विकासको व्यथा: चिन्तामा हिमालबासी
पोखरा । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका धेरैजसो ठाउँ सँधैजसो हिउँले ढाकिन्थे, दशक अघिसम्म । यो ‘रेन स्याडो जोन’ (पानी नपर्ने क्षेत्र) मा आजभोलि हिउँभन्दा पानी धेरै पर्छ । मुस्ताङको कागवेनी नेपालकै सबैभन्दा कम पानी पर्ने क्षेत्र हो । यो वर्ष कागबेनी नजिकको जोमसोम स्टेसनमा ५६३.८ मिलिमिटर पानी पर्यो । अघिल्लो वर्ष यही स्टेसनमा ४०० मिलिमिटर पानी परेको थियो । गण्डकीको सबैभन्दा उचाइमा रहेको स्टेसन छोसेरमा पनि यो वर्ष अधिक वर्षा भयो । अघिल्लो वर्ष ५६८.९ मिलिमिटर पानी परेकोमा यो वर्ष ६१६.९ मिलिमिटर वर्षा भएको हावापानी कार्यालय पोखराले जनाएको छ ।
मर्स्याङ्दी नदीमा आएको बाढीका कारण गाउँलेले अहिलेसम्म नभोगेको दुख ब्यहोरे । मर्स्याङ्दी किनारका सुन्दर बस्तीहरू निमेषभरमै खण्डहर बने । मर्स्याङ्दीको उत्तरी किनारा हुम्डे स्टेसनको बर्सात एकैवर्ष बिचमा डेढ सय मिलिमिटर भन्दा बढी भयो ।
सन् २०२० मा ५२८.९ मिलिमिटर पानी परेको हुम्डेमा यो वर्ष असोजसम्म ६६८ मिलिमिटर पानी परिसकेको छ । हिमाल आसपास बर्सात बढी भएपनि हिमाली जिल्लाकै तल्ला क्षेत्रमा भने पोहोरभन्दा अहिले कम पानी परेको छ । मुस्ताङको लेतेमा अघिल्लो वर्ष १८५४ मिलिमिटर पानी परेकोमा यो वर्ष जम्मा १६०६ मिलिमिटर मात्रै परेको छ । मनाङको गोआमा पनि अघिल्लो वर्षभन्दा झण्डै आधा कम पानी परेको छ । गोआमा अघिल्लो साल १३३० मिलिमिटर र यो वर्ष ८८५ मिलिमिटर पानी परेको छ ।
तल्ला क्षेत्रमाभन्दा हिमाल नजिक पानी धेरै पर्नुमा जलवायु परिवर्तनकै असर मुख्य रहेको बताउँछन् हावापानी कार्यालय पोखराका प्रमुख सरोज अधिकारी । ‘जलवायुकै असर हो । माथितिर गयो भने जथाभाबी बाटो खनेका छन् । गाडी अधिक चल्छन्,’ उनले भने, ‘हिमाली क्षेत्रको दैनिकी फेरियो । मान्छेहरू ग्यास बाल्न थाले । धुलो धुवाँ बढेको छ । त्यसको असर सीधै प्रकृतिमा त पर्छ नि ।’ अनियन्त्रित विकासे कामका कारण तापक्रम बढेको उनको दाबी छ ।
एक समय विश्वकै सबैभन्दा उत्कृष्ट पदमार्गको रूपमा चिनिएको अन्नपूर्ण पदमार्ग अहिले लोपोन्मुख अवस्थामा छ । २१ दिनभन्दा लामो पदयात्रा, पर्यटकले चाहे केही दिनमै छिचोल्न सक्ने गरी घटेको छ । जताततै सडक बनेका छन् । अहिले संरक्षण क्षेत्र भित्रै ठूलाठूला भौतिक संरचनासहितको केवलकार निर्माण प्रक्रिया अघि बढाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र तत्कालै दुई ठूला केवलकार आयोजना निर्माण हुँदैछन् । वन तथा वातावरण मन्त्रालयले कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिर र कास्कीकै सिक्लेसदेखि कोरिसम्मको केवलकार निर्माण प्रक्रिया अघि बढाएको हो । सर्वोच्च अदालतले दुई महिनाअघि संरक्षण क्षेत्रमा केवलकार निर्माण नगर्न आदेश दिएको थियो । तर आदेश विपरीत मन्त्रालयले ईआईए अध्ययन प्रक्रिया अघि बढाएको हो । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिर जोड्ने विश्वकै लामो दाबी गरिएको करिब ८४ किलोमिटर लामो केवलकार निर्माण गर्न लागिएको हो ।
सिक्लेसदेखि कोरीसम्म करिब ७ किलोमिटर लामो अर्को आयोजना बनाउने तयारी छ । दुवै आयोजनाले ठाउँ ठाउँमा रिसोर्ट निर्माणको प्रस्ताव पनि गरेका छन् । ३९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ६ वटा स्टेसन प्रस्ताव गरिएको छ भने कोरी जोड्ने केवलकारको बिचमा एउटा स्टेसन हुनेछ ।
संरक्षणकर्मीहरू भने संवेदनशील क्षेत्रमा यस्ता आयोजना निर्माण गर्दा सचेत रहनुपर्ने बताउँछन् । ‘उच्च पहाडी र हिमाली क्षेत्रमा मेसिनरी काम गर्दा धेरै सचेत हुनुपर्छ । वातावरण अनुकूल काम भएन भने त्यसको क्षति डरलाग्दो हुन्छ,’ एक्यापका कार्यक्रम निर्देशक राजकुमार गुरुङ भन्छन्, ‘जे काम गरेपनि वातावरणलाई सुहाउँदो गर्नुपर्छ । हामीलाई विकास चाहिएको छ भन्दैमा जथाभाबी गरे प्रकृतिले सहन सक्दैन ।’ प्रदेश सरकारले पनि गण्डकी भित्र ११ ठाउँमा केवलकार चलाउने योजना ल्याएको छ । गोरखा, नवलपुर, लमजुङ, तनहुँ र बागलुङमा दुई-दुई तथा कास्कीमा ३ र पर्वतमा एउटा केवलकार आयोजना प्रस्ताव गरिएको छ । अहिले गोरखामा मनकामना केलवकार चलिरहेको छ भने कास्कीमा पोखराको सराङकोट जोड्ने केवलकार निर्माण अन्तिम चरणमा पुगेको छ । मनाङ र मुस्ताङका उत्तरी क्षेत्रसम्म मोटर बाटो पुगिसकेको छ । मुस्ताङको कोरला नाका र मनाङको खाङसारसम्म मोटर चढेर पुग्न सकिन्छ ।
गोरखामा तल्लो क्षेत्रबाट बाटो खन्न नसक्ने भएपछि रुईला भन्ज्याङ (चीन) तिरबाट खन्न थालिएको छ । कास्कीकै घान्द्रुक कटेर मोटर बाटो अन्नपूर्ण बेसक्याम्पतिर मोडिएको छ । सन् १९५० मा माउरिस हार्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि फिरन्तेहरू पदयात्राका लागि आएका हुन् । नेपालको पर्यटन खासगरी पदमार्गसँग जोडिएको छ ।
पदयात्रा पर्यटनले सडक रुचाउँदैन । तर सङ्घीय संरचनापछि धमाधम बाटो खनिएका छन् । अव्यवस्थित रूपमा गरिने विकासका कारण धेरै पुराना पर्यटकीय क्षेत्रहरू ध्वस्त भएका छन् । ‘अघिल्लो वर्ष बाटो खुल्यो । गाडी गाउँ कटेर किम्लुङ खोलासम्म पुगिसक्यो । पर्यटकहरू पनि घान्द्रुक कटेर जान थाले,’ स्थानीय जगन गुरुङ भन्छन्, ‘गाडी आएपछि चामल त सस्तोमा आयो तर पर्यटक आउँदैनन् कि भन्ने चिन्ता छ ।’
घान्द्रुकजस्ता परम्परा बोकेका गाउँहरूमा आजभोलि न पुरानो संस्कृति पर्याप्त छ, न हिमालमा हिउँ देखिन्छ । ‘सुरुमा विकास देखेको एयरपोर्ट हो । त्यै पनि कहिलेकाहीँ हिउँ धेरै परेर जहाज आउजाउ नै रोकिन्थ्यो । कति पटक त गाउँले उल्टेर हिउँ फालेको अझै सम्झिन्छु,’ मार्फाका कालबहादुर लालचन सम्झन्छन्, ‘अचेल हिउँ निलगिरीको डाँडाबाट तल झर्दैन । हेर्दाहेर्दै हिमाल कालो भयो । पानी धेरै परेर घर भत्किन थालिसके । ’ उनलाई पनि जलवायु परिवर्तनकै असरले हिमाली क्षेत्रमा हिउँ नपरेको जस्तो लाग्छ । मौसममा आएको परिवर्तनले हिमाली जीवनशैली पनि फेरिन थालेको छ ।
माटोको सहर भनेर चिनिने लोमान्थाङमा ढलानको घर र जस्तापाताको छाना भरिएका छन् । अहिले पनि केही घरहरू देखिन्छन्, माटोकै भित्तो र माटोकै छाना । छानामाथि दाउराका चाङ । हिमाली क्षेत्रमा घर चुहिनबाट जोगाउन छानामा दाउराको थुप्रो लगाउने चलन छ । आजभोलि त्यो परम्परा हराउन थालेको छ । जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने समस्या बर्सेनि बढेको छ । मुस्ताङी सांसद इन्द्रधारा विष्ट जलवायु परिवर्तनलाई स्वीकार गरेपनि सबै परिवर्तन जलवायुसँग नजोडिने बताउँछन् । ‘यताका मान्छेहरू पहिले खेती किसानी गर्थे । अचेल विदेश गएका छन् । अलिअलि पैसा भएपछि ढलान घर बनाउनुपर्छ भन्ने सोचाई छ,’ उनले भने, ‘माटोले बनाएको घर ७ सय वर्षसम्म टिक्छ । कंक्रिटको आयु १ सय वर्ष त हो नि । गाडी आएपछि मान्छेको मानसिकता फेरियो । जलवायु परिवर्तनभन्दा धेरै मान्छेको सोच परिवर्तन भयो । तर जलवायुको असर पनि देखिएकै छ ।’
लोमान्थाङ दरबार र घरहरू समेत पानीले चुहिने भएपछि त्रिपालले छोपेर राखिएको छ । हिउँदको समयमा हिउँ कम पर्ने र बेमौसमी हिमपातसँगै धेरै वर्षा भएर जनजीविकामा समस्या थपेको छ । ‘उवा, फापर, गहुँ र आलु लगाउँछौँ खेतबारीमा । अचेल उत्पादन निकै कम हुन्छ,’ स्थानीय लक्ष्मी गुरुङले भनिन्, ‘हिउँ पर्नुपर्ने बेला पानी पर्छ । कतिबेला खोलामा बाढी आउने हो कुनै पत्तो छैन ।’ विशिष्ट भौगोलिक अवस्थिति र रैथाने परिवेशको पहिचान अनि पर्यटनले धानेको हिमाली जिल्लाका नागरिक पछिल्ला बर्सहरूमा फेरिँदो प्राकृतिक परिस्थितिले चिन्तित हुन थालेका छन् ।