बझाङमा पहिरोमा परि २३ जना बेपत्ता, सात घर पुरिए

धनगढी । बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा पहिरोमा परेर एकै घर परिवारका १८ जनासहित २३ जना बेपत्ता भएका छन् ।
मंगलबार बिहानै गाउँ माथिबाट आएको पहिरोले उनीहरु बेपत्ता भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।  बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीकाै घरका ५ जना रहेको स्थानीयबासिन्दाले बताएका छन।
गगने भने रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले मात्र सकुशल रहेको र अरु बेपत्ता भएको स्थानीयबासिन्दाको भनाइ छ । पहिरोले सात घर पुरिएका छन् । गाउँका अन्य विस्थापित भएका छन् । विस्थापितहरू त्रिभुवन माध्यामिक विद्यालय महेन्द्रधारमा बसिरहेका छन् ।
पहिरोले तल्लो डिख्ला र माथिल्लो डिख्लामा असर पुगेको छ । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि. पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रूपक खड्काले बताए । घटनास्थल टाढा भएका कारण त्यहाँसम्म पुग्न नसकिएको उनले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *