अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ ।

महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिका समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै रुथानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कात्तिक २ गते मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

दसैँका समयमा काठमाडौँ उपत्यकासहित देशैभर मौसम सफा रही चर्को घाम लागे पनि दसैँको टीकाको दोस्रो दिन शनिबारदेखि काठमाडौँलगायत देशभर बदली र हल्का वर्षा भएको छ । काठमाडौँमा गएराति हल्का वर्षा भएको छ ।

महाशाखाको विवरणमा काठमाडौँमा ८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी ओखल ढुङ्गामा ५५ र ताप्लेजुङमा २३ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम ३१ दशमलव ६ र न्यूनतम तापक्रम १८ डिग्रि सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *