कुनै नतिजा ननिस्किएमा सुपर-१२ मा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई फाइनलमा स्थान दिइने छ । फाइनलमा पनि कुनै कारणले खेल पुरा हुन नसकेमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिने छ ।

 समूह चरणका लागि कुनै रिजर्ब डे छैन । तर सेमिफाइनल र फाइनलमा भने रिजर्ब डे राखिएको छ।

पहिलो पटक डीआरएस

टी-ट्वेन्टी विश्वकपमा पहिलो पटक डीआरएसको प्रयोग हुने छ। डीआरएस भनेको अम्पायरको निर्णयमा चित्त नबुझे निश्चित समयभित्र गरिने पुनरावलोकन हो । हरेक टिमले डीआरएसका लागि दुई मौका पाउनेछ ।

२०१६ को विश्वकपमा यो प्रविधिको प्रयोग गरिएको थिएन । कुनै टिमले सही कल गरेमा डीआरएस पुन प्रयोग गर्न पाउनेछन् । तर गलत भएमा भने डीआरएसको अवसर सकिनेछ।

दाबेदार मानिएका टिम

यस पटकको टी-ट्वेन्टी विश्वकपको उपाधि कसले जित्ला भन्ने आँकलन गर्न सजिलो त छैन तर टिम र खेलाडीको अहिलेसम्मको प्रदर्शन लगायत आधारमा यस पटक वेस्टइन्डिज, पाकिस्तान, भारत र इंग्ल्यान्डलाई दाबेदार टिमको अग्रणी स्थानमा राखिएको छ ।

साथमा अस्ट्रेलिया, न्युजिल्याण्ड,  दक्षिण अफ्रिका पनि दाबेदारको सूचीमै छन् । २०१६ मा वेस्टइन्डिज, इंग्ल्यान्ड, न्युजिल्यान्ड र भारत सेमिफाइनल पुग्न सफल भएका थिए ।

विश्वकप विजेताले के पाउँछन् ?

विश्वकप जित्ने टिमले १६ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले ८ लाख डलर प्राप्त गर्ने छ । यस्तै सेमिफाइनलमा पराजित हुने दुई टिमले चार चार लाख डलर प्राप्त गर्नेछन् ।

दर्शकलाई अनुमति

दुबईमा हुने खेलमा ७० प्रतिशत दर्शकलाई मैदानमा अनुमति दिइनेछ। अवुधावीमा पनि दर्शक मैदानमा आएर खेल हेर्न पाउने छन् । ओमान को राजधानी मस्कटमा हुने खेलमा भने केवल ३ हजार दर्शकलाई मात्र अनुमति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *