बालबालिकामा डिजिटल स्क्रिनको लत : निद्रा नलाग्नेदेखि डिप्रसेनसम्मको खतरा
अभिभावकको समय आवश्यक होइन, अनिवार्य
काठमाडौँ । बाराको निजगढकी स्मिता दाहाललाई हरेक बिहान धपेडी हुन्छ । पसल खोल्न जाने हतारोसँगै खाना बनाउने, छोरालाई खुवाउने र विद्यालय पठाउने काम गर्नुपर्ने चटारो हुन्छ ।
हतार–हतारमा खाना बनायो, तर खुवाउने बेलामा छोराले मुख नै खोल्दैन । छोरालाई खाना खुवाउन स्मिता अनेक उपाय गर्छिन् । कहिले बोकेर छतमा पुर्याउँछिन्, कहिले पानीमा खेल्दै खान्छकी भनेर बाल्टी र जगमा पानी ठिक पार्छिन्, तर छोरा पटक्कै मुख नै खौल्दैनन् ।
स्मिताका छोरा आयानलाई खाना खुवाउने एकै तरिका छ, त्यो भनेको मोबाइलमा छोराले चाहेको कार्टून देखाइदिने । जब स्मिता मोबाइलमा कार्टून लगाइदिन्छिन्, त्यसपछि छोराले खाना खान शुरू गर्छन् । आयान मोबाइलमा यति धेरै व्यस्त हुन्छन् कि, कतिबेला मुख आँ गर्याे, कति खाना खायो कुनै हेक्का नै हुँदैन ।
शुरू शुरूमा खाना खाने बानी लगाउन देखाइदिन थालेको कार्टून हेर्ने बानी अहिले लत नै बनेको छ । छोराको मोबाइल मात्र हेरेर खाना खाने बानी कसरी हटाउने होला भनेर आफू हैरान भएको उनी बताउँछिन् । ‘सधैँको हतारले गर्दा जे गर्दा खान मान्छ त्यही पूरा गराउनुपर्ने आफ्नो बाध्यता रहेको तर अहिले यो लत कसरी हटाउने होला भन्ने तनाब हुने गरेको छ,’ मकालुखबरसँग स्मिताले भनेकी छन् ।
केही गरे पनि खाना खानै नमान्ने छोरोलाइ शुरूमा खाना खुवाउन देखाएको कार्टून यस्तो लत नै होला भन्ने कहिल्यै नसोचेको उनी बताउँछिन् । अहिले त खाना खाने समयबाहेक पनि आयान धेरै समय मोबाइलमा नै बिताउन मन पराउँछन् । स्मिता दुःख पोख्छिन्, ‘खेल्ने साथी पनि छैन । अरु कतै पनि एकछिन अल्मलिन सक्दैन । मोबाइल भयो भने त्यसमै अलमलिन्छ ।’ धेरै मोबाइल हेरेर आयानको आँखाको वरिपरी कालो घेरा नै बसेको पनि उनले बताइन् ।
आयानजस्ता धेरै बालबालिका अहिले मोबाइल, ल्यापटप, टेलिभिजनलगायत डिजिटल स्क्रिनको लतमा फस्दै गएका छन् ।
धुम्बाराहीका जीवन केसीले एक वर्षअघि छोरी परिधिलाई मोबाइल, ट्याब, ल्यापटप हेर्ने लतबाट बचाउन जागिर नै छोडेर घर बसेको बताउँछन् । श्रीमती र आफू दुवैजना जागिरे भएकाले उनले ३ वर्षीया छोरीको हेरचाह गर्न एकजना सहयोगी राखेका थिए ।
तर छोरी डिजिटल स्क्रिनको लतमा फसेको पाएपछि आफूले जागिरै छोडेर छोरीको हेरचाहमा लागेको उनले बताए । जीवन भन्छन्— ‘एकजना सहयोगी बहिनी हुनुहुन्थ्यो । छोरीलाई भुलाउन सजिलो हुने भएकाले सधैँ कम्प्युटरमा कार्टून लगाइदिने गर्नुहुँदो रहेछ । पछि छोरी कार्टून मात्र हेर्ने भइ । राति बजेसम्म पनि कार्टून हेर्ने भन्दै झगडा गर्ने भएपछि मैले जागिर छोडेर घर बस्ने निर्णय गरेँ, कोरोनाका कारण श्रीमती पनि घरमै बस्न पाइन् । अहिले बल्ल यो लत कम हुँदै गएको छ ।’
डिजिटल स्क्रिनको लत र बालबालिकामा असर
डिजिटल स्क्रिनमा लामो समय बिताउनु कसैका लागि पनि फाइदाजनक हुँदैन । अझ बालबालिकालाई मोबाइल फोन, कम्प्युटर, ल्यापटपजस्ता डिजिटल साधनको स्क्रिनको अगाडि राख्नु नै पनि अति घातक हुने बताउँछन् मनोचिकित्सक अरुणराज कुँवर ।
कुँवरकाअनुसार ५ वर्ष मुनिका बालबालिकालाई सकेसम्म स्क्रिन अगाडि नै राख्नुहुँदैन । यदि राखेमा बालबालिका अरु कुनै पनि कुरामा ध्यान दिनै नसक्ने, कुनै कामप्रति केन्द्रित नहुने हुँदै जाने उनले बताए ।
त्यति मात्र होइन, विद्युतीय उपकरण (इलेक्ट्रोनिक्स डिभाइस) को स्क्रिनमा धेरै समय बिताउँदा मान्छेसँग घुलमिल नहुने, सामाजिक अन्तरक्रिया नगर्ने, सामाजिक सिकाइबाट वञ्चित हुने समस्या देखिने कुँवर बताउँछन् ।
उनकाअनुसार यस्तो लतले बालबालिकाको बौद्धिक विकासमा पनि बाधा पुर्याउँछ । बानी परिसकेको बच्चालाई यदि मोबाइल फोनबाट टाढा राख्यो भने रिसाउने, झगडा गर्ने, विद्यालय जान नमान्ने जस्ता समस्या देखिने कुँवर बताउँछन् । ‘यस्तै, समूहमा हुँदा नबोल्ने र सामाजिक एन्जाईटी हुनेसमेत खतरा हुन्छ,’ कुँवरले भने, ‘डिजिटल स्क्रिनमा धेरै समय बिताउने बालबालिकामा अरु बालबालिकाको तुलनामा पढाईमा ध्यान नदिने, र सम्झना शक्ति कम हुने जस्ता समस्या बढी भएको पाइएको छ ।’
एकै ठाउँमा बसेर मोबाइल, ट्याब, ल्यापटप वा टेलिभिजन हेर्ने बच्चा उफ्रिने, दौडने खेल्नेजस्ता काममा कम मात्र संलग्न हुन्छन् । जसले गर्दा बालबालिकाको शारीरिक विकासमा समेत नकारात्मक असर पुर्याउने हुने कुँवरको भनाइ छ ।
यस्तो लतले ल्याउने अवस्थालाई मेडिकल भाषामा ‘इलेक्ट्रोनिक्स डिपेन्डेसी’ भनिन्छ । जुन विद्युतीय सामग्रीको धेरै प्रयोग गर्दा हुने समस्या हो । यसले बच्चालाई उदास बनाउन ठूलो भूमिका खेल्ने विभिन्न अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकामा शारीरिक गतिविधिमा निष्क्रिय रहेकाले विश्वभर वर्षेनी ५० लाख मानिसको मृत्यु हुने र ८० प्रतिशत किशोरकिशोरी शारीरिक गतिविधिमा सक्रिय नभएको उल्लेख गरिएको छ ।
बालबालिकामा डिजिटल स्क्रिनको लत कसरी छुटाउने ?
विद्युतीय उपकरणको प्रयोग र डिजिटल स्क्रिनको लतबाट बच्चालाई छुटाउन अभिभावकको नै सबैभन्दा ठूलो भूमिका रहने डा. कुँवर बताउँछन् । उनी भन्छन्– ‘सानो बच्चालाई आफूले के गर्ने, के नगर्ने भन्नेबारे केही चेत नहुने भएकाले बच्चालाई हुर्काउँदा शुरूदेखि नै राम्रो बानी बसाल्नुपर्छ । असल अभिभावकत्वको बारेमा अभिभावकले नै बुझ्नुपर्छ । यदि थाहा छैन भने त्यससम्बन्धी तालिम लिनुपर्छ । बच्चाले भनेको मान्दैन भनेर टार्नु हुँदैन । दैनिक एउटा राम्रो सिकाइको लागि अभिभावकले सहयोग गर्नुपर्छ पछि त्यही राम्रो काम गर्ने बानीको रुपमा विकास भएर जान्छ । यदि लतमा फसिसकेको छ भने बालबालिकालाई पूरै समय दिएर डिजिटल स्क्रिनबाट विस्तारै टाढा लैजानुपर्छ । त्यसको लागि मोबाइल लुकाउने हो कि, कम्प्युटर नचल्ने बनाउने हो कि, इन्टरनेटको सेवा नै काट्ने हो कि त्यसको निर्णय अभिभावकले नै गर्नुपर्छ । यदि लतले भयानक रूप लिएको छ बच्चाहरू खाने, सुत्ने, खेल्ने, पढ्ने केही नगरी डिजिटल स्क्रिन अघि मात्र बस्ने अवस्था सिर्जना भएमा अभिभावक र बच्चा दुवै पक्षलाई परामर्शको आवश्यकता पर्छ । यस्तो अवस्थामा मनो चिकित्सक र परामर्शकर्ताको सल्लाह लिनुपर्छ ।’
अभिभावक जीवन केसी पनि यो कुरामा सहमत छन् । आफूले जागिरै छोडेर छोरी हेर्न थालेपछि बल्ल त्यो लत कम गर्न सकेको उनले बताए । ‘सबैभन्दा ठूलो कुरा त अभिभावकले समय दिनुनै रहेछ’, केसीले भने, ‘आफैँलाई परेपछि मैले अभिभावकले नै समय दिनुपर्ने रहेछ भन्ने थाहा पाएँ ।’
पाँच वर्षयता साना बालबालिका रातभरी मोबाइलमा गेम खेलेर बस्नेलगायत समस्याका कारण परामर्शको लागि अस्पतालमा नै आउनुपर्ने समस्या बढेको डा. कुँवरले जानकारी दिए ।
छिल्लो समय निद्रा अनियमित भएर पनि धेरै बालबालिकालाई परामर्शको लागि अभिभावकले अस्पताल वा परामर्शदाताकोमा ल्याउने गरेको कुँवरले अनुभव गरेका छन् ।
यस्तो छ कानून
सन् २०१९ अप्रिल २४ मा विश्व स्वास्थ्य संगठनले ५ वर्ष मुनिका बालबालिकाको सुत्ने, खाने, खेल्ने व्यवहार र समय निर्दिष्ट गर्दै निर्देशिका जारी गरेको छ । निर्देशिकामा एक वर्षमुनिका बच्चालाई मोबाइल फोन, टेलिभिजन, ट्याब, कम्प्युटर जस्ता ‘इलेक्ट्रोनिक्स डिभाइस’ को अगायडि राख्नै नहुने उल्लेख गरिएको छ ।
अमेरिकाका बालरोग विशेषज्ञहरुले ‘स्क्रिन टाइम गाइडलाइन्स २०१६’ जारी गरेका छन् । यो निर्देशिका अनुसार १८ महिना भन्दा कम उमेरका बालबालिकाहरुलाई मोबाइल फोन, टेलिभिजनको स्क्रिनबाट टाढा राख्नुपर्ने र २ देखि ५ वर्ष सम्मका बालबालिकाको ‘स्क्रिन टाइम’ १ घण्टामा सीमित गर्नुपर्ने भनिएको छ ।