पानीको पीडा: मुहान घट्दै, दुःख बढ्दै
पानी बोक्दै सकिन्छ महिलाको आधा जीवन
नयाँ दिनको सुरुवात नयाँ सोच र योजनाका साथ हुनुपर्ने हो । तर, डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखाकी विष्ना खड्काको बिहान काखे छोरी छोडेर पानी लिन जानुपर्ने चिन्ताबाट शुरू हुन्छ ।
विष्नाका श्रीमान् रोजगारीका लागि भारतमा छन् । घरमा वृद्धा सासू र दुई छोरी छन् । कान्छी छोरी वर्षदिनकी भइन् । एक घण्टाको पैदल दूरीमा रहेको मुहानबाट खानेपानी ल्याउनुपर्ने जिम्मा विष्नाकै काँधमा छ ।
अरुबेला त बिसेक भनौँ फागुन चैतमा त सास्ती दुगुना हुन्छ । त्यसबेला पानीको मुहान र खोला सुकेर सानो हुने भएकाले गाउँभरिका मानिसले पालो पर्खेर पानी ल्याउनुपर्छ । दुधे छोरीलाई बुढी सासूका भरमा छोडेर गएकी विष्ना पानीका लागि कहिलेकाहीँ त अर्को दिन बिहान मात्रै पालो आउने गरेको अनुभव सुनाउँछिन् ।
डोटीकै दिपायल सिलगढी नगरपालिकाकी १ कै अनिता कठायतको दुःख पनि कम छैन । खानेपानीको लागि बिहान ५ बजे घरबाट निस्कने अनिता डेढ घण्टाको पैदल यात्रापछि द्वारीगाड पुग्छिन् । खानेपानी मात्रै होइन, कपडा धुन र नुहाउन पनि त्यहीँ गाडमा जानुपर्ने बाध्यता छ । जति नै बिरामी भएपनि अनितालाई ३० लिटरको गाग्रीमा सकी नसकी पानी ल्याउनैपर्छ ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका २ को तिखा गाउँकी सेलिना पार्की पनि ६ महिनाकी दुधे छोरीलाई घरमै छोडेर पानी लिन जान्छिन् । घर नजिकै पानी नभएपछि उहाँ छोरीलाई कोठाभित्र एक्लै छोडेर सेलिना पानी भर्न मुहानमा जाने गरेको उनले सुनाइन् । श्रीमान् पनि रोजगारीका लागि भारत गएकाले घरमा सेलिना र काखे छोरी मात्र छन् ।
विष्ना, अनिता र सेलिनालाई जस्तै बिहानै खानेपानी ल्याउनु, दिउँसो घरको कामसँगै केटाकेटी सम्हाल्नु, पानी सकिइहाले फेरि बेलुका पनि पानी लिन जानु यहाँका प्रायः महिलाको दैनिकी हो । जुन निकै कष्टकर छ तर, स्वीकार्नुको विकल्प छैन । मुहान सुकेकाले खानेपानी लिन घण्टौँ टाढा जानुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
दिपायल सिलगढी नगरपालिका २ मा डेढ घण्टा टाढा रहेको टुडी खोलाबाट खानेपानी ल्याउने गरिएको छ । अझ नुहाउन त त्योभन्दा टाढाको गोधरी खोलासम्म पनि पुग्नुपर्ने उनीहरूले बताए । यस वर्ष अलि बढी आकाशे पानी परेकाले अहिले खोलामा पानी छ । तर सधैँ यस्तो हुँदैन । पानी नपरेको वर्ष धेरै नै दुःख हुन्छ । सामान्यतया: कात्तिक मंसिरदेखि नै खोलाको पानी कम हुँदै जाने गाउँलेले बताए ।
चैत वैशाखमा त खानेपानीको हाहाकार नै हुन्छ । स्थानीय गौरीदेवी भुलले मुलको पानी लिन जाँदा पालो नपाएर कहिलेकाहीँ त मुहानमै रात बिताउनुपरेको दुखेसो सुनाइन् ।
डोटीका ९ वटै पालिका (२ नगरपालिका र ७ गाउँपालिका) मै खानेपानीको अभाव छ । त्यही भएर चुनावका बेला सबैजसो उम्मेदवारले खानेपानीलाई आफ्नो एजेण्डामा पार्न बिर्सँदैनन् । तर, जितिसकेपछि जनप्रतिनिधिले यसबारे केही काम गर्नुपर्नेबारे भने सम्झँदैनन् । ‘सङ्घीयतापछि पालिकाका कार्यालय घर नजिकै आए, जथाभाबी सडक बनाइयो । पुलपुलेसा पनि केही बन्दैछन् तर सबैभन्दा ठूलो पानीको अभाव भने ज्युँका त्युँ छ’ दिपायल सिलगढी नगरपालिका २ का भरतबहादुर कठायत र महेशसिंह कठायत भन्छन्- ‘हिजो आमाहरूका दिन पानी बोकेरै बिते, आज तिनै आमाका छोरीहरूको पनि दिन पिउने पानी बोक्नमै बितिरहेको छ ।’
स्वास्थ्य समस्या बढ्दै
विश्व स्वास्थ्य संगठनकाअनुसार एकजना स्वस्थ व्यक्तिलाई सामान्यतया: (पिउन र सरसफाइका लागि) दैनिक साढे ७ लिटर देखि १५ लिटरसम्म स्वच्छ पानी चाहिन्छ । तर, डोटीमा यो लागू हुँदैन । स्वास्थ्य संस्थामा पानी अभाव र फोहोर पानीका कारण बिरामी भएका बिरामीको सङ्ख्या बढी हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
झाडापखाला, मिर्गौलामा समस्या, पत्थरी, कब्जियत, टाउको दुख्ने, धेरै थकान र शरीर गल्ने, खानामा अरुचि, छाला सुख्खा, रुखो हुने, आँखा, छाती र घाँटी पोल्ने, पिसाब पहेँलो हुने र पोल्नेलगायत समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बढिरहेको दिपायल सिलगढी नगरपालिका १ को तिखा स्वास्थ्य चौकीका अनमी मनिषा खड्काले जानकारी दिइन् ।
धेरैजसो ठाउँमा खानेपानीको जोहो गर्ने मुख्य जिम्मा महिलाको हुन्छ । खानेपानी बोक्ने जिम्मेवारीकै कारण धेरैले विद्यालयसमेत जान पाउँदैनन् । विद्यालय जान नपाएपछि सानै उमेरमा उनीहरूको बिहे र बच्चा हुने गरेको छ ।
पानीकै कमीले गर्दा महिनावारी भएको बेला महिलाले पर्याप्त सरसफाइ गर्न पाउँदैनन् । फलस्वरुपः उनीहरूको प्रजनन स्वास्थ्यमा जटिल समस्या देखिन्छन् । लैङ्गिक असमानता र विभेदले जरो गाडेको सुदूरपश्चिमको पहाडी क्षेत्रमा महिलाले उपचारमा समेत प्राथमिकता नपाउँदा, कतिपयले अकालमै ज्यान गुमाउँछन् भने कतिपयले शारीरिक तथा मानसिक समस्याहरू भोगिरहेका छन् ।
अर्कातिर पानीकै समस्याका कारण गाउँलेबीच मनमुटाब र झैझगडा पनि हुने गरेको छ । सुक्दै गरेका केही मुहान र खोलाको पानी सबै मिलेर प्रयोग गर्नुपरेको बेला मुहान नजिक घर भएकाले अरूलाई सहजै पानी दिन नमान्ने गर्दा पनि विवाद र झगडा हुने गरेको अनुभव पनि स्थानीय बासिन्दासँग छ ।
आकाशे पानी पर्ने क्रम फेरिँदा झनै समस्या
डोटीमा पानी पहिलेदेखि नै कम थियो । तर, २ दशक यता भएका मूलहरू पनि सुक्न थालेपछि पानीको झनै हाहाकार भएको स्थानीय बासिन्दा बताउँछन् । ‘पहिले घर नजिकै जङ्गलमा ठाउँ ठाउँमा मूल र खोलाहरू थिए । तर अहिले धेरै खोलाहरू सुकिसकेका छन्, मूलमा पानी आउन छोडेको छ, एक दशकयता धेरैजसो पानीका मूल सुकेर गए,’ तिखाका ७० वर्षीया तारा खड्काको भनाइ छ ।
अहिले पानी पर्ने क्रम पनि पहिलेभन्दा फरक हुँदै गएको उनको अनुभव छ । विगतमा नियमितजसो पानी परिरहने भएपनि अहिले पानी परे एकैपटक भेलबाडी आउने गरी ठूलो पर्ने वा पर्दै नपर्ने गरेको र यसले गर्दा जमिनले पानी सोस्न नपाउँदा पनि मुहान सुकेको उनले बताइन् ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटीका भूसंरक्षण अधिकृत गणेश त्रिपाठीले दशकयता डोटीमा पानी पर्दा एक्कासि ठूलो पानी पर्ने र नपर्दा खडेरी लाग्ने क्रम बढेको बताए । यसको असर जलाधारहरूमा परिरहेको उनको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्कले पनि सुदूरपश्चिममा विगत १० वर्षमा पानी पर्ने क्रममा परिवर्तन आएको देखाएको छ । कुनै वर्ष औसतभन्दा कम पानी पर्छ भने कुनै वर्ष अत्यधिक पानी पर्नाले पहाडमा पहिरो र तराइमा खडेरीका साथै बाढी तथा डुबानको समस्या हुने गरेको देखिएको छ ।
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरकाअनुसार एक दशकको तथ्याङ्क हेर्दा सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने वर्षाको प्रवृत्तिमा फरक आएको छ । विगतमा धेरै दिन पानी पर्थ्यो । पानी पनि सिमसिम पथ्र्याने र केही दिन लगातार परिरहन्थ्यो ।
हिजोआज छोटो समयमा एक्कासि धेरै पानी पर्ने, बीचमा धेरै समय मौसम सुक्खा भइदिनाले खडेरी पर्ने गरेको छ । जसका कारण जमिन र मुहानहरू ‘रिचार्ज’ हुन पाएका छैनन् । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका मौसमविद् रामबावु मिश्रले वनजंगल विनाशका कारण पनि वर्षामा अनियमितता भइरहेको बताए । कतिपय ठाउँमा योजना विनाका विकास निर्माणका कामले पनि मुहान सुकिरहेको उनको भनाइ छ ।
दुई दशकदेखि जलवायु परिवर्तनका बारेमा अध्ययन अनुसन्धान गर्दै आएका पल्लवराज नेपालले ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना तेस्रो चरण डडेल्धुराले गरेको अनुसन्धानबाट हरेक वर्ष पानीका ५० प्रतिशत मुहानहरू ७ प्रतिशतका दरले सुक्दै गइरहेको देखाएको जानकारी दिए । सरकारले अब कसरी पानीका मुहानहरू संरक्षण गर्न सकिन्छ भनेर सोच्ने र काम गर्ने बेला आइसकेको उनको भनाइ छ ।
खानेपानी तथा जलाधार संरक्षणमा काम गर्दै आइरहेको पुनर्जागरण समाज नेपालका महासचिव मदन थापाले यो चेतावनीपूर्ण समय (आलर्मिङ स्टेज) भएको बताए । यतिबेला पानीका मुहान कसरी संरक्षण गर्ने भन्नेतर्फ ध्यान दिन नसके भोलि निकै डरलाग्दो अवस्था आउने भएकाले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने थापा बताउँछन् ।
यस्तै वातावरण विज्ञ सनत अधिकारीले विश्वमै जलवायु परिवर्तनको असर कम गर्न कार्बन उत्सर्जन हुने कुराको उत्पादन र प्रयोगमा कमी ल्याउनुपर्ने बताउँछन् । यसको असर कम गर्न नेपाल मात्रैको भूमिकाले नहुने र जलवायु परिवर्तनको असर सबै देशलाई पर्ने भएकोले यसलाई कम गर्न लागि पनि सबैले सोच्नुपर्ने उनको भनाइ छ ।
खानेपानीको आयोजनाहरू सञ्चालनमा तर कहिले सम्पन्न होलान् ?
अहिले डोटीको दिपायल सिलगढी नगरपालिकाका चारवटा वडामा एसियाली विकास बैंक (एडीबी)को सहयोगमा शहरी खानेपानी योजना अन्तरगतका योजनाहरू सञ्चालनमा छन् । तर, आयोजनाले अहिले प्राविधिक र सामाजिक सर्वेको काम मात्रै सम्पन्न गरेका छन् । योजना समयमै सम्पन्न भएको अवस्थामा पनि स्थानीय बासिन्दाले पानी पाउन अझै ३÷४ वर्ष कुर्नुपर्ने शहरी खानेपानी योजना सुदूरपश्चिम प्रदेशका प्रमुख हरि ढकालले जानकारी दिए ।
यस्तै, दिपायल सिलगढी नगरपालिकामै सुदूरपश्चिम प्रदेश सरकारबाट पनि सातवटा योजना सञ्चालनमा छन् । बजगाउँ खानेपानी आयोजना, धाँमीगाउँ खानेपानी आयोजना, मल्लो कलेना खानेपानी आयोजना, सलडा खानेपानी आयोजना, पनेतोला खानेपानी आयोजना, डुणे खोला खानेपानी टंकी निर्माण, खेतकाट्य खानेपानी आयोजना, पुन्ना गाउँ खानेपानी आयोजना, वाडी सिलगडी खानेपानी आयोजना यसबर्ष बजेटको प्राथमिकतामा परेका छन् । तर, स्थानीय बासिन्दालाई ती योजना बारेमा खासै जानकारी छैन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी छविराज जोशीले भने प्रदेश सरकारले पानी अभाव भइरहेका ठाउँहरूमा खानेपानीको आयोजनाहरू सञ्चालन गरिरहेको दाबी गरे ।
तातिँदो पृथ्वी, जलवायु परिवर्तन, पग्लँदा हिमाल लगायत पारिस्थितिक प्रणालीलाई नै असन्तुलित बनाउने परिणामहरू बढिरहेका बेला अव्यवस्थित विकास निर्माणले पनि प्राकृतिक श्रोतलाई थला पार्दै लगेको छ । विशेष गरी पहाडी जिल्लाको ‘डोजरे विकास’का कारण विपदहरु बर्सेनि बढ्दा छन् । इन्टर गभरर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज आईपीसीसीको सन् २०१९ को तथ्याङ्कले दक्षिण एसियासँगै नेपालको पश्चिमी भेगमा पानीको अभाव हुनसक्ने देखाएको छ । समयमा नै पानीका श्रोतहरू जोगाउन नलाग्ने हो भने यसले भयावह अवस्था निम्त्याउने निश्चित छ । अरूले भोग्नुपरेको समस्या देखेर चेत्ने कि आफैँले भोग्नुपरेपछि पुर्पुरोमा हात राखेर पछुताउने अब छनोट हाम्रै हातमा छ ।
(वृटिश काउन्सिलको सहयोगमा)